पुर्व माओवादी नेता रायमाझीको आरोपः गठबन्धनको आडमा भएर पनि तेस्रो दल माओवादीको फूर्ति बढ्यो

31

अर्घाखाँची, ४ चैत । नेकपा एमालेका केन्द्रीय सचिव तथा पूर्वमन्त्री टोपबहादुर रायमाझीले गठबन्धनले गर्दा तेस्रो स्थानमा रहेको नेकपा माओवादीको सबैभन्दा बढी फूर्ति बढेको बताएका छन् ।

पुर्व माओवादी नेता समेत रहेका रायमाझीले राष्ट्रिय युवा संघ नेपाल अर्घाखाँचीको नवौं जिल्ला अधिवेशनको शनिबार सन्धिखर्कमा उद्घाटन कार्यक्रममा संसद्‌मा रहेका ठूला दल सरकार बाहिर रहेर तेस्रो दलले सरकारको नेतृत्व गर्नु गठबन्धनको उपज भएको उनको टिप्पणी थियो । अरु दलकै सहारामा संसद्‌मा तेस्रो दल रहेको पार्टीको सबैभन्दा बढी फूर्ति भएको उनले बताएका छन् ।

रायमाझीले ठूला पार्टी एकातिर छन्, गठबन्धनका कारण तेस्रो माओवादी केन्द्रले धेरै फूर्ति लगाएको आरोप लगाए । उनले वर्तमान गठबन्धन धेरै समय नटिक्ने र यसले देशको विकास गर्न नसक्ने दाबी गरे ।

आउँदो चुनावमा संसद्‌मा ५१ प्रतिशत एमाले सांसद बनाउनका लागि मिसन ग्रासरुट कार्यक्रम सञ्चालन भएको रायमाझीले दाबी गरे । पार्टीलाई कार्यगत एकता, संगठनको स्थिति मजबुद, वैचारिक, राजनीतिकरुपमा बलियो एमाले बनाउन ग्रासरुट अभियान सुरु भएको उनको भनाइ छ ।

पाँच दलीय गठबन्धन भएर घेराबन्दी गर्दा पनि लोकप्रिय मतका आधारमा पहिलो दल भएको दाबी गर्दै पछिल्लो समय एमालेको विरुद्धमा देशी, विदेशी शक्तिकेन्द्र लागेको उनले बताए । उनले एमाले प्रतिपक्षमा भए पनि देश, जनता, लोकतन्त्र, राष्ट्रियता, विकास, समृद्धि र सुशासनको पक्षमा सधैं रहेको बताए ।