कार्यकर्ता हत्याको विरोधमा आन्दोलन चर्काउन तरुण दल अध्यक्षको निर्देशन

94

काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष जीतजंग बस्नेतले बझाङ जिल्ला समितिलाई कार्यकर्ता हत्याको विरोधमा अन्दोलन गर्न निर्देशन दिएका छन् । उनले प्रेस विज्ञप्ति जारी गरेर तरुण दल छबिसपाथिभरा गाउँपालिका सदस्य अमृत सिँहको हत्याको विरोधमा आन्दोलन चर्काउन जिल्ला समितिलाई निर्देशन दिएका हुन् ।

“घटनामा संलग्न सम्पूर्ण अपराधीहरुलाई कानुनी कठघरामा ल्याइ हदैसम्मको कारबाही नगरेसम्म नेपाल तरुण दल केन्द्रीय समिति दलको बझाङ जिल्ला समितिलाई कडाभन्दा कडा आन्दोलनका कार्यक्रमहरु अगाडि बढाउन निर्देशन गर्दै दलले गर्ने आन्दोलनबाट सिर्जना हुने कुनै पनि परिस्थितिको जिम्मेवार सरकार आफैं हुनुपर्ने चेतावनीसमेत यसै प्रेस विज्ञप्तिमार्फत् दिन चाहन्छ,” विज्ञप्तिमा भनिएको छ ।

बझाङको छबिसपाथिभरा गाउँपालिकाको बन्नीचौर माध्यमिक विद्यालय व्यवस्थापन समितिको निर्वाचनपछि घर जाँदै गरेका सिंहको मंगलबार बेलुकी सत्तारुढ नेकपाका कार्यकर्ताहरुले खुँडा प्रहार गरि हत्या गरेका थिए ।

तरुण दलले हत्यामा ज्ञानबहादुर कडायत, प्रकाश ऐडी लगायतका नेकपाका कार्यकर्ताहरुको संलग्नता रहेको दाबी गरेको छ । तरुण दलकाअनुसार उनीहरुले गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष विकास ऐडीको सरकारी मोटरसाइकल प्रयोग गरेर सिँहको हत्या गरेका हुन् ।

तरुण दलले हत्याकाण्डमा संलग्न अपराधीहरुलाई तत्काल कानुनी कठघरामा ल्याएर हदैसम्मको कानुनी कारबाही गर्न र जनताको जिउ–धनको सुरक्षा गरि शान्ति, अमन, चयन कायम गर्न सरकारसँग माग गरेको छ ।

No photo description available.