घनश्याम पौडेल
अर्घाखाँची ।
तीन महिना लामो समय खर्चेर २०४३ सालमा सर्भे भएको अर्घाखाँचीमा पर्ने नेपालकै नमुना नौमुरे जलविद्युत् परियोजना हालसम्म पनि सञ्चालनमा आउन नसक्दा परियोजना बेवारिसे बनेको छ ।
३५ वर्षअघि जलविद्युत् निकाल्ने योजनासहित अध्ययन गरिएको नौमुरे परियोजना कागजमै सीमित रहेको छ । झिमरुक र मादी नदीको संगम अर्घाखाँची र प्युठानको सिमानामा पर्ने नौमुरे क्षेत्रमा सो आयोजना अगाडि बढाउने चर्चा चलेको ३५ वर्ष भएपनि कुनै काम अघि बढ्न सकेको छैन । तीन महिना लामो समय खर्चेर २०४३ सालमा सर्भे भएको अर्घाखाँचीमा पर्ने नेपालकै नमुना नौमुरे जलविद्युत् परियोजना हालसम्म पनि सञ्चालनमा आउन नसक्दा परियोजना बेवारिसे बनेको छ ।
सरकारले यो योजनाको चर्चा र तयारी गरेको लामै समय भएपनि निर्माण प्रक्रियामा प्रवेश नगरेकाले थप गति लिन नसकेको हो । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल पहिलोपटक भारत भ्रमण जाँदा भारतले सो आयोजनालाई उपहारका रूपमा निर्माण गरिदिने वचन दिएको थियो । तत्कालीन पञ्चायत सरकारले नेपालकै सस्तो लगानीमा निर्माण गर्ने आयोजनाका रूपमा रहेको भन्दै २०४३ देखि २०४६ सालसम्म विज्ञ आएर भैगोलिक परीक्षण, पानीको परीक्षण तथा सर्वेक्षणसमेत गरेको थियो । बहुदल आएपछि आयोजनाको काम रोकिएको छ ।
निर्वाचनको समयमा हरेक पटक चुनावी नारा बनेको नौमुरे जलविद्युत् परियोजनाको कार्यालय तत्कालीन सरकारका ऊर्जामन्त्री टोपबहादुर रायमाझीले २९ चैत २०७७ मा उद्घाटन गरेका थिए । झिमरुक र मादी नदीको संगम अर्घाखाँची र प्युठानको सिमानामा पर्ने नौमुरे २०४३ सालमा सर्भे भएपनि हालसम्म पनि सञ्चालनमा आउन नसक्दा परियोजनाको स्थापना भएको कार्यालयमा ताला लागेको छ ।
नौमुरे क्षेत्रमा जलविद्युत् आयोजना अगाडि बढाउने चर्चा चलेको ३५ वर्ष भएपनि कुनै काम अघि बढ्न सकेको छैन । निर्वाचनको समयमा हरेक पटक चुनावी नारा बनेको नौमुरे जलविद्युत् परियोजना देखाएर नेताहरु पटक पटक मन्त्री र सांसद भएपनि आयोजना कहिले सुरू हुन्छ भन्ने कसैसँग पनि जवाफ छैन ।
एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले विनियोजन गरेको बजेट गठबन्धनको सरकारले कटौती गरेको आरोप लगाउने रायमाझीले चौथोपटक अर्घाखाँचीबाट प्रतिनिधिसभामा विजयी हुँदा नौमुरे परियोजनाको काम अगाडि बढाउने बताएका छन् । २४५ मेगावाट विद्युत् उत्पादन हुने नौमुरेलाई सरकारले नीति तथा कार्यक्रमै एक प्रदेश एक जलाशययुक्त जलविद्युत् आयोजनाअन्तर्गत नौमुरेलाई घोषणा गरे पनि अझैसम्म कुनै काम अघि बढेको छैन ।
