File photo

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाको (प्रचण्ड–नेपाल) समूहका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओली पार्टीको भगौडा भएको टिप्पणी गर्नुभएको छ ।

शुक्रबार आफ्नो समूहको केन्द्रीय सङ्घर्ष समितिले प्रतिनिधि सभा विघटनको विरोधमा आयोजना गरेको विरोध सभामा सम्बोधन गर्दै वरिष्ठ नेता खनालले ओली नेकपाको भगौडा भएको टिप्पणी गर्नुभएको हो ।

नेकपा बलियो र सुदृढ भएको भन्दै सुदृढ पार्टीमा गलत मान्छे बस्न नसक्ने र ओलीले प्रतिगमन गरेका कारण पार्टीबाट आफै भाग्नुपर्ने अवस्था आएको नेता खनालको भनाइ छ ।

वरिष्ठ नेता खनालले प्रतिनिधि सभा विघटनलाई प्रधानमन्त्री ओलीले राजनीतिक कदम भन्ने गरेको भन्दै यो राजनीतिक कदम नभइ प्रतिगमनकारी कदम भएको बताउनुभयो । प्रधानमन्त्रीले संविधानअनुसार चल्नुपर्ने उहाँको भनाइ छ ।

वरिष्ठ नेता खनालले संविधानले बनाएको सर्वोच्च अदालत भएकाले सर्वोच्चले संविधानबाहिर गएर कुनै व्याख्या विश्लेषण गर्न नमिल्ने बताउनुभयो ।

निर्वाचन आयोग पनि प्रचण्ड–माधवले नेतृत्व गरेको नेकपालाई नै आधिकारिक पार्टी भन्न बाध्य हुने उहाँले बताउनुभयो ।