काठमाडौँ । ईन्टरनेशनल ट्रान्सपोर्ट वर्कस फेडेरेशनका महासचिव स्टिफन कटनलाई सम्मान गरिएको छ । नेपाल यातायात मजदुर सङ्घ, नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन र अखिल नेपाल यातायात मजदुर सङ्घले काठमाडौँमा एक समारोहको आयोजना गरि ईन्टरनेशनल ट्रान्सपोर्ट वर्कस फेडेरेशन बेलायतका महासचिव कटनलाई सम्मान गरेको हो । कार्यक्रममा नेपाली काँग्रेसका सहमहामन्त्री बद्री पाण्डेले विश्वस्तरको श्रमिक नेता स्टिफन नेपाल आउनु नेपाली श्रमिकको लागि गौरवको विषय भएको बताउनुभयो ।
कटनकोे नेपाल आगमनले नेपाली मजदुर आन्दोलनलाई बल पुग्ने उहाँको भनाई थियो । सार्क ट्रेड युनियनका महासचिव लक्ष्मण बस्नेतले स्टिफनको नेपाल आगमनले नेपाली श्रमिकले विश्व श्रमिकको साथ र सहयोग पाएको बताउनुभयो । फेडेरेशनका महासचिव कटनले नेपाली श्रमिकले आफूलाई गरेको मायाले आफू निकै खुशी रहेको बताउनुभयो । “म हिजो पनि, आज पनि र भोलि पनि तपार्इँ नेपाली श्रमिकको पक्षमा हुनेछु,”– उहाँले भन्नुभयो ।
फेडेरेशनका सदस्य एवम् नेपाल ट्रेड युनियन काँग्रेसका उपाध्यक्ष अजयकुमार राईले नेपालको श्रमिकको हक हित र अधिकारको पक्षमा आवाज उठाउने श्रमिक नेता स्टिफनको आगमनले नेपाली श्रमिकलाई खुशी मिलेको बताउनुभयो । ईन्टरनेशनल ट्रान्सपोर्ट वर्कस फेडेरेशनमा विश्वका १५३ देशमा हवाई, रेल, सडक, पानीजहाज, बन्दरगाहालगायतमा काम गर्ने श्रमिकका दुई करोड सदस्य आवद्ध छन् । उक्त फेडेरेशनमा विश्वका ७५० युनियन आवद्ध रहेका छन् । फेडेरेशनको १२७ वर्षको ईतिहासमा प्रथम पटक सो संस्था बाट कार्यकारी महासचिव नेपाल आउनुभएको हो ।