कांग्रेसले भन्यो ‘प्रतिनिधिसभा विघटनविरुद्धको आन्दोलनमा पार्टी भित्र विवाद छैन’

89

काठमाडौ । नेपाली कांग्रेसले प्रतिनिधीसभा विघटनको विरुद्धमा गर्ने आन्दोलनमा पार्टी भित्र विवाद नभएको स्पष्टाएको छ । पार्टीले सर्वसम्मत निर्णय र एकमतका साथ पार्टी प्रतिनिधिसभा विघटनविरुद्ध निरन्तर आन्दोलनमा रहेको स्पष्ट पारेको छ ।

सभापति शेरबहादुर देउवाका निर्देशनमा महामन्त्री पूर्णबहादुर खड्काले केन्द्रीय कार्यसमितिको बैठकमा प्रस्तुत गरी सर्वसम्मतरुपमा विघटनपछि कांगे्रसले गत पुस १३ र पुस २५ गते तथा यही माघ ३ र माघ ८ गते सङ्घीय निर्वाचन क्षेत्रदेखि वडा तहसम्म प्रदर्शन सम्पन्न गरेको पार्टी कार्यालयका मुख्य सचिव कृष्ण पौडेलले बताए ।

यही माघ १३ गते केन्द्रीय कार्यसमितिको बैठकमा आन्दोलनको अर्को चरणको कार्यक्रम पनि त्यसरी नै सभापति देउवाका निर्देशनमा महामन्त्री खड्काले प्रस्तुत गर्नुभएर बैठकले सर्वसम्मतिले नै पारित गरेको काँग्रेस मुख्यसचिव पौडेलले बताए । कांग्रेस केन्द्रीय समितिको मङ्गलबारको बैठकले यही माघ १९ गते पार्टीका भ्रातृ संस्थाले र माघ २४ गते शुभेच्छुक संस्थाले ७७ वटै जिल्लामा संयुक्तरुपले विरोध प्रदर्शन र विरोधसभाको आयोजना गर्ने निर्णय गरेको थियो ।

यसैगरी आगामी फागुन ३ गते कांग्रेसका जिल्ला कार्यसमितिहरुले जिल्ला सदरमुकाममा विरोध प्रदर्शन र सभा आयोजना गर्ने तथा जिल्ला कार्यसमिति एवं भ्रातृ र शुभेच्छुक संस्थाले यी कार्यक्रमलाई असर नपर्ने गरी अन्य थप कार्यक्रमसमेत आयोजना गर्न सक्ने बैठकको निर्णय छ । केही सञ्चारमाध्यममा कांग्रेसभित्र विद्यमान सन्दर्भ र आन्दोलनबारे विवाद रहेकोे भनी भ्रमपूर्ण समाचार प्रकाशन भएकामा कांग्रेसले आज प्रेस नोट प्रकाशन गरी त्यसलाई स्पष्ट पारेको छ ।

पार्टी भित्र पौडेल आन्दोलनको पक्षमा र सभापति देउवा निर्वाचनको पक्षमा रहँदै आएको चर्चा पछि काँग्रेसले विज्ञप्ति मार्फत स्पष्ट पारेको हो । यद्यपि, काँग्रेसले आन्दोलन तल्लो स्तरमा मात्रै केन्द्रीत गरेको छ ।