सुन्तलाले फेरिएको सिम्लेको जनजिवन (भिडियो रिपोर्ट)

107

घनश्याम पौडेल
अर्घाखाँची, २९ पुस । वारी, पारीबाट हेर्दा फुल फुलेर प्यालपुर भएजस्तै देखिने मनोरम वातावरणको दृश्य । यो दृश्य फुल फुलेको होईन पुसमा सुन्तला पाकेर प्यालपुर भएको । जाडोको समय भएपनी खाउँ खाउँ हुने मिठो रस सहितको सुन्तला पणेनाको सिम्लेमा पाईन्छ । पानी र चियाको सट्टा यहाँ पाहुँनाहरुलाई सुन्तलाले स्वागत गरिन्छ ।

पाणिनी सिम्लेका ४९ घरधुरीले न्युनतम ५ लाख देखी ३० लाख रुपैँयासम्म वार्षिक आम्दानी सुन्तला विक्रीबाटै गर्ने गर्छन । जिल्लामा पणेनामा गएपछी प्रशस्त सुन्तला खान पाईन्छ, भन्ने अर्घाखाँची जिल्ला सहित छिमेकी जिल्लाकालाई पनी जानकारी छ ।

विदेशको अनुभव संगालेर घर फर्केका युवाहरु पनि व्यवसायीक कृषक बनेका छन् । पणेना सिम्लेका रेवती पौडेलको सुन्तला बगैँचा मनै लोभ्याउने छ। २० रोपनी बारीमा सुन्तला लगाएका पौडेलले २८ लाखको सुन्तला विक्री गर्छन ।
२५ वर्षदेखी व्यवसायीक रुपमा सुन्तला खेतीमा लागेका माधव पौडलको बारीमा ५०० सुन्तलाका बोट छन् । विदेश जाने उमेरका २६ वर्षिय युवा माधब पौडेलले १५ रोपनीमा सुन्तला लगाएका छन् । सुन्तला बगैँचाबाटै आजभोली प्रतिकेजी ७० रुपैँयामा विक्री भएको छ, अझै सुन्तलाको भाउँमा वृद्धि भई प्रतिकेजी १०० रुपैँयासम्ममा विक्री हुन्छ ।

सुन्तला बढी उत्पादन भएपछि लुम्बिनी प्रदेश सरकार र स्थानिय कृषकहरुको अग्रसरमा ५० प्रतिशत अनुदानमा शिवशक्ति शित भण्डारको स्थापना भएको छ । अधिकांश कृषकहरुको सुन्तला शितभण्डारमा राखिनेभएको छ । शितभण्डारमा राखेका सुन्तला केही मात्रामा विग्रिएपनि गाउँमै कोल्डस्टोर निमार्णपछि पाणिनी सिम्लेका सयौँ कृषकलाई टेवा पुगेको छ । प्राविधिक कारणले समस्या आएतापनि गाउँमा बनेको कोल्डस्टोर निर्माणले कृषकमा उत्साह छाएको छ ।

अर्घाखाँचीमा यस वर्ष २७ करोड बराबरको सुन्तला उत्पादन भएको छ । अर्घाखाँचीको ४ सय ९४ हेक्टर क्षेत्रमा सुन्तला खेती गरिएकोमा ५ हजार ३ सय १० मेट्रिक टन सुन्तला उत्पादन भएको छ । गत वर्षको तुलनामा १० प्रतिशतले सुन्तला उत्पादन बढी भएको हो । जिल्लाभरमा यो वर्ष २७ करोड रुपैयाँबराबरको सुन्तलाको कारोबार हुने कृषि ज्ञान केन्द्र अर्घाखाँचीका प्रमुख राममिलन विश्वकर्माले बताए ।

गतवर्ष भन्दा अर्घाखाँचीमा सुन्तला उत्पादनमा वृद्धि भएको छ। सुन्तला टिप्ने, विक्री गर्ने भईरहेको छ । जिल्लाको सुन्तला उत्पादन गुणस्तरीय भएको सरकारी कार्यालयको तथ्यांक छ । परम्परागत रुपमा गरिने मकै, गहुँ, जौ, कोदो लगाएतको खेतीबाट भन्दा सुन्तला खेतीबाट आम्दानी बढी हुने गरेको प्रधानमन्त्री कृषि आधुनिकिरण परियोजना, अर्घाखाँचीका प्रमुख रामनाथ पाण्डेले बताए ।

पणेनाका झण्डै दुई सय र साविकको वडा नम्बर १ सिम्लेमा मात्रै ४९ जना कृषकहरु रोजगारीको लागि विदेशको मुख ताक्नु नपर्ने बताउँछन् । अर्घाखाँचीमा पणेना, पटौटी, खिदिम, छत्रदेवको भगवती, मालारानीको मरेङ्ग, खन, साकिन्धारा, लगाएतका ठाउँका कृषकको मुख्य स्रोत सुन्तला खेती हो । अर्घाखाँचीमा १२०० हेक्टरमा सुन्तला खेती गरिएको छ । यहाँ उत्पादन भएको सुन्तला रुपन्देही, कपिलवस्तु, सन्धिखर्क, तम्घास लगाएतका ठाउँमा निर्हात हुदैँ आएको छ ।

भिडियो रिपोर्ट