बामदेव गौतमद्धारा नेकपा एकताको राष्ट्रिय अभियान घोषणा, यस्तो छ अवधारणा ?

335

काठमाडौं । नेकपा विभाजनपछि मझधारमा रहेका वामदेव गौतमले आज नेकपाको एकताका लागि राष्ट्रिय अभियानको घोषणा गरेका छन् ।
ललितपुरको धोबीघाटमा आयोजित कार्यक्रम मार्फत गौतमले नेकपा मिल्नुको विकल्प नभएको भन्दै प्रचण्ड र ओलीलाई मिलाउने तागत आफूसगँ रहेको दाबी गरे ।

नेकपाको एकीकरण अभियान सर्वोच्चको फैसला अघि र त्यस पछि गरेर दुई चरणमा सम्पन्न गरिने गौतमले बताए । प्रतिनिधिसभा पुनस्स्थापना भएमा वा निर्वाचन भएमा दुवै अवस्थामा भिन्न–भिन्न केन्द्रअन्तर्गत पार्टी सञ्चालन र कार्यगत एकताको आधारमा निर्वाचनमा सामेल हुने, सरकार सञ्चालन गर्ने अवसर प्राप्त भएमा संयुक्त सरकार सञ्चालन गर्ने प्रक्रिया अवलम्बन गरिने पनि अवधारणापत्रमा उल्लेख छ । त्यस्तै दुई समूह एक नभई विभाजन भएमा दुवै पार्टीसँग मित्रवत् सम्बन्ध राख्ने पनि अवधारणापत्रमा उल्लेख गरिएको छ ।

गौतमले कार्यक्रममा पेश गरेको अवधारणाको पूर्ण विवरण यस्तो छः
जनताको अपार समर्थन, आशा र भरोशाको हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० आज राजनीतिक रुपमाविभाजित भएको छ।पार्टीका दुई अध्यक्षबीचदेखापरेका अन्तर्विरोधहरुको व्यवस्थापन गर्न दुबै अध्यक्षसहित केन्द्रीय सचिवालयअसफल भए पछि पार्टीका कुनै पनि निकायमा छलफलै नगरी एउटा अध्यक्षसहितका प्रतिनिधिसभा सदस्यहरु छापामार शैलीमा प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव प्रतिनिधिसभा सचिवालयमा लैजाने र अर्का अध्यक्षले अविश्वास प्रस्तावको सामना गर्नुको सट्टा प्रतिनिधिसभा नै विघटन गर्ने जस्ता दुखद घटनाबाट नेपालको इतिहासमा सबभन्दा शक्तिशाली संगठनका रुपमा देखापरेको हाम्रो पार्टी विभाजनको दुर्घटनामा परेको छ ।

कानूनी रुपमा विभाजन नभइ सकेको अवस्थामा दुबै नेताहरु अहिले नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का आधिकारिक प्रतिनिधि हामी हौं भन्दै निर्वाचन कार्यालयमा दावी गरिरहनु भएको छ । उहाँहरुले अन्तिम प्रहार गर्नु पूर्व पार्टीको एकतालाई जोगाउँदै नेतृत्व तहमा देखापरेका कार्यशैलीसंग सम्बन्धित अन्तरविरोध हल गर्ने तर्फ गम्भीरता पूर्वक लाग्न चाहनु भएन ।

झण्डै १० लाख पार्टी सदस्यहरुको कुरै नगरौं अविश्वास प्रस्ताव र प्रतिनिधिसभा भंग गर्ने सम्बन्धमा ९ जना सदस्य रहेको तथा पार्टीको मुख्य नेतृत्व रहेको सचिवालयलाई जानकारीसम्म पनि दिन आवश्यक ठान्नु भएन । पार्टी र राष्ट्रिय राजनीतिमा उथलपुथल हुनसक्ने घटना घट्नु पूर्व पार्टीको कुनै निकायबाट निर्णय गर्नुपर्ने आवश्यकता ठान्नु भएन । नेपालको राजनीतिमा महत्वपूर्ण भूमिका निर्वाह गरेका दुई ठूला कम्युनिष्ट पार्टीको एकीकरणका निम्ति सामान्य अवस्थाको भन्दा फरक वैधानिक व्यवस्था र दस्तावेजहरु तयार गरिएको थियो । जस्मा पार्टीको नेतृत्व गर्न दुई अध्यक्ष प्रणाली लागु गरियो ।

त्यसैगरी केन्द्रीय तहका पार्टी कमिटीहरुको अध्यक्षता आलोपालो गर्ने व्यवस्था भयो । एकीकरण भएको दिनदेखि एकताको महाधिवेशन सम्पन्न नहुँदासम्म सबै बैठकहरु सहमति र समझदारीमा संचालन गर्ने र सहमतिकै आधार निर्णय गर्ने व्यवस्था गरियो । त्यति मात्र होइन आधिकारिक पत्राचार र निर्देशन जारी गर्दा पनि दुबै अध्यक्षको हस्ताक्षर हुनुपर्ने व्यवस्था गरियो ।यी सबै व्यवस्था राखिनुको एउटै कारण, भिन्न भिन्न पृष्ठभूमि र स्कूलीङबाट विकसित भएका पार्टीहरुको एकीकरण सम्बेदनशील हुन्छ र पार्टी नेताहरुको व्यवहारबाट सम्वेदनशीलतामा आँच नआओस र पार्टी एकीकरणमा बाधा उत्पन्न नहोस भन्ने नै थियो। तर विगत एक वर्षदेखि पार्टीमा एकीकरणको संवेदनशीलतालाई ख्याल नगरी सचिवालयदेखि स्थायी कमिटी र केन्द्रीय कमिटीसम्म चरम गुटबन्दीपूर्ण क्रियाकलापहरु भए । यो गुटबन्दीपूर्ण क्रियाकलापमा सचिवालयका सबै कमरेडहरु यो वा त्यो पक्षबाट सामेल हुने स्थिति बन्यो ।

विवादका विषयहरु पार्टी एकीकरणका वेला गरिएका सहमति र समझदारी कार्यान्वयन नहुनु, पार्टी घोषणापत्रको आधारमा नीति कार्यक्रम र बजेट नआउनु र सरकारले गर्ने राजनीतिक निर्णयहरुमा पार्टी नेतृत्वसंग परामर्श नगर्नु आदि थिए । तर ती सबै पार्टीका आन्तरिक विवादका विषयहरु थिए । अधिकांश विषयहरु कार्यशैलीसंग सम्बन्धित थिए । नेतृत्वदायी पार्टी कमिटीमा मौखिक छलफलबाट मात्र गम्भीरता आउन नसकेको महशुस गर्दै लिखित दस्तावेजहरु र प्रतिदस्तावेजहरु प्रस्तुत गरिए । ती दस्तावेजहरुमा गम्भीरतापूर्वक कहिल्यै छलफल हुन सकेन ।

एक आपसमा मनमुटाव झनझन बढेर जान थाल्यो र आखिरमा प्रधानमन्त्रीका विरुद्ध अविश्वासको प्रस्ताव र त्यसका विरुद्ध प्रतिनिधिसभाको विघठनसम्मका दुर्घटनाहरु हामी अहिले वेहोरिरहेका छौं । अहिले औचित्य पूष्टी हुने एउटा पनि कारण विना पार्टी विभाजन गर्न कमरेडहरु लागि रहनु भएको छ ।