प्रचण्ड–माधव पक्ष तीन महिनामा नागरिक अगुवा भएर सडकमा पुग्छन् : प्रधानमन्त्री

119

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो वैशाखको चुनावका लागि सजग र गतिशील भएर लाग्न कार्यकर्तालाई निर्देशन दिनुभएको छ । बिहीवार आफु निकट नेपाल ट्रेड युनियन महासङ्घको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आउँदो वैशाखमा चुनाव हुने भएकोले कार्यकर्ताहरूलाई अत्यन्त सजग र गतिशील भएर लाग्न निर्देशन दिनुभएको हो ।

बाँकी रहेको तीन महिना देशलाई कता लाने भन्ने जीवन मरणको सङ्घर्ष भएकाले यस अवधिमा बढी काम र बढी अभियान लिएर जानुपर्ने उहाँको भनाइ छ । प्रधानमन्त्री ओलीले पहिलो चरणमा प्रदेश नम्बर २, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशमा चुनाव गर्ने र दोस्रो चरणमा प्रदेश नम्बर १, वाग्मती प्रदेश र कर्णाली प्रदेशमा चुनाव गराउने गरि छलफल भइरहेको पनि दोहोराउँनुभएको छ ।

प्रधानमन्त्री ओलीले देशलाई अस्थिरतातर्फ जानबाट रोकेको दाबी गर्नुभयो । पार्टीमा शुद्धीकरण अभियान चलेको बताउँदै उहाँले पार्टीको विकृति, विसङ्गति, अराजकता, अनुशासनहिनता र स्वार्थी प्रवृत्ति किनारा लागेको बताउनुभयो । पार्टी एक विचार र एक धारणा साथ एकताबद्ध भएर अघि बढेको उहाँको भनाइ छ ।

प्रधानमन्त्री ओलीले मजदुर आन्दोलनलाई बलजफ्ती विभाजन गर्न खोजिएको भन्दै विभाजित हुन नदिइ एकताबद्ध मजदुर आन्दोलन निर्माण गर्नुपर्ने बताउनुभयो । अलमलिएकाहरूलाई आफूहरूको बाटोमा समाहित गराउनुपर्ने उहाँको भनाइ छ ।

प्रधानमन्त्री ओलीले प्रचण्ड–माधव पक्ष तीन महिनामा नागरिक अगुवा भएर सडकमा पुग्ने पनि बताउनुभयो । प्रचण्ड–माधवले पार्टी चलाउने कुरा नभएको भन्दै नागरिक समाजको सम्मानित व्यक्तित्व बनाएर राख्ने उहाँले टिप्पणी गर्नुभयो ।