अर्घाखाँचीबाट रायमाझी ऊर्जामन्त्री, दाङबाट शंकर पोखरेल मुख्यमन्त्री र तत्कालीन समयमा प्युठानबाट वामदेव गौतम गृहमन्त्री हुँदासमेत नौमुरेले गति लिएको छैन । आयोजनाबाट विद्युत् उत्पादन पनि गर्ने साथै दाङ र कपिलवस्तु हुँदै बिहारसम्म सिँचाइ सुविधा उपलब्ध गराउने योजना रहेको छ । २०७१ साउनमा सरकारले सो आयोजना आफैं बनाउने घोषणा गर्दै पानी भारतलाई दिन नसक्ने बताएको थियो ।
विद्युत् प्राधिकरणले नौमुरे आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन डीपीआर तयार पार्ने काम मात्रै गरेको छ । ३५ वर्षअघि सर्भे थालेर बीचमै रोकिएको यो जैविक विविधता, पर्यावरण र पर्यटनका हिसाबले पनि नेपालकै नमुना जलविद्युत् परियोजनाअन्तर्गत पर्छ । नदीको बहाव सुक्खायाम र वर्षायाममा पनि एउटै परिणाममा हुने भएकाले विद्युत् निकाल्न झन्झटिलो नभएको विज्ञहरूको सुझाव छ ।
शीतगंगा ७ जलुकेमा पर्ने सो परियोजनाबाट सुख्खायाम वा वर्षायाम जुनसुकै मौसममा पनि एउटै परिणामको विद्युत् उत्पादन हुन सक्ने नेपालको पहिलो जलविद्युत् परियोजना हुने विज्ञहरूको भनाइ छ । राष्ट्रिय योजनाअन्तर्गत पर्ने परियोजना सञ्चालनमा ल्याउन धेरै प्रयास भइरहे पनि अहिलेसम्म कार्यान्वयन हुन सकेको छैन । नौमुरे परियोजना सरकारले सञ्चालनमा ल्याएमा अर्घाखाँचीसँगै प्युठान, पाल्पा, गुल्मी, कपिलवस्तु, दाङलगायत जिल्लाका जनता लाभान्वित सँगै हजारौंको संख्यामा रोजगारी पाउनेछन् ।
सालझन्डी-सन्धिखर्क-ढोरपाटन सडक
सालझन्डी–सन्धिखर्क–ढोरपाटन सडक पनि अर्घाखाँचीको विकासमा एउटा इँटा थप्ने सडक हो । १ दशक अगाडिदेखि तराई, पहाड र हिमाललाई छोएर सुरु भएको सडकखण्डको कामले तीव्रता पाएको छैन । ट्र्याक खोल्ने, साँघुरो सडक चौडा गर्ने विषयमा सन्धिखर्क बजार, सालझन्डी बजार र पाणिनीको मैदान, पटौटीमा पनि सामान्य विवाद ११ वर्षदेखि कायमै रहेको छ ।
रुपन्देहीको सैनामैना नगरपालिकाको सालझन्डीबाट बागलुङको ढोरपाटनसम्म ट्र्याक खोल्ने काम सकिए पनि सन्धिखर्कमा विवाद रहँदा यो सडकले अझै पूर्णता पाउन सकेको छैन । २०६५ सालमा निर्माण कार्य सुरु भएको सडकको ट्र्याक खोल्ने काममा करिब ९७ प्रतिशत काम सम्पन्न भएको छ । सन्धिखर्कमा लामो समयसम्म विवाद कायम रहपनि विवाद सुल्झिएको छैन ।
यो सडकले धेरै सम्भावनाहरू बोकेकाले यसको महत्व बढी रहेको छ । सन्धिखर्क यो सडकको जम्मा लम्बाइ १ सय ८५ किलो मिटर छ । रुपन्देहीमा ५, पाल्पामा २० अर्घाखाँचीमा ७० गुल्मीमा ४० र बाग्लुङमा ५० किलोमिटर क्षेत्र सडकले ओगटेको छ । बाग्लुङको धार्मिक तथा पर्यटकीय क्षेत्र ढोरपाटनसम्म पुर्याइएको यो सडकले पर्यटन प्रवर्द्धनका लागि निर्माण गरिएको हो ।
