जेलबाटै आलमको आतंक : बम विस्फोटका साक्षीले सुरक्षा पाएनन्, बयान फेर्न बाध्य

221

काठमाडौ । रौतहटको फरहदवामा जिउँदै मान्छेलाई इँटाभट्टामा पोलेर हत्या गरेको जघन्य अपराधमा पक्राउ परेका पूर्वमन्त्री मोहम्मद अफताब आलम अहिले पुर्पक्षका लागि काठमाडौंको नख्खु जेलमा छन् । तर, पैसा र प्रभावले जिल्लामा उनको आतंक र त्रास अहिले पनि उस्तै छ । आफूविरुद्ध जाहेरी दिने र सरकारी साक्षी बस्नेहरूलाई आलमले डर, त्रास र आर्थिक प्रलोभन देखाएर प्रभावित गरिरहेका छन् ।

आलमविरुद्ध जाहेरी दिएका सर्लाही गोडैलाका ६० वर्षीय शेख सफी अहमदले पनि आफ्नो बयान फेरेका छन् । यसअघि भट्टामा कोचेर हत्या गरिएका युवाकी पत्नी र ससुराले पनि आलमको दबाब र प्रभाव थेग्न नसकेर बयान फेरेका थिए ।

पहिलो संविधानसभा निर्वाचनमा बुध कब्जा गर्ने योजनासहित अफताब र उनका भाइ महताबले बम बनाउन भारतबाट कालिगढ नै मगाएका थिए । फरहदवा (अहिलेको राजपुर–२) स्थित आलमका काका शेख इन्द्रिसको गोठमा बम बनाउने कालिगढलाई सघाउन स्थानीय युवाहरू पिन्टु भनिने त्रिलोकप्रताप सिंह र मोहम्मद ओसी अख्तरलाई बोलाइएको थियो । तर, निर्वाचनको अघिल्लो दिन २७ चैत ०६४ को साँझ दुर्घटनावश बम विस्फोट भयो ।

बम बनाउने कालिगढको घटनास्थलमै ज्यान गयो, नजिकै रहेका पिन्टु र ओसी घाइते भए । उपचार गर्दा घटना सार्वजनिक हुने डरले उनीहरूलाई इन्जेक्सन दिएर बेहोस बनाइयो र ट्र्याक्टरमा हालेर इँटाभट्टामा पुर्‍याइयो । जहाँ उनीहरूलाई अन्य मृतकसँगै जिउँदै इँटाभट्टामा कोचेर खरानी बनाइयो । ‘युवाहरूको शरीर जिउँदै भट्टामा नछिरेपछि नजिकै दाउरा चिर्ने ठाउँबाट बन्चरो ल्याएर शरीर गिँडिएको थियो,’ परिवारका सदस्यहरूले त्यतिखेर प्रहरीलाई दिएको उजुरीमा भनिएको छ ।

सोही घटनामा बमका छर्रा लागेर सफी अहमद पनि घाइते भएका थिए । तर, उनी उपचार पाएर बाँच्न सफल भए । किनभने उनी आलमका टाढाका आफन्त पनि हुन् । त्यतिवेला उनी आलमकै लागि काम गर्थे । खुट्टा, पेट र छातीमा छर्रा लागेर गम्भीर घाइते भएका सफीलाई आलमकै सहयोगमा तत्काल भारतको पटनास्थित अस्पताल पु¥याएर उपचार गरिएको थियो ।

यता आलम भने चुनाव जितेर ०६७ मा मन्त्री नै भए । ०७४ को निर्वाचनमा फेरि निर्वाचित भएका थिए । फौजदारी अभियोग लागेपछि मात्रै उनी निलम्बित भएका थिए । आतंक र प्रलोभनका भरमा पीडितलाई प्रभावित पार्दै आएका उनी शक्तिका आधारमा १२ वर्षसम्म कानुनी कारबाहीबाट पनि बच्दै आएका थिए । गत वर्ष मात्रै उनी पक्राउ परे ।

आलम पक्राउ परेपछि सफी अहमद प्रहरीको सम्पर्कमा पुगे । उनले आलमविरुद्ध जाहेरी दिए । जाहेरी दिनेमा भट्टामा जलाएर हत्या गरिएका त्रिलोकका बुबा श्रीनारायण सिंह पनि थिए । उनीहरूकै जाहेरीका आधारमा आलम पुर्पक्षका लागि जेल चलान भएका थिए । तर, जेलभित्रैबाट पनि उनले आतंक र प्रलोभनका भरमा पीडितहरूलाई प्रभावित बनाइरहेका छन् ।

