अर्घाखाँचीः स्थानिय तहका जनप्रतिनिधीको भत्ता, इन्धन, सुविधामा १२ करोड (विवरणसहित)

546

घनश्याम पौडेल
अर्घाखाँची, २१ पुस । स्थानिय सरकारको निर्वाचन भएको ८ महिना पुरा हुन लागेको छ। स्थानिय तहको सत्ता हातमा पार्न जनप्रतिनिधीले तलब भत्ता नलिने सरकारी गाडी नचढ्ने कसम जनताको माझमा खाए ।

निर्वाचनको समयमा औपचारीक कार्यक्रममा देखि कतिपयले मतदाताको घरघरमा पुगेर सरकारी सम्पत्ती लिदैँनौ आफनै खर्चमा ५ वर्ष जनताको सेवक भएर आएका छौँ भन्दै कसम खाएका थिए । तर त्यो कसम भुटो रहेको प्रमाणित भएको छ ।

जिल्लाका ६ स्थानिय तहमा ६१ वडाहरु रहेका छन् । प्रमुख, उपप्रमुख १२ जना, वडा अध्यक्ष ६१ जना र २४४ जना वडा सदस्य छन् । सबै स्थानिय सरकारको कार्यपालिकामा पनि सदस्य निर्वाचित भईसकेका छन् । जिल्लामा जिल्ला समन्वय समिती बाहेक स्थानिय तहमा मात्रै ३२० प्रतिनिधी छन् । गाउँ/नगरपालिका प्रमुखलाई गाडीको सुविधा छ । बैठक भत्ता, इन्धन खर्च, भ्रमण भत्ता, सहयोगी सहितको लगाएतको सबै सुविधा जनप्रतिनिधीलाई छ । वडा अध्यक्षहरुलाई पनि भत्ता सुविधा छ, तर वडा अध्यक्षहरुले भने कार्यालय समय जस्तै १० बजेदेखि ४ बजेसम्म सेवाग्राही आउँछन् कि भन्दै वडा कार्यालयको कुर्चीमै बस्नुपर्छ ।

आर्थिक वर्ष २०७९/०८० को बजेट अर्घाखाँचीमा असार १० गते सभाबाट पास भएको हो, छत्रदेव र पाणिनीमा केहि समय विवाद भएपछि २ महिनापछि बजेट पारित भएको थियो । सेवासुविधा लिनकै लागी सबैभन्दा बढी बजेट विनियोजन भुगोलले नेपालकै सबैभन्दा ठुलो शितगंगा नगरपालिका देखिन्छ, जहाँ विनियोजन भएको बजेटमा २ करोड ९० लाख जनप्रतिनिधीको सुविधाका लागी छ । मेयर, उपमेयर, वडा अध्यक्ष, कार्यपालिका सदस्य देखि वडा सदस्य सम्मको सुविधाका लागी विनियोजन भएको छ । शितगंगामा सबैभन्दा बढी जनप्रतिनिधी छन् । १४ वडा रहेका छन् ।

जिल्लाको सदरमुकाममा रहेको सन्धिखर्क नगरपालिकामा २ करोड ३४ लाख जनप्रतिनिधीको सुविधाको लागी बजेट विनियोजन भएको छ । सन्धिखर्कमा १२ वटा वडाहरु रहेका छन् ।


भुमिकास्थान नगरपालिकामा २ करोड ९ लाख ८६ हजार रुपैँया विनियोजन गरेको आर्थिक वर्ष २०७९/०८० मा नगरपालिकाले पारित गरेको बजेटमा उल्लेखित छ ।


गाउँपालिकाहरु मध्ये सबैभन्दा बढी सेवा सुविधाका लागी बढी बजेट विनियोजन गर्ने स्थानिय तह पाणिनी गाउँपालिका हो । पाणिनीमा १ करोड ८० लाख जनप्रतिनिधीको इन्धन खर्च, गाडी मर्मत देखी बैठक भत्ताको खर्च हो । पाणिनी गाउँपालिकाले चालु आर्थिक वर्षमै गाडि खरिदका लागी ३५ लाख रुपैँया विनियोजन गरेको छ ।

जिल्लाको मालारानी गाउँपालिकाले १ करोड ६१ लाख रुपैँया जनप्रतिनिधीको लागी बजेट विनियोजन गरेको छ । मालारानीमा ९ वडा रहेका छन् ।

छत्रदेव गाउँपालिकाले १ करोड ६० लाख रुपैँया जनप्रतिनिधीको सुविधाका लागी बजेट विनियोजन गरेका छन् । जिल्लाका ६ स्थानिय तहका जनप्रतिनिधीको लागी एक आर्थिक वर्षमै १२ करोड ३४ लाख ८६ हजार खर्च हुने तथ्याकं देखिन्छ ।