नेविसंघ नेताको खल्ती भित्र सिमित नहोस्

554

पारस अवस्थी । ५० वर्ष भन्दा लामो इतिहास बोकेको नेपाल विद्यार्थी संघले विपिन कोइराला, शेर बहादुर देउवा, विमलेन्द्र निधि हुँदै दुजाङ शेर्पासम्म आइपुग्दा निर्वाचित, सर्वसम्मत र मनोनीत समेत गरेर १९ जनालाई सभापतिको रुपमा पाएको छ । १९ जना सभापति पाएको नेविसंघमा ११ जना सभापति मात्र अधिवेशन गर्न सफल हुनुभएको छ । केन्द्रीय अधिवेशन उद्घाटन भएर पनि विवादका कारण सम्पन्न हुन नसकेका उदाहरणहरु समेत नेविसंघमा भेटिन्छन् । २०७३ सालमा सम्पन्न ११ औं महाधिवेशनबाट नैन सिंह महर नेतृत्वको केन्द्रीय समिति निर्वाचित भए पश्चात् नेपाल विद्यार्थी संघको महाधिवेशन सम्पन्न हुन सकेको छैन र केन्द्रीय समितिले पुर्णता पाउन सकेको छैन ।

२०७६ माघमा छ महिना भित्र महाधिवेशन सम्पन्न गर्ने जिम्मेवारी सहित राजिब ढुंगानालाई तदर्थ समितिको सभापतिको रुपमा मनोनीत गरिएको थियो । पुर्ण केन्द्रीय समिति विस्तार हुन नसक्दा १० जना पदाधिकारीमा सिमित भएको उक्त तदर्थ समितिलाई सभापति राजिब ढुंगाना नेपाली काङ्ग्रेस केन्द्रीय सदस्यमा निर्वाचित भए पश्चात् भंग गरि २०७८ चैत्रमा दुजाङ शेर्पालाई सभापतिको रुपमा मनोनीत गरिएको थियो । नेविसंघको विधानमा उल्लेख भए बमोजिम ३२ वर्षे उमेर हदबन्दी सहितको अथवा ३२ माथिको सभापति आउने भन्ने बहस र चर्चा परिचर्चाको विचमा ३२ वर्षे उमेर हदलाई स्वीकार गर्दै नेपाली काङ्ग्रेसका सभापति शेर बहादुर देउवाले दुजाङ शेर्पालाई सभापतिमा मनोनीत गर्नुभएको थियो । ३२ वर्ष मुनिका विद्यार्थी नेताहरु नेतृत्व तहमा आउँदा आम विद्यार्थीहरु सँग पहुँच बढ्ने र विद्यार्थीका समस्या र शैक्षिक सुधारका मुद्दामा नेविसंघले प्रभावकारि भुमिका खेल्न सक्ने विश्वास र आशा बोक्दै तमाम विद्यार्थीहरुले नेपाली काङ्ग्रेसको उक्त कदमको स्वागत समेत गरेका थिए ।

स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभाको अन्तिम मतपरिणाम घोषणा भएको ३ महिना भित्र महाधिवेशन सम्पन्न गर्ने जिम्मेवारी प्रदान गरिएता पनि अब १ महिनाको समय मात्रै बाँकी रहदा भागबन्डाको नाममा पुर्ण केन्द्रीय समिति अझैपनि आउन सकेको छैन । नेपाली काङ्ग्रेसको सभापति समेत रहनु भएका शेर बहादुर देउवा लगायत अधिकांश पदाधिकारी र सदस्यहरु नेविसंघ पृष्ठभुमिबाट आएको भएता पनि नेविसंघलाई पूर्णता दिने र महाधिवेशन सम्पन्न गर्ने दिशा तर्फ सक्रिय नहुनुले नेविसंघका नेता कार्यकर्ता हरुको आशालाई निराशामा बदलेको छ । नेपाली काङ्ग्रेसमा उर्जावान नेता उत्पादन गर्ने नर्सरीको रुपमा नेविसंघ लाई हेर्ने गरिन्छ र नेविसंघ पृष्ठभुमिबाट आएका नेताहरूको नेपाली काङ्ग्रेस केन्द्रीय कार्य समितिमा समेत बाक्लो उपस्थिति हुने भएका कारण आफू शक्तिशाली बन्नका निम्ति नेताहरूले नेविसंघमा हस्तक्षेप गर्ने गरेको इतिहास छ ।