जिल्ला अदालत रौतहटमा गरेको बयानमा सफी अहमदले फरहदवामा विस्फोट भएका दिन आफू भारतको पन्जाबमा रहेको बताएका छन् । बमका छर्राले छाती र पेटमा बनाएको घाउका खाटालाई उनले तातो तेलले पोलिएर दाग बसेको बकपत्र गरेका छन् ।

‘२७ चैत ०६४ (विस्फोट हुँदा)मा म भारतको पन्जाबमा काम गर्न गएको थिएँ । त्यहाँ रहँदा मैले खेती किसानको काम गर्थेँ । मैले गाई, भैँसीलाई भुसा र घाँस खुवाउने काम पनि गर्थेँ,’ सफी अहमदले गरेको बकपत्रमा उल्लेख छ । खुट्टामा भएको खाटालाई भने उनले कोदालो चलाउँदा लागेको चोटको दाग बताएका छन् । मुख्य अभियुक्त अफताब आलम, उनका भाइ महताबलगायतलाई नचिनेको बयान उनले दिएका छन् । सफीको जिल्ला अदालतमा तीन दिनसम्म बयान चलेको थियो ।

जब कि, सोफी अहमदले यसअघि ०७६ असोजमा प्रहरीमा दिएको जाहेरीमा भने २७ चैत ०६४ को साँझ राजपुरस्थित शेख इद्रिसको गोठमा बम विस्फोट भएको र आफू त्यही विस्फोटमा परी घाइते भएको उल्लेख गरेका थिए । अदालतमा बकपत्र गर्दा भने उनले प्रहरीले जबर्जस्ती उजुरीमा हस्ताक्षर गर्न लगाएको बताएका छन् । उनले भनेका छन्, ‘घर आएको वेला मलाई प्रहरीले पक्राउ गरी चन्द्रनिगाहपुर लगेर गए । त्यहाँ थुनामा राखे, कुटपिट गरे । उनीहरूले नै झुटा कागजात बनाए । मलाई जबर्जस्ती गरेर सोही कागजातमा हस्ताक्षर गर्न लगाए । त्यसैले मैले दिएको जाहेरी सही होइन ।’

जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिनुको कारण पनि उनले डर–धम्की नै भएको बकपत्र गरेका छन् । रौतहटको सरुअट्ठाका समसुल मियाँले धम्की दिएपछि ०७६ असोजमा प्रहरीमा आलमविरुद्ध ज्यान मार्ने उद्योगको जाहेरी दिन बाध्य भएको उनले बताएका छन् । समसुलले पेस्तोल देखाएर धम्क्याएको उनको आरोप छ ।

‘प्रहरीसँगै थिए म समसुल हुँ भन्ने व्यक्ति । उसैले पेस्तोल देखाएर डर–धम्की दिए । जबर्जस्ती कागज गर्न लगाए । रूपेश साह भन्ने प्रहरी इन्स्पेक्टर पनि सँगै थिए । उनीसँग त्यहीँ भेट भएको हो । अरूसँग भने चिनजान छैन,’ बकपत्रमा उल्लेख छ ।

समसुल मियाँ त्यही व्यक्ति हुन्, जसले आफ्ना ज्वाइँ मोहम्मद ओसी अख्तर विस्फोट परी मारिएको भन्दै घटनालगत्तै जिल्ला प्रहरी कार्यालय रौतहटमा जाहेरी दिएका थिए । तर, घटना भएको १३ वर्षपछि उनले पनि अदालतमा बयान फेरेका छन् । उनीसँगै ओसीकी पत्नी (समसुलकी छोरी) अमना खातुनले पनि ओसी अख्तरको मृत्यु नै नभएको बयान दिएका छन् ।

तर, सफी अहमदले भने ‘आफूलाई समसुलले ओसीको मृत्यु बम विस्फोटमै भएको बताएको’ बयान दिएका छन् । ‘समसुल भन्ने सरुअट्ठाको मान्छे हो । निजले आफ्नो ज्वाइँ बम विस्फोटमा मारिएको मसँग भनेको थियो,’ स्रोतका अनुसार सफीले बकपत्रमा भनेका छन् ।

पक्राउ परेपछि आलमले जाहेरी दिने सफी अहमद र श्रीनारायण सिंह तथा सरकारी साक्षी बनेका समसुल मियाँ र उनकी छोरी अमना खातुनलाई प्रभावमा पार्न सुरु गरेका थिए । श्रीनारायणबाहेक तीनैजना प्रभावमा परिसकेका छन् । यो घटनाको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार आलमकै दबाब र प्रभावमा परेर तीनजनाले बयान फेरेका हुन् ।

