काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड माधव नेपाल पक्षले प्रधानमन्त्री केपी ओलीलाई पार्टी साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ ।
प्रचण्ड र नेपाल समूहको आज पार्टी कार्यालय पेरिसडाँडामा आइतबार बसेको स्थायी कमिटी बैठकले ओलीलाई पार्टी सदस्यसमेत नरहने गरी कारबाही गर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकपछि जानकारी दिए ।
बैठक सकिएलगत्तै सञ्चारकर्मीहरूसँग कुरा गर्दै श्रेष्ठले पार्टीको अध्यक्षसमेत रहेका ओलीलाई पार्टी अनुशासन उल्लंघन गरेकाले कारबाही गरेको बताए । यसअघि बसेको बैठकले ओलीलाई स्पष्टीकरण सोधेको थियो ।
स्पष्टीकरणको जवाफ नआएपछि प्रचण्ड–नेपाल समूहले कार्वाही गरेका हो । ओलीलाई अध्यक्षबाट हटाएर नेकपा प्रचण्ड-माधव पक्षले माधवकुमार नेपाललाई अध्यक्ष बनाएको थियो ।
बैठकले पार्टी केन्द्रीय कार्यालयको सचिवमा स्थायी कमिटी सदस्य गंगालाल तुलाधरलाई जिम्मेवारी दिने निर्णय पनि गरेको नेकपाले जनाएको छ ।