संसदीय दलमा शेखर-गगनको टकराब

195

काठमाडौँ, ५ पुुस । कांग्रेस संसदीय दलको नेतामा सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको विकल्प खोज्न महामन्त्री गगन थापाको कसरत जारी रहे पनि उनी आफ्नै समूहबाट सर्वसम्मत उम्मेदवार बन्न सकेका छैनन् ।

दुई महिनाअघि नै दलको नेतामा उम्मेदवारी दिने घोषणा गरेका थापालाई अन्तिम घडीमा आफ्नै समूहका नेता शेखर कोइरालाले ‘ब्रेक’ लगाउन खोजेका छन् । दलको नेता चयनका लागि बुधबार बिहान मतदान हुँदै छ भने मंगलबार मनोनयनको कार्यक्रम छ । मनोनयन गर्नुअघिसम्म शेखर र गगनमध्ये एकलाई सर्वसम्मत उम्मेदवार बनाउने कसरत भइरहे पनि एक वर्षअघि सम्पन्न पार्टीको १४ औं महाधिवेशनमा देखिएकै प्रवृत्ति दोहोरिने संकेत देखिन थालेको छ ।

महाधिवेशनको एक वर्षपछि बुधबार हुन लागेको संसदीय दलको चुनावमा उम्मेदवार बन्न आफ्नै समूहभित्र शेखर र गगनबीच खिचातानी बढिरहेको छ । यसले पुरानै नियति दोहोरिने चिन्ता यो समूहका नेताहरूमा छ । शेखरले महाधिवेशनका बेला आफू प्रधानमन्त्रीका लागि नभएर सभापतिको प्रतिस्पर्धामा मात्रै अघि सर्ने बताएका थिए । सभापतिमा पनि ‘एक पटक, यसै पटक’ उनको नारा थियो । १५ औं महाधिवेशनमा नेतृत्वमा युवालाई अघि बढाउने आकर्षक मुद्दा अघि सारेकाले १४ औं महाधिवेशनमा थापा शेखरकै प्यानलबाट महामन्त्री बनेका थिए । ‘दुई जना नमिल्दा हामी अझै कमजोर हुने हो,’ संस्थापनइतर पक्षका नेता सञ्जय गौतमले भने, ‘महाधिवेशनमै ठूलो शक्ति गुमाएका छौं । यस पटक फेरि मिल्न सकेनौं भने पार्टीको विपक्षी मोर्चा कमजोर बन्नेछ, त्यसैले हाम्रो जोड सर्वसम्मत उम्मेदवार बनाउनेमै छ ।’

१३ औं महाधिवेशनबाट सभापति चुनिएको सय दिन पनि नपुग्दै देउवाको कार्यशैली र भूमिकाको विरोध गरेर पाँच वर्षसम्म नेतृत्व परिवर्तनको चर्को मुद्दा उठाउने नेताहरू नै १४ औं महाधिवेशनमा आफैं बदलिन पुगेका थिए । कांग्रेस नेता रामचन्द्र पौडेलले देउवाको विकल्प खोज्ने सवालमा सबैभन्दा अग्रमोर्चामा आफूलाई उभ्याएका थिए तर महाधिवेशनमा आफूलाई सहयोग नगरेपछि उनी तटस्थ बसिदिए । उनले महाधिवेशनमा भोटसमेत हालेनन्, जसको लाभ देउवालाई मिल्यो ।

नेतृत्व परिवर्तनका लागि चर्को मुद्दा उठाउने अर्का नेता हुन्– पूर्वमहामन्त्री प्रकाशमान सिंह । देउवासँगै महाधिवेशनमा सभापतिका लागि प्रतिस्पर्धा पनि गरे । सभापतिमा पाँच जनाबीचको प्रतिस्पर्धामा कसैले पनि ५० प्रतिशत मत कटाउन नसकेपछि भएको दोस्रो चरणको निर्वाचनमा सिंहले देउवालाई साथ दिए । दोस्रो चरणमा सबैभन्दा बढी मत प्राप्त गर्ने देउवा र कोइरालाबीच प्रतिस्पर्धा भएको थियो ।

देउवाकै टिमबाट विद्रोह गरेर नेतृत्व परिवर्तन गर्न पूर्वउपसभापति विमलेन्द्र निधि पनि अघि सरे । चुनावमा प्रतिस्पर्धा गरे । सिंहले जस्तै उनले पनि दोस्रो चरणमा देउवालाई साथ दिए । आफ्नै दाइ शेखरको पक्षमा शशांकसमेत उभिएनन् । युवा नेता प्रदीप पौडेल देउवा प्यानलबाटै महामन्त्रीका प्रतिस्पर्धी बने । चुनावमा नेतृत्व परिवर्तनको चर्को मुद्दा उठाएका पौडेल पनि देउवाकै पक्षमा उभिने संकेत गरेका छन् । ( आजको कान्तिपुरमा खबर प्रकाशित छ ।)