कोभिडविरुद्धको पहिलो खोप टेकु अस्पतालका डाक्टरले लगाउने

293

काठमाडौं । कोभिड– १९ विरुद्धको पहिलो खोप सहिद शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुका निर्देशक डा. सागर राजभण्डारीले लगाउने भएका छन् । टेकु अस्पताल देशको एक मात्र सरुवारोग अस्पताल हो ।

बुधबार बिहान ठीक १० बजे प्रधानमन्त्री केपी ओलीले टेकु अस्पतालबाट खोप अभियानको शुभारम्भ गर्ने कार्यक्रम छ । अस्पतालका निर्देशक राजभण्डारी र कोभिड चिकित्सक डा. अनुप बाँस्तोला दुवैले पहिलो खोप लिने बताएका थिए । तर, निर्देशकका रूपमा रहेकाले राजभण्डारीले पहिलो खोप लिने भएका छन् । दोस्रोमा डा. बाँस्तोलाले लिने सूची तय भएको छ ।

स्वास्थ्य मन्त्रालय र टेकु अस्पताल प्रशासनबीच सोमबार विभिन्न चरणमा छलफल भएको थियो । टेकु अस्पतालमा खोप केन्द्र पनि रहनेछ । निर्देशक राजभण्डारीले ‘कोभिसिल्ड’ खोपको प्रभावकारिता राम्रो भएकाले निर्धक्क भएर लगाउन सबै स्वास्थ्यकर्मीलाई आग्रह गरेका छन् ।

गत वर्षको ९ माघमा नेपालमा कोभिडको पहिलो केस देखिएको थियो । संक्रमित व्यक्ति ज्वरो र खोकीको समस्या लिएर उपचारका लागि टेकु अस्पताल पुगेका थिए । कोभिडको आशंकामा उनको स्वाब परीक्षण विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)को हङकङस्थित प्रयोगशालामा पठाइएको थियो । कोभिड पुष्टि भएपछि टेकु अस्पतालमै राखेर उनको उपचार गरिएको थियो ।

सोमबारसम्म देशभर दुई लाख ६९ हजार सात सय ८९ जनामा संक्रमण देखिएको छ । उनीहरूमध्ये दुई लाख ६४ हजार पाँच सय ३८ जना निको भएर घर फर्किसकेका छन् भने तीन हजार दुई सय ४० संक्रमित उपचाररत छन् । संक्रमणबाट अहिलेसम्म दुई हजार ११ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार टेकु अस्पतालमा खोपको शुभारम्भ भएसँगै बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल र त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा पनि १० बजेकै समयमा खोप दिन सुरु गरिनेछ । तर, यी अस्पतालमा पहिलो खोप लिने कर्मचारीसहितको सूची भने तयार भएको छैन । ‘खोप १४ माघबाट सुरु गर्ने भन्ने तय छ, तर खोप लगाउने कर्मचारी सूची तयार भएको छैन । मंगलबार छलफल गरेर नाम टुंगो लगाउँछौँ,’ शिक्षण अस्पतालका कोभिड चिकित्सक डा. सन्तकुमार दासले भने ।

अक्सफोर्ड÷एस्ट्राजेनेकाले विकास गरेको तथा सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको ‘कोभिसिल्ड’ खोपका १० लाख डोज भारतले अनुदानमा दिएको हो । गत बिहीबार खोप काठमाडौं आइपुगेको थियो । ‘कोभिसिल्ड’को आपत्कालीन प्रयोगका लागि औषधि व्यवस्था विभागले अनुमति दिइसकेको छ । एस्ट्राजेनेका खोपको फर्मुला अपनाएर भारतमा ‘कोभिसिल्ड’ खोपको उत्पादन भएको स्वास्थ्यसचिव लक्ष्मण अर्यालले बताए ।

‘भारत, बंगलादेश, म्यानमार, माल्दिभ्स र भुटानमा पनि कोभिसिल्डको प्रयोग हुन थालेकाले हामीले सुरु गर्न लागेका हौँ,’ सचिव अर्यालले भने । यो खोपको प्रभावकारिता ७० देखि ९१ प्रतिशत सुरक्षित भनिए पनि नेपालले पहिलो डोज लगाएको एक महिनापछि दोस्रो डोज लगाउनेछ । दोस्रो डोज जति ढिला लगायो यसको प्रभावकारिता त्यति बढी हुने अधिकारीहरूले बताएका छन् ।

देशभर ९५ वटा खोप केन्द्र

सरकारले पहिलो चरणको खोप अभियानका लागि देशभरका ९५ अस्पतालमा खोप केन्द्र सञ्चालन गर्ने भएको छ । उपत्यकाका तीन जिल्लामा १७, मोरङमा तीन, कास्की र बाँकेमा दुई–दुई तथा बाँकी ७१ जिल्लामा एक–एक केन्द्र रहनेछन् । यसपछि १७ प्रतिशत नागरिकलाई खोप दिँदा भने केन्द्रको संख्या बढाइनेछ ।

