टेकु अस्पतालका निर्देशक डा. भण्डारीले लगाएसँगै उत्साहका साथ शुरू भयो कोरोनाको खोप सुरु

181

काठमाडौं । विश्वव्यापी महामारी बनेको कोरोनाविरुद्धको खोप अभियान नेपालमा आजबाट शुरू भएको छ । कोभिड–१९ विरुद्ध आजदेखि नेपालमा पनि खोप लगाइएको छ । टेकु अस्पतालका कार्यकारी निर्देशक सागरराज भण्डारीले पहिलो खोप लगाएर खोपको शुभारम्भ गरिएको हो । देशभरका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलगायतलाई पहिलो खोपको प्राथमिकता दिइने सरकारको तयार छ ।

खोप अभियान शुरू भएपछि आशासँगै उत्साह छाएको छ । नेपालमा कोरोना संक्रमणको पहिलो केस गत वर्षको माघ १० गते भेटिएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल रूपमा बिहान १० बजेर २३ मिनेटमा खोप अभियानको औपचारिक शुभारम्भ गरेका हुन् ।

प्रधानमन्त्रीले खोप अभियानको आरम्भ गरेलगत्तै देशभरका १२० खोप केन्द्रहरुमा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइ कर्मचारी, शववाहन चालक, एम्बुलेन्स चालकलगायतलाई खोप दिन थालिएको छ ।

आज एकै दिन १२ हजार जनाले खोप लगाउने शुभारम्भ समारोहमा स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले जानकारी दिए । नेपाल दक्षिण एशियामा कोभिड विरुद्ध खोप अभियान चलाउने भारतपछि दोस्रो मुलुक भएको छ । भारतले नेपाललाई १० लाख डोज खोप अनुदानमा दिएको छ ।