आगामी मार्चदेखि १००, १० र ५ रुपैयाँका प्रचलनमा रहेका नोट विस्थापन गर्ने आरबिआईको योजना

709

नयाँदिल्ली । भारतीय रिजर्व बैंक (आरबिआई) ले १००, १० र ५ रुपैयाँको पुरानो सिरिजका नोटहरू बन्द गर्ने योजना बनाएको आरबिआईका सहायक महाप्रबन्धक बिबी महेशले बताएका छन् ।

बैंगलोरमा जिल्लास्तरीय सुरक्षा समिति र जिल्लास्तरीय मुद्रा प्रबन्धन समितिको बैठकमा सहायक महाप्रबन्धक महेशले आरबीआई यी नोटहरू बिस्तारै मार्च-अप्रिलदेखि प्रचलनबाट हटाउने योजनामा रहेको बताए ।

कार्यक्रममा बोल्दै महेशले भने, ‘निष्कासनको १५ वर्षपछि पनि व्यापारी र सर्वसाधारणले १० रुपैयाँको सिक्का स्वीकार गरेका नगरेकाले यी सिक्का बैंक र आरबिआईको समस्या बनेका छन् ।’ सन् २०१९ मा आरबिआई हल्का बैजनी रङका १०० रूपैयाँ दरका नोट जारी गर्‍यो । यस नोटको पछाडि रानीकी भाभको तस्बिर छ । यो गुजरातको पाटनमा सरस्वती नदीको किनारमा अवस्थित एउटा पाइला हो । नयाँ नोट जारी गर्ने क्रममा आरबिआईले १०० रुपैयाँ दरका सबै किसिमका नोट चलनमा रहने बताएको थियो ।

प्रधानमन्त्री नरेन्द्र मोदीले ८ नोभेम्बर २०१६ मा देशमा नोटाबन्दीको घोषणा गरे । प्रधानमन्त्रीले तत्काल प्रचलनमा रहेका १००० र ५०० रुपैयाँ दरका सबै नोटहरू बन्द गराए । केही दिनपछि आरबिआईले २००० रुपैयाँको नयाँ नोट जारी गर्‍यो । सन् २०१९ मा एक आरटिआई प्रत्युत्तरमा आरबिआईले उच्च मूल्यका नोटहरूको छपाइमा प्रतिबन्ध लगाएको बतायो । २००० रुपैयाँ दरको नोट बन्द भएको जानकारी भएपछि आरबिआईले यसबारे स्पष्टीकरण दिएको थियो ।

भास्करका अनुसार नोटबन्दीपछि हालसम्म आरबिआईले विभिन्न मूल्यका सात किसिमका नोट जारी गरिसकेको छ । तीनमा २०००, ५००, २००, १००, ५०, २० र १० रुपैयाँ दरका बैंक नोटहरू छन् । यी सबै महात्मा गान्धी सिरिजका बैंक नोटहरू हुन् । सबै नोटहरूको पछाडि ऐतिहासिक स्थानहरूका चित्र राखिएका छन् ।

यसबाट नेपाल पनि चनाखो हुने समय आएको छ । अघिल्लो नोटबन्दी पछि भारतले नेपालमा रहेका नोट हालसम्म साटेको छैन । त्यसैले नेपालले भारु नोटको प्रचलन गर्ने नागरिकलाई सचेत बनाएर उनीहरूसँग भएका नोट निष्क्रिय हुनबाट जोगाउनुपर्छ भने बैंकमा रहेका भारतीय नोटहरू बेलैमा सटही गर्नु आवश्यक देखिन्छ ।