विरेन्द्र केसी/गुल्मी । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अदालत र अख्तियारमा धूलो परेका फाइल सरकारले निकाल्न थालेको बताएका छन् । यसले पार्टीभित्र नयाँ तरंग आएको उनको भनाइ छ ।
भ्रष्टाचारीको कुनै पार्टी, जात र रङ नहुने भएकाले कसैलाई पनि नछाडिने मन्त्री ज्ञवालीले बताए । ‘वर्षौंसम्म थन्क्याएर राखेका धूलो परेका फाइललाई निकालेर हेरिन्छ, भ्रष्टाचारी त्रसित भएका छन्,’ शनिबार ओली समूहका अगुवा कार्यकर्तालाई गुल्मीको रेसुंगा नगरपालिकाको तम्घासमा सम्बोधन गर्दै मन्त्री ज्ञवालीले भने । उनले सुशासन कायम गर्न सरकार दृढ रुपले लागेको बताए ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को कार्यकारी अध्यक्ष जस्तो गरिमामय पदलाई दुरुपयोग गरेर पुष्पकमल दाहालले धोका दिएको उनको आरोप छ । दाहाल कार्यकारी अध्यक्ष भएपछि पार्टी काममा लाग्न छाडेर गुट बनाउँदै पार्टी एकताको म्यान्डेटविपरीत गतिविधि गरेर पार्टी विभाजन गरेको पनि उनले आरोप लगाए ।
मन्त्री ज्ञवालीले पार्टीमा पदको बार्गेनिङ गरेर दाहालले प्रधानमन्त्री र माधव नेपालले पार्टी अध्यक्ष पद नपाएपछि छँदाछँदाको आफ्नो पार्टीको दुई तिहाइको सरकारलाई बदनाम गराउन सडक गएर रोइकराई गरेको दाबी गरे । ‘पार्टीभित्र आफ्नो शक्ति आर्जन गर्ने र कुर्सीकै लागि दाहालले राजनीति गरे,’ उनले भने, ‘स्थिर सरकारको लागि जनतासमक्ष मागेको मतलाई कदर गर्ने काम पटक्कै भएन । कुर्सीका लागि पार्टीमा बबाल मच्चाउने काम दाहाल र नेपालले गरे ।’
कब्जा गरेर देशलाई अस्थिरतातर्फ धकेल्न खोजेपछि संविधान र लोकतन्त्र रक्षार्थ प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेर जनतामा जाने बाध्यकारी निर्णय गरेको उनले बताए । ओलीले प्रधानमन्त्री हुन अर्को निर्वाचन र पार्टी अध्यक्ष हुन्न, छिट्टै महाधिवेशन गरेर वैधानिक ढंगले सत्ता हस्तान्तरण गर्छु भनेर दाहाल र नेपाललाई बारम्बार सम्झाउँदा भन्दा नमानेको उनले बताए । ‘दाहाल र नेपाललाई पद नगद चाहियो, केही समय पर्खन सकेनन्,’ उनले भने ।
चुनावमा ५ वर्ष स्थिर सरकार भनेर भोट मागेका दाहाल नेपालले जनताको मत र कार्यकर्तालाई धोका दिएर निराश बनाएर सडकमा बेमौसमी बाजा बजाएको ज्ञवालीको जिकिर छ । दाहालको फाटेको मन टाल्दा टाल्दा हैरान भएको उनले बताए ।