निरंकुश पञ्चायत, एकतन्त्रीय ज्ञानेन्द्र शासन र प्रतिगामी शक्तिहरुको विरुद्धमा लड्ने नेविसंघलाई बन्धक बनाएकोमा मुख्य रुपमा केन्द्रीय सम्पादन समितिले आम माफी मागेर छिटोभन्दा छिटो नेविसंघलाई पुर्णता दिएर महाधिवेशन उन्मुख बनाउनु नै अबको सबैभन्दा उत्कृष्ट विकल्प रहेको छ । नेतृत्वको पर्खाइमा बसेका जोस, जागर, सिर्जना र ईच्छा शक्तिले भरिपुर्ण नेविसंघलाई निर्वाचनमा सदुपयोग गर्न नसक्दा नेपाली काङ्ग्रेसले सामानुपातिक तर्फको मत घटाउन पुगेको छ । आदरणीय नेताहरुलाई म प्रश्न गर्न चाहन्छु, वर्षौं सम्म अधिवेशन नभएर समिति विस्तार नभएको, समानान्तर समितिहरु भएको परिस्थितिमा समेत कर्तव्यबोध गरेर संगठनका गतिविधि सञ्चालन गरिरहेका, विभिन्न अफ्ठ्यारा परिस्थितिहरु संग जुद्धै निरन्तर संघर्ष गरिरहेका कार्यकर्ताहरुले नेतृत्व चाहियो भनेर हार गुहार गरिरहेको देख्दा यहि पृष्ठभुमिबाट पार्टीमा पुग्नुभएका तपाईंहरुलाई अलिकति पनि भावुक बनाउँदैन ।
लोकले चाहेको र खोजे अनुरुप चल्न सके मात्रै लोकतान्त्रिक भइन्छ, त्यसकारण लाखौं विद्यार्थी र कार्यकर्ताको चाहना बमोजिम पुर्ण कार्यसमिति गठन गरि निर्धारित समय सिमा भित्र विधिवत् महाधिवेशन सम्पन्न नगरे स्वतः समिति भंग गर्ने निर्देशन दिनबाट नेपाली काङ्ग्रेस केन्द्रीय समितिलाई पछाडि हट्ने छुट अलिकति पनि छैन । अधिवेशनलाई पर धकेल्न खोज्ने विद्यार्थी नेता कोहि छन् भने पार्टीका नेताहरूले प्रोत्साहित गर्नुको सट्टा निरुत्साहित गरे मात्रै यो संगठन सहि गतिमा अगाडि बढ्नसक्छ । नेविसंघ लाई नेतृत्व विहिन बनाउन खोज्नेहरु जो कोहिलाई पनि आश्रय दिने आश्रय स्थलहरु अब भत्काउन जरुरी छ।

नेविसंघ केन्द्रीय समितिले पुर्णता पाउने कुराले काङ्ग्रेस वृत्तमा चर्चा चलिरहेको समयमा अब बन्ने नेविसंघको जिम्मेवारी र चुनौती बारे ध्यानाकर्षण सहित थोरै चर्चा गर्न चाहन्छु ।

त्रिभुवन विश्वविद्यालयले यहि चैत्र ५ गतेका दिन स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको घोषणा गरेर निर्वाचनको तयारीलाई तिव्र बनाएको छ । केन्द्र, प्रदेश, जिल्ला, विश्वविद्यालय, क्याम्पस, पालिका लगायत विधान बमोजिमका सबै तहका समितिहरु विस्तार गरेर समितिहरुलाई चलायमान बनाउन सके मात्रै अब आउने स्ववियु निर्वाचनमा नेविसंघलाई विजय प्राप्त गर्न सहज वातावरण तय हुनेछ । लोकतान्त्रिक पार्टी भित्र फरक विचार र दृष्टिकोण हुनु स्वभाविक मानिन्छ । स्ववियु निर्वाचनको मिति नजिकिदै गरेको यस संवेदनशिल समयमा कुनै पनि तहमा समिति विस्तार हुँदा योग्य उमेदवारलाई पाखा लगाएर मेरो गुट र समुहको मान्छे नभए समिति नै नबनोस् भन्ने ढंगले यदि कोहि अगाडि बढ्छ भने नेविसंघ ले त्यस्ता व्यक्तिहरुलाई कार्बाही गर्नका निम्ति तयार हुनपर्ने आवश्यकता भएको छ । वाक स्वतन्त्रताको लागि संघर्ष गरेको राजनीतिक दलमा आफ्ना कुराहरु अभिव्यक्त गर्ने, गलतको आलोचना गर्ने र हक अधिकारको लागि बोल्ने कुरामा कसैलाई पनि बन्देज लगाउनुहुँदैन । तर स्वतन्त्रताको नाममा अनुशासनको दायराबाट विचलित हुने छुट कसैलाई पनि दिनुहुँदैन ।