सरकारी साक्षीका अंगरक्षक झिकियो

आलमविरुद्धको मुद्दाका सरकारी साक्षी एकजनालाई अदालतले अंगरक्षक दिने भने पनि अहिलेसम्म दिएको छैन । अर्का एकजनालाई दिइएको अंगरक्षक पनि झिकिएको छ ।

मुद्दाका मुख्य सरकारी साक्षी जनता समाजवादी पार्टीका नेता शैलेन्द्र साहलाई सुरक्षा थ्रेट भएको निष्कर्षपछि गत चैतमा अदालतले अंगरक्षक खटाउन भनेको थियो । लगत्तै जिल्ला प्रशासन कार्यालय रौतहटले अंगरक्षक खटाउने निर्णय गरेको थियो । तर, अहिलेसम्म खटाइएको छैन ।

सुरक्षा थ्रेट महसुस गरेपछि उनी जिल्ला प्रहरी कार्यालय रौतहट र जिल्ला प्रशासन कार्यालयमा पनि गएका थिए । तर, अंगरक्षक खटाउने निर्णय अझै कार्यान्वयन भएको छैन । ‘मलाई थ्रेट छ, तर अंगरक्षक छैन । जब कि त्यसको व्यवस्था गर्न जिल्ला प्रशासन कार्यालय र अदालतले गत वर्ष नै निर्णय गरेको हो,’ काठमाडौंमा भेटिएका साहले भने ।

साहले डरका कारण काठमाडौं आएको बताए । ‘डरले काठमाडौंमै बस्छु । बयानका लागि रौतहट जान्छु । फर्केर फेरि चन्द्रनिगाहपुर आउँछु । घर गौरमै छ । म त्यहाँ बस्न सकेको छैन,’ उनले भने ।

मुद्दाका अर्का साक्षी किरण साहलाई दिएको अंगरक्षक भने जिल्ला प्रशासन कार्यालयले तानेको छ । सुरक्षा थ्रेट नभएको महसुसपछि शैलेन्द्र र किरणलाई अंगरक्षक नदिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए । ‘शैलेन्द्र साह काठमाडौंमा नै बस्नुहुन्छ । उहाँलाई केको सुरक्षा थ्रेट ? रौतहट आउँदा दिने भनिएको हो । यहाँ आउँदा दिनेछौँ,’ उनले भने, ‘तर, उहाँ रौतहट बस्नुहुन्न, त्यसैले अंगरक्षक नदिएको हो ।’ सुरक्षा थ्रेट नभएको महसुस गरेर नै किरणको अंगरक्षक तानेको उनले बताए ।

पीडितको पक्षकाे बहस गर्ने अधिवक्तालाई धम्की

यो मुद्दामा पीडितको तर्फबाट बहस गरिरहेका अधिवक्ता पुष्पराज पौडेललाई पनि अफताब आलमको पक्षबाट ज्यान मार्ने धम्की आएको छ । पौडेलले जिउज्यानको सुरक्षाका लागि जिल्ला प्रशासन कार्यालय रौतहटमा निवेदन पनि दिएका छन् ।

‘मिति ०७५ पुस ८ गतेका दिन प्रतिवादी मोहम्मद अफताब आलमका भाइ भन्ने डा. साब सम्बोधित र कान्छा छोरासमेतले मुद्दा हेरेको विषयमा अब सरकार चेन्ज भइहाल्छ, सरकारको अन्डर सुरक्षामा कति दिन बस्न सक्नुहुन्छ ? कसैको जीवन बर्बाद पार्ने गरी लाग्नुहुन्छ भने उसले पनि किन छाड्छ ? हामीले पनि छाड्ने कुरा हुँदैन,’ पौडेलले प्रशासनमा दिएको निवेदनमा भनेका छन्, ‘तपाईं किन यसरी पछि लाग्नुहुन्छ ? तपाईं सधैँ सुरक्षाघेरामा रहन सक्नुहुन्छ ? भनी मेरो जिउज्यान र पेसामा समेत दागा धरी धम्की दिएको हुँदा म निवेदक मुद्दाको सिलसिलामा पटकपटक रौतहट–गौर आउने–जाने गर्नुुपर्ने भएकाले जिउज्यानको सुरक्षा गरिपाऊँ भनी यो निवेदन पेस गरेको छु ।’ आजको नयाँ पत्रिकामा समाचार प्रकाशित छ ।