फुदवाङदेखि बलेबाङसम्म १० किलोमिटर सडक पिच भएको छ । ढोरपाटन सडकको काम सम्पन्न भएसँगै अर्घाखाँची, पाल्पा, रुपन्देही, गुल्मी बागलुङ जिल्लाका बासिन्दालाई प्रत्यक्ष लाभान्वित हुने छन् । सडक खुलेसँगै लुम्बिनी आएका पर्यटक पहाडी जिल्लाअन्तर्गत पाल्पा, अर्घाखाँची, गुल्मी, बागलुङको अवलोकन र भ्रमण गराउन सकेमा यहाँका बासिन्दाको आयआर्जनमा टेवा पुग्ने देखिन्छ ।
ढोरपाटन सडकसँगै प्रदेश सरकारबाट रामपुर–कपुरकोट सडक पनि अर्घाखाँची हुँदै काम सुरु भएको छ । मुख्य सडक गोरुसिङे सन्धिखर्क सडक स्तरोन्नतपश्चात् अर्घाखाँची जिल्ला सडक पहुँच पुग्ने देखिन्छ । जिल्लाका सबै वडाहरूमा हिउँद र वर्खामा गाडी सञ्चालन भएसँगै कृषकले उत्पादन गरेको दूध तथा तरकारीजन्य वस्तुको बिक्रीका लागि टेवा पुगेको छ । विवादमा रहेको ढोरपाटन सडकको काम तीव्र गतिमा गर्नुपर्ने स्थानीय बताउँछन् ।
जिल्लामा बाँगीखोला, मथुरा बेंसीखोला, वाणगंगा खोला, दुर्गाखोला, सीतखोला, खाकाबेंसी खोला, सिस्ने खोला, खाँची खोला, मथुरा खोलालगायतका खोलासहित खानेपानी तथा सिँचाइको प्रशस्त सुविधा भएकाले कृषि उत्पादन गर्न सकिन्छ । जिल्लाको ठाडामा रहेको डमरुदह ठाडा, सेङलेङ दह धनचौर तथा शान्ति बगैंचालगायतका पर्यटकीय स्थलमा पनि पर्यटकको आगमन भएका आर्थिक टेवा पुग्छ ।

धार्मिक स्थल
सुपादेउराली मन्दिर नरपानी, अर्घा भगवती मन्दिर अर्घा, पाणिनी तपोभूमि पणेना, छत्रमहाराजको मन्दिर छत्रगन्ज, दुर्वाशेश्वर गुफा खिदिम, नत्नाञ्चल पर्वत नरपानी, जालकाँडाको लेक खन, मालारानीको मन्दिर खनदह, ऐतिहासिक पौवा बल्कोट, मथुरावेसी धार्मिक स्थल वाङला, सिद्धेश्वर गुफा धातिवाङलगायतका धार्मिक स्थलहरू रहेका छन् । धार्मिक स्थलहरूको प्रचार–प्रसार गरी धार्मिक पर्यटक ल्याई वृद्धि गर्नुपर्ने हुन्छ ।
अर्घाखाँची जिल्ला कृषिमा आधारित जनसंख्या ९३ प्रतिशत छ, जसमा खेतीयोग्य जमिन ४६,७३२ हेक्टरमध्ये खेतीयोग्य जमिनमध्ये खेतः ८०६७ हेक्टर खेतीयोग्य जमिनमध्ये पाखोः ३८,६६५ हेक्टर रहेको छ । कृषि, पर्यटन, उद्योग र वन वातावरणलाई व्यावसायिकीकरण गर्दै सम्भावना, साधनस्रोत र प्राथमिकताको आधारमा पकेट क्षेत्रका रूपमा जिल्लालाई विकास गर्न लागिएको छ । जिल्लामा कागती, सुन्तला, बाख्रा, लिचीलगायतका विभिन्न मिसनहरू सञ्चालन गर्दै कुनै वडा/क्षेत्रलाई नमुना गाविस/क्षेत्रका रूपमा सञ्चालनमा ल्याई उत्पादनमा वृद्धि गर्न नमुना एकीकृत फार्महरू सञ्चालन गर्न लागिएको छ ।
