सरकारले वृद्धभत्तामा धाँधली गरेको भन्दै ओलीको आपत्ति, भन्छन्– गठबन्धनले भोटको राजनीति गर्‍यो

156
File photo

पोखरा, २८ भदौ । गठबन्धनको सरकारले सामाजिक सुरक्षा भत्ता (वृद्धभत्ता) वितरण गर्ने उमेरहद ६८ वर्ष गराएको भन्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आपत्ती जनाएका छन् ।

देउँवा नेतृत्वको सरकारले चालु आवमा ल्याएको बजेटमा वृद्धभत्ता ७० वर्ष भएपछि दिदैँ आएकोमा उमेरहद घटाई ६८ वर्षभन्दा माथी दिने गरी बजेट ल्याएको थियो । मंगलबार अध्यक्ष ओलीले पोखरामा भएको कार्यक्रममा वर्तमान गठबन्धनको सरकारले वृद्धभत्तामा धाँधली गरेको आरोप लगाएका छन्।

नेपालीको औसत आयु ७३ वर्ष रहेकाले ७० वर्षमा भत्ता दिने गरिए पनि गठबन्धन सरकारले यसमा धाँधली गरी ६८ वर्ष बनाएकोमा उनले असन्तुष्टि जनाए।

पार्टीनिकट नेपाल लोकतान्त्रिक तमु संघको दोस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै सय रुपैयाँबाट सुरु भएको वृद्धभत्ता हाल चार हजार पुगेको भन्दै उनले प्रत्येक निर्वाचनपिच्छे उमेर घटाउँदै लगे जन्मनेबित्तिकै भत्ता पाउने अवस्था आउने बताए।

धाँधली गर्नकै लागि कांग्रेस चुनाव आउने वेलामा सरकारमा जाने गरेको आरोप लगाएका ओलीले हाल देशको अर्थतन्त्र ओरालो लागेको अवस्थामा सरकारले भत्ता पाउने उमेर घटाएर भोटको राजनीति गरेको बताएका छन् ।