पौडेल समूहको प्रस्ताव, ‘आन्दोलन र महाधिवेशनको तयारी सँगसँगै गरौँ’

123

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीले प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा स्पष्ट रूपमा उभिनुपर्ने अडान राखेका छन् । केन्द्रीय कार्यसमितिको बैठकका लागि पौडेल समूहको साझा प्रस्ताव बनाउन सोमबार भएको छलफलमा पौडेलले प्रतिनिधिसभा पुनर्स्थापनालाई मुख्य एजेन्डा बनाएर थप आन्दोलनका कार्यक्रमको घोषणा गर्नुपर्ने बताएका हुन् । कांग्रेस कार्यसमिति बैठक मंगलबार बस्दै छ ।

महाराजगन्जस्थित महामन्त्री डा। शशांक कोइरालाको निवासमा भएको छलफलले वडास्तरसम्मका आन्दोलनका कार्यक्रमले कार्यकर्तामा जागरण आएको भन्दै अब थप शक्ति प्रदर्शनसहितका विरोध सभाहरू गर्नुपर्ने प्रस्ताव तय गरेको छ ।

पौडेल समूहले १४औँ महाधिवेशनको तयारीलाई समेत थप गति दिएर अगाडि बढाउनुपर्ने प्रस्ताव केन्द्रीय समिति बैठकमा लैजाने भएको छ । ‘संविधान जोगाउने कुरा मुख्य हो, व्यवस्था नै नरहे हामीले के गर्ने रु त्यसैले आफ्नो धारणा खुलेर राख्नुपर्छ, थप आन्दोलनका कार्यक्रमहरू बनाउनुपर्छ,’ छलफलमा पौडेलले भनाइ उद्धृत गर्दै केन्द्रीय सदस्य जीवन परियारले भने ।

कांग्रेसले एक वर्षअगावै आगामी फागुन ७ देखि १० गतेसम्म पार्टीको १४औँ महाधिवेशनको मिति निर्धारण गरेको भए पनि अब त्यो मितिमा महाधिवेशन नहुने निश्चित भइसकेको छ ।

महाधिवेशनको पूर्वतयारी र अर्को कार्यतालिकाका विषयमा समेत छलफल गरेर निर्णय लिनुपर्ने पौडेल समूहका नेताहरूले जोड दिएका छन् । ‘मुख्यतः दुईवटा एजेन्डा तय भएको छ, पहिलो प्रतिनिधिसभा विघटनको विरोधमा अर्को आन्दोलनको कार्यक्रम बनाउने, र दोस्रो भनेको महाधिवेशनको तयारीबारे हो । यिनै प्रस्ताव केन्द्रीय समिति बैठकमा सामूहिक रूपमा लैजानेबारे छलफल भएको छ,’ केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले नयाँ पत्रिकासँग भने ।
कांग्रेसले माघ मसान्तभित्र सबै जिल्ला र क्षेत्रीय समितिहरूलाई क्रियाशील सदस्यता वितरण र नवीकरणको सबै विवरण केन्द्रमा पठाइसक्न निर्देशन दिएको छ ।

प्रतिनिधिसभा विघटनपछि प्रदेश सरकारमा उत्पन्न भएको समस्याका विषयमा समेत छलफल भएको एक नेताले बताए । नेकपाको प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्री केपी ओलीनिकट रहेका प्रदेश १ र बागमती प्रदेशमा मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराइसकेका छन् । दुवै प्रदेशमा कांग्रेस निर्णायक भूमिकामा छ । दुवै समूहले कांग्रेसलाई सहकार्यका लागि आग्रह गरेका छन् । तर, कांग्रेसले निर्णय दिएको छैन ।

सभापति शेरबहादुर देउवाले यसअघि प्रदेशका केन्द्रीय सदस्यहरूसँग बसेर छुट्टा–छुट्टै छलफल गरेका थिए । छलफलपछि सभापति देउवाले प्रदेश सभा संसदीय दललाई सांसदहरूसँग छलफल गरेर राय लिएर आउन संसदीय दलका नेताहरूलाई निर्देशन दिएका छन् ।

मंगलबारको केन्द्रीय समिति बैठकमा त्यसबारे पनि प्रस्ताव आउन सक्ने भएकाले पौडेल समूहले सोमबार आफ्नो रणनीति बनाएको छ । ‘नेताहरूले आ–आफ्नो धारणा राख्नुभएको छ, तर अविश्वासको प्रस्तावको विपक्षमा कोही पनि छैन, थप छलफल भइरहेको छ,’ बैठकपछि एक नेताले भने । सभापति देउवानिकट नेताहरूले भने कांग्रेसले उपयुक्त समयमा निर्णय लिन सक्ने धारणा राख्दै आएका छन् । नयाँ पत्रिकामा समाचार प्रकाशित छ ।