जिल्ला खुला दिशामुक्त, पूर्ण खोपयुक्त र पूर्णसाक्षर जिल्ला घोषणा भइसकेको छ । अर्घाखाँची जिल्ला धार्मिक पर्यटकीय स्थलले सम्भावना बोकेको जिल्ला हो । जिल्लामा पर्यटकीय स्थलहरू भरिपूर्ण छन् । नेपालकै प्रसिद्ध मन्दिर सुपादेउरालीमा दर्शन गर्न नेपालसहित विदेशबाट पनि श्रद्धालु आउने गरेको मन्दिर व्यवस्थापन समितिले जानकारी दिएको छ । जिल्लामा सुपादेउराली आएका पर्यटकहरू नरपानी आउने गर्छन् । मनोरम वातावरण भएको हुँदा अझै थप व्यवस्थित बनाउन नरपानीमा नरपानी स्पोर्ट बनाउने हो भने अझै पर्यटक बढ्ने सम्भावना रहेको छ ।
सुपादेउराली आएका पर्यटक नरपानी हुँदै खाँचीकोटमा रहेको खाँची मन्दिर तथा दरबार सदरमुकाम सन्धिखर्क शान्तिबगैचाको अवलोकन गर्न आउने व्यवस्था मिलाउनुपर्छ । १०८ पञ्चयान मन्दिर शान्ति बगैंचामा रहेको छ । श्री सिद्धेश्वर शिवालय मन्दिर, अर्घा भगवती मन्दिर, पाणिनी तपोभूमिमा ऋषिले तपस्या गरी व्याकरण लेखेको र व्याकरण जन्म भएको ठाउँ हो । पाणिनी तपोभुमी अर्घाखाँची जिल्ला धार्मिक तथा पर्यटकीय दृष्टिकोणले भरिपूर्ण जिल्ला हो । पाणिनी तपोभूमिमा लुम्बिनी आएका पर्यटकलाई सालझन्डी–ढोरपाटन सडकको काम सकिएपछि १ घण्टामै पाणिनी तपोभूमिमा पर्यटक ल्याउन सकिन्छ ।
अर्घाखाँची जिल्लाका ६ वटै स्थानीय तहहरूमा आर्थिक विकासको दृष्टिले समृृद्ध बनाउन कृषि, उद्योग, पर्यटन, पशुपालन, नगदेवालीलगायतका विभिन्न आयआर्जनसँग सम्बन्धित व्यवसायलाई प्रोप्साहन दिँदै यस क्षेत्रमा रहेको प्राकृतिक स्रोत र साधनको उचित व्यवस्थापन एवंप्रयोग गरी यस क्षेत्रको विकासका पूर्वाधारमा दिगो विकासको नीति अनुरूप कार्य गर्न सडकको विकासमा यस क्षेत्रलाई अगाडि बढाउने, यस वर्षबाट नै सडक विकासको वर्षका रूपमा मनाउने, नगरबासीलाई सुलभ यातायातको व्यवस्था मिलाउँदै खानेपानी, शिक्षा, स्वास्थ्य, सञ्चार, सिँचाइ, ऊर्जा, रोजगारीमूलक क्षेत्रका साथै अन्य विविध क्षेत्रको विकासका लागि गुरुयोजनाका साथ अगाडि बढ्नुपर्ने देखिन्छ ।
जिल्लाभित्र रहेका बेरोजगार युवालाई रोजगारका लागि कृषि पशुपालन, पर्यटन उद्योगलगायत सीपमूलक व्यवसायमा सरिक गराई उनीहरूलाई आत्मनिर्भर बनाउन स्वरोजगारका कार्यक्रममा प्राथमिकता दिनुपर्छ । जिल्लाको चौतर्फी विकासका यस नगरपालिकाले गर्ने सम्पूर्ण कार्यलाई पारदर्शी, पूर्वाग्रहरहित एवं भ्रष्टाचारमुक्त गराई सुन्दर र समृद्ध नगरपालिकाको परिकल्पनालाई अगाडि बढाउन सबै वर्ग, समुदाय र क्षेत्र एवं सरोकारबालासँग आवश्यक परामर्श लिँदै अगाडि जनप्रतिनिधिहरू बढ्नुपर्छ ।
जिल्लाको विकासका लागि स्थानीय तहको काम प्रभावकारी हुनुपर्ने हुन्छ । अर्घाखाँचीलाई साँच्चिकै नमुना जिल्ला बनाउन मुख्यता सुपादेउराली, पाणिनी तपोभूमिलगायतका धार्मिक स्थलको प्रचार–प्रसार गर्दै कृषि र पशुपालनतर्फ पनि कृषकलाई प्रेरित गरेमा समृद्ध अर्घाखाँची साथसाथै जिल्लामा रोजगारसँगै समृद्ध अर्घाखाँची बन्न सक्छ ।