नयाँ खोप भएकाले सरकारले जिल्ला अस्पतालहरूलाई केन्द्र बनाउने निर्णय गरेको छ । काठमाडौंमा १२ वटा केन्द्र रहनेछन् । नेपाल मेडिकल कलेज जोरपाटी, शिक्षण अस्पताल महाराजगन्ज, प्रहरी अस्पताल, वीरेन्द्र सैनिक अस्पताल, सशस्त्र प्रहरी अस्पताल, वीर अस्पताल, कीर्तिपुर आयुर्वेद रिसर्च सेन्टर, टेकु अस्पताल, प्रसूतिगृह थापाथली, सिभिल अस्पताल, काठमाडौं मेडिकल कलेज र गंगालाल अस्पतालमा केन्द्र रहनेछन् ।

त्यस्तै, भक्तपुरमा कोरिया मैत्री अस्पताल र भक्तपुर अस्पतालमा खोप केन्द्र रहनेछ । ललितपुरमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, किस्ट मेडिकल कलेज र नेपाल क्यान्सर अस्पताल हात्तीवनमा केन्द्र रहनेछ ।

सरकारले पहिलो चरणमा कुल जनसंख्याको तीन प्रतिशत अर्थात् नौ लाख ११ हजार नागरिकलाई खोप लगाउने योजना बनाएको थियो । तर, भारतबाट अनुदानमा १० लाख डोज खोप मात्रै आएको छ । एकजनालाई दुई डोज खोप लगाउनुपर्छ । १० देखि १५ प्रतिशत खोप खेर जान्छन् । यस हिसाबले करिब चार लाख नागरिकले मात्रै पहिलो चरणमा खोप पाउँछन् । तर, सरकारले खेर नजाने गरी चार लाख ३० हजार नागरिकलाई खोप दिने योजना बनाएको छ ।

स्वास्थ्यसचिव लक्ष्मण अर्यालका अनुसार पहिलो चरणमा फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मी, एम्बुलेन्स र शववाहनका चालक, महिला स्वास्थ्य स्वयंसेविका, जेलमा रहेका व्यक्ति र उनीहरूको सुरक्षामा खटिएका सुरक्षाकर्मी, विमानस्थल र नाकामा काम गर्ने कर्मचारी र त्यहाँ खटिएका सुरक्षाकर्मीलाई खोप दिइनेछ ।

स्वास्थ्य स्वयंसेविकासहित दुई लाख २५ हजार स्वास्थ्यकर्मीको संख्या छ । ३० प्रतिशत स्वास्थ्यकर्मी ग्रामीण क्षेत्रमा कार्यरत छन् । जिल्ला अस्पतालमा मात्रै खोप केन्द्र राखिँदा महामारीमा ग्रामीण क्षेत्रमा खटिएका स्वास्थ्यकर्मीहरू खोपबाट वञ्चित हुने स्वास्थ्य मन्त्रालयका एक अधिकारीले बताए । ‘खोप दिन जिल्लामा मात्रै केन्द्र राखेपछि झन्डै आधा संख्यामा स्वास्थ्यकर्मी र स्वयंसेविका खोप पाउनबाट वञ्चित हुनेछन्,’ ती अधिकारीले भने ।

सुदूरपश्चिम प्रदेशका क्षेत्रीय स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थीले पनि जिल्लामा मात्रै केन्द्र राखेर खोप सेवा सञ्चालन गर्नु न्यायसंगत नभएको बताए । ‘सदरमुकाममा केन्द्र राख्दा खोप लगाउनकै लागि स्वास्थ्यकर्मीहरू तीन–चार दिन हिँडेर जिल्ला अस्पतालमा आउनुपर्ने हुन्छ,’ उनले भने, ‘अछाम, दार्चुला, बझाङ, बैतडीलगायतका जिल्लामा तीनदेखि चार दिनसम्म हिँड्दै सदरमुकाम आउनुपर्ने बाध्यता छ ।’

प्रत्येक जिल्लामा पाँचदेखि ६ ठाउँ खोप केन्द्र राखेर अभियान चलाउन विज्ञहरूले सुझाब दिए पनि मन्त्रालयले अस्वीकार गरेको छ । अधिकारीहरूले काठमाडौंमा मात्रै ५० ठाउँमा खोप केन्द्र राख्न सुझाब दिएका थिए । स्वास्थ्य मन्त्रालयले प्रदेश र जिल्लामा खोप सञ्चालनका लागि ६२ करोड रुपैयाँ बजेट पठाएको छ । नयाँ पत्रिकामा समाचार प्रकाशित छ ।