अब बन्ने नेविसंघले नेविसंघ र नेपाली काङ्ग्रेसको परिधिभित्र मात्र सिमित नभएर विद्यार्थी राजनीति प्रति नै वितृष्णा भैरहेको वर्तमान परिस्थितिलाई आशा, सम्भावना र परिवर्तनको दिशा तर्फ ढाल्नु पर्ने परिस्थितिको सिर्जना गर्ने जिम्मेवारी समेत काधमा बोक्न पर्ने भएका कारण समिति विस्तार गर्ने क्रममा विशेष सजग हुन आवश्यक छ । नेविसंघ प्रति आस्थावान एवम् आम विद्यार्थीमा नयाँ आशाको किरण र उर्जा भरेर विद्यार्थीका एजेण्डा बोक्न सक्ने भन्दा पनि नेताको चाकरी र चाप्लुसी गर्न बिहान सबेरै नेताको निवासमा हाजिर हुनेहरु केन्द्रीय समितिको लागि प्राथमिकतामा परि रहेको कुराले देशका विभिन्न भुभागहरुमा संगठन निर्माण र विद्यार्थी हितका लागि योगदान पुर्याउने इमानदार कार्यकर्ताहरुलाई निराश र दुखित बनाएको छ ।

वैचारिक स्पष्टता, संगठन निर्माणमा योगदान, शैक्षिक सुधार र विद्यार्थी अधिकारको स्थापनार्थ गरेको संघर्षको आधारमा बन्न पर्ने नेविसंघमा नेताहरुको खल्तीबाट बुझाइएको सूचीलाई प्राथमिकतामा राख्न लागिएका परिदृश्यहरुले दुरदराजमा संगठन गरेर विद्यार्थी सँग जोडिएका तर नेताहरु सँग पहुँच नभएका कार्यकर्ताले नेविसंघमा महत्वपूर्ण भूमिका पाउने कि नपाउने भन्ने गम्भीर बहस र चाँसोको विषय बन्न पुगेको छ । प्राविधिक क्याम्पसहरु र विशेष रुपमा कृषि तथा वन विज्ञान क्याम्पसका इकाई समितिहरुले विवाद रहित ढंगबाट समयमै अधिवेशन सम्पन्न गरेर नेतृत्व हस्तान्तरण, संगठन निर्माणको लागि रगत पसिना बगाएर गर्वका साथ नेविसंघ हो भन्ने वातावरण सिर्जना गर्नुका साथै खेलकुद लगायत विभिन्न सिर्जनात्मक र रचनात्मक कार्यहरुमा संलग्न भइ नेविसंघलाई सदाबहार रुपमा अब्बल साबित गरेका प्रशस्त उदारहणहरु छन् । प्राविधिक क्याम्पसहरु, दुरदराजका क्याम्पसहरु र संगठनको लागि अहोरात्र खटिने इमानदार कार्यकर्ताहरुले पहुँच नपुगेको आधारमा जिम्मेवारीबाट वञ्चित हुनपर्ने अवस्था आएमा नेविसंघ आम विद्यार्थीको आशा र भावना संग कहिल्यैपनि जोडिन सक्दैन ।

देशका शैक्षिक, सामाजिक र राजनीतिक आन्दोलनहरुको नेतृत्व गरि क्रान्तिको इतिहास बोकेको नेविसंघलाई उपत्यका भित्र मात्र केन्द्रित बनाएमा नेविसंघ चलायमान हुन सक्दैन । समावेशी सिद्धान्तको आधारमा सम्पुर्ण विश्वविद्यालय र क्याम्पसहरु, लगायत दुरदराजका विद्यार्थीको समेत प्रतिनिधित्वलाई मध्यनजर गर्दै नेविसंघ प्रति आस्थावान लाखौं विद्यार्थीहरुलाई हौसला र उर्जा प्रदान गरि धरासायी अवस्थामा पुगेको विद्यार्थी आन्दोलनलाई जिवन्त बनाउने कुरालाई मनन गरि नेविसंघ लाई पूर्णता दिनका निम्ति नेविसंघ केन्द्रीय सभापति दुजाङ शेर्पा ज्यू र मातृ पार्टी नेपाली काङ्ग्रेसको केन्द्रीय समितिलाई केन्द्रीय नेताहरु संग पहुँच नपुगेका आम कार्यकर्ताको तर्फबाट ध्यानाकर्षण गराउदै नेविसंघले आफ्नो विरासत र इतिहासलाई कायम राखेर अगाडि बढ्ने कुरामा आशा व्यक्त गर्दछु । लेखक नेविसंघ लमजुङ कृषि क्याम्पसका निवर्तमान सभापति हुन् ।