सोसल मिडिया अर्थात् विचौलियाविहीन समाचार !

275

भीम उपाध्याय

परम्परागत घरानियाँ मूलधारे मिडियाको एकाधिकार सोसल मिडियाले तोड्दै लगेको छ । यसबाट प्रत्येक व्यक्ति आफैँ मिडियाकर्मी वा आफैं नै स्रोत वा संवाददाता बनेका छन् । यो प्रत्यक्ष प्रजातन्त्रको अत्याधुनिक रूप पनि बनेको छ। प्रत्यक्ष प्रजातन्त्रले सत्ताधारी र राज्य सञ्चालकहरूको पारम्परिक मिडियाले भन्दा बढी गिदी खल्बल्याइरहेको हुन्छ र छ, जो देखिएकै छ।

पुरानो मिडियाले स्रोतको हवाला दिएर तोडमरोड गर्दै स्वार्थका आधारमा समाचार पस्कन्छन् भने अहिले सोसल मिडियामा स्रोत आफैं नै बोलिरहेको छ । सोसल मिडिया विचौलियाविहीन समाचार हो । यसैले राज्य, सरकार वा स्वार्थी तत्वहरू मिलेर सोसल मिडियाकर्मीमाथि नियन्त्रण लाद्न खोज्छन्, खोजिरहेका छन् र खोजिरहने छन् ।

जनताको इमान्दार सेवा गर्ने नेता जुनकुनै दलका हुन्, आदरणीय हुन्छन् । राजनीति जनसेवामा होस्, दल चाहे जेसुकै होस् । जब जनसेवा नै प्रमुख ध्येय बन्छ, राजनीति गतिशील भइहाल्छ । जड राजनीति कहिल्यै जनसेवी हुन सक्दैन । किनभने जनताका समस्या र दुःख स्वयं गतिशील भइरहन्छ, जसको समाधान गतिशील राजनीतिले मात्र गर्ने सामर्थ्य राख्छ । कुनै राजनीतिक संगठनमा आवद्ध हुनु भनेको आस्था हैन, त्यो कुनै काम संगठित भएर गर्दा मात्र गन्तव्य हासिल गर्न सकिन्छ भन्ने प्रकृया र विधि मात्र हो ।

लोकतन्त्रमा आस्था हुनु मानवको स्वभाव हो तर अमूक दलमा आस्था हुनु लोकतान्त्रिक संस्कार होइन, हुँदैन। दलीय आवद्धतालाई आस्था ठान्यो भने अन्ततः उ बहुलाई छाड्छ। किनभने गतिशील राजनीतिक दलमा आस्था भन्ने कुरै हुँदैन, नत्र त्यो दल नै हुँदैन । त्यस्तो सोचाइको जमाना उहिल्यै मरिसकेको हो तर बिडम्बना नेपालमा जिउँदो राख्न खोजिन्छ । त्यसैले यहॉ लोकतन्त्रको फुटबलको हावा सधैं फुस्किरहेको पाइन्छ ।

म सोसल मिडियामा सक्रिय रहेको त्यो बेलादेखि हो, जुन बेलादेखि नेपालमा यसको सुरूवात भएको थियो । म अक्सर कतिपय स्टाटस आफ्नो कुरामा मत नराखी लेख्ने गर्छु, पाठकले आफैं बोलुन् भनेर लेख्छु। तिनको मनमा के तरंग ल्याउँछ भन्ने उद्देश्यले लेख्ने गरेको हुन्छु । पाठकहरूको प्रतिक्रियाले म तिनको मनमा गढेको धारणा, जडता वा भावनाबाट अवगत हुन्छु । ती प्रतिक्रियाप्रति पनि म त्यति साह्रो जवाफ लाउन्न, जबसम्म मलाई ठाडै व्यक्तिगत तारो बनाइन्न वा अनर्गल आक्षेप लगाइन्न वा बोल्नैपर्ने गरी प्रष्ट पारिदिनुपर्ने हुन्छ ।

सबै त्यस्ता प्रतिक्रियाको प्रतिक्रिया गर्नु बेकार हो तर पनि नदिई नहुने अवस्थामा म प्रतिक्रिया पनि दिने गर्छु । म लगभग सबै प्रतिक्रिया पढ्ने गर्छु । मैले प्रतिप्रतिक्रिया गर्नुको कारण प्रतिक्रिया लेख्नेहरूलाई भन्दा पनि प्रतिक्रिया पढ्ने अन्य पाठकलाई बढी रोचक हुन्छ होला भनेर हो । दूषित प्रतिक्रिया दिनेलाई भने मेरो प्रतिक्रिया झन् ठहरै पार्ने वा घोचक हुन सक्छ ।

नेपाल सतिले हैन, नेपालीहरूको आफ्नै मतिले सरापेको देश हो । सतिको कृपाले त आजसम्म नेपाल अक्षुण्ण, शान्त मुलुक रहँदै आएको हो। नेपालीहरूले आफ्नो मतिले सरापेकोले अनावश्यक, अनाहक, कुतकुति निम्त्याएर नचिलाएको छाला कन्याईकन्याई दुःख बेसाइरहेका हुन्छन् ।

मेरो कर्मका कारण मैले र मुलुकले दुःख पाएको हो कि भनेर गम्भीर ध्यान गर्न जरूरी भएको छ । यसले मात्र नेपालीको मति सही दिशामा हिँड्न थाल्ने कल्पना गर्न सकिन्छ ।

(उपाध्याय नेपाल सरकारका पूर्वसचिव हुनुहुन्छ ।)