७ हजार सामुदायिक विद्यालय निर्माण

219

काठमाडौं, १० असौज । सरकारले भूकम्पबाट क्षति पुगेका ७ हजार बढी समुदायिक विद्यालयको पुनर्निर्माण गरेको छ । गत २०७२ सालको भूकम्पबाट क्षति पुगेका विद्यालयमध्ये सरकारले ७ हजार २ सय ७२ वटा विद्यालयका निर्माण सम्पन्न गरेको हो ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले गत एक वर्षमा सामुदायिक विद्यालयमा करिब ६ हजार कक्षाकोठा निर्माण गरेको जनाएको छ । मन्त्रालयले गत २०७२ सालको भूकम्पबाट क्षति भएका ७ हजार ५ सय ८३ ओटा विद्यालयमध्ये गत आर्थिक वर्षमा थप ६ सय ६१ वटा विद्यालयको निर्माण कार्य सम्पन्न गरेको हो । योसँगै हालसम्म ७ हजार २ सय ७२ वटा विद्यालयका निर्माण सम्पन्न भएका हुन् ।

एकै वर्षमा ५ हजार ९ सय ८० कक्षाकोठा

शिक्षा मन्त्रालयले आर्थिक वर्ष २०७८÷७९ मा ५ हजार ९ सय ८० वटा सामुदायिक विद्यालयका कक्षाकोठा निर्माण भएको जनाएको छ ।मन्त्रालयका अनुसार गत आर्थिक वर्षमा २ हजार १ सय ८१ विद्यालयमा डिजिटल पुस्तकालय तथा आईटी ल्याबको व्यवस्थापन गरिएको जनाएको छ ।

यस्तै, १ हजार १२ वटा विद्यालयमा सूचना प्रविधि प्रयोगशाला स्थापनाका लागि स्थानीय तहमा वित्तीय हस्तान्तरण गरिएको छ ।

शिक्षा मन्त्रालयले शिक्षक अस्पताल निर्माणको कामसमेत अघि बढाएको छ । शिक्षामन्त्री देवेन्द्र पौडेलले अस्पताल निर्माणका लागि मन्त्रिपरिषद्बाट सैद्धान्तिक सहमति प्राप्त भइसकेको र अहिले चितवन जिल्लामा अस्पताल निर्माण गर्न जग्गा प्राप्तिको काम भइरहेको बताए ।

मन्त्री पौडेलले १० वर्षमा ११ प्रतिशत शिक्षण सिकाइमा प्रगति भएको जानकारी दिए । त्यस्तै, गत आर्थिक वर्षमा १ लाख १३ हजार विद्यार्थीलाई वैदेशिक अध्ययनका लागि सहमतिपत्र उपलब्ध गराइएको र ९१ जना विद्यार्थीलाई प्राविधिक विषयको उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्ति उपलब्ध गराइएको मन्त्रालयले जनाएको छ ।

शिक्षामन्त्री पौडेलले शिक्षाको सोचपत्र २०७९ जारी गरेर शिक्षा नीतिले तोकेका १३ उद्देश्यलाई पूरा गर्ने योजनासमेत सारेका छन् । जसमा नीतिगत तथा कानुनी सुधार, पूर्वाधार विकासलगायत पक्षलाई विशेष जोड दिएको छ ।

प्रारम्भिक बालविकास, विद्यालय शिक्षा, उच्च र प्राविधिक शिक्षा, १५ वर्षमा गरिने रूपान्तरणको क्षेत्र र अपेक्षित उपलब्धि तथा सुधारका कार्य सोचपत्रमा समावेश गरिएको छ । आजको राजधानीमा खबर प्रकाशित छ ।