शौचालयमा १५/२० लाख खर्च गर्ने प्राधिकरणले घरमा ३ लाख मात्र खर्चिन्छः नगरप्रमुख अधिकारी

438
शितगंगा नगरपालिका नगरप्रमुख सुर्यप्रसाद अधिकारी फाईल फोटो ।

लक्ष्मण घिमिरे
अर्घाखाँची । शितगंगा नगरपालिकाका नगरप्रमुख सुर्यप्रसाद अधिकारीले राष्ट्रिय पुननिर्माण प्राधिकरणले त्रुटीपुर्ण काम गरिरहेको बताएका छन् ।

अर्घाखाँचीको सन्धिखर्कमा निजी आवास सहित पुननिर्माणका चालु कार्यक्रमको प्रभावकारी कार्यान्वयन सम्बन्धमा जिल्लास्तरिय अन्तरक्रिया कार्यक्रममा बोल्दै नगरप्रमुख अधिकारीले एउटा विद्यालयको शौचालय निर्माणका लागी १५-२० लाख खर्च गर्ने प्राधिकरणले आवास निर्माणमा प्रतिघर जम्मा ३ लाख खर्च गरेको बताए ।

मानिसको बस्ने आवासमा खर्च नगरेर शौचालयमा ठुलो धनराशि खर्चिनु त्रुटिपुर्ण रहेको उनले बताए । शितगंगा देशकै ठुलो नगरपालिका भएको र भौगोलिक बनावटले गर्दा त्यहाँको विकासमा सानो योजना र सानो रकमले नपुग्ने बताए । कतिपय विकटका बालबालिका ४-५ घन्टा लगाएर विद्यालय जान बाध्य रहेको भन्दै नगरप्रमुख अधिकारीले तिन वटा छात्रावास अती आवश्यक रहेको बताए । पुननिर्माण प्राधिकरणले त्यतापट्टी चाँसो राखेर काम गर्न उनले आग्रह गरे ।

जवाफमा राष्ट्रिय पुननिर्माण प्राधिकरणका सचिव सुरेश आचार्यले अब लाभग्राही संख्या थप्न गाह्रो हुने भएकाले शिक्षा मन्त्रालयमा भएपनी आफुले कुरा राख्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा राष्ट्रिय पुननिर्माण प्राधिकरणका सहसचिव गोपाल अर्याल, सन्धिखर्क नगरपालिकाका मेयर कमलप्रसाद भुसाल, शितगंगा नगरपालिकाका मेयर सुर्यप्रसाद अधिकारी, मालारानी गाउँपालिकाका अध्यक्ष बालकृष्ण आचार्य, छत्रदेब गाउँपालिकाका उपाध्यक्ष तुल्सादेवी श्रेष्ठ, योजनाका ईन्जिनियर लगायत पत्रकारहरुले आआफ्नो धारणा राखेका थिए ।

जिल्ला आयोजना कार्यान्वयन इकाई (अनुदान व्यवस्थापन तथा स्थानिय पुर्वाधार) का जिल्ला आयोजना प्रमुख सोहिन्दर यादवले निजि आवास पुनर्निर्माण तर्फ ६९.६८ प्रतिशत प्रगति भएको बताएका छन् । उनले हालसम्मको प्रगति विवरण, बाँकी कार्य सम्पन्न गर्न कार्ययोजना प्रस्तुत गरेका थिए । यस्तै नीजि आवास प्रबलिकरण सहित जिल्लाको प्रगती ६३.८ प्रतिशत भएको उनले बताए । १ हजार ३ सय ३६ घर लाभग्राही सुचीमा रहेकामा १ हजार १ सय ९२ जनाले मात्र सम्झौता गरेका छन् । त्यो मध्ये १ हजार १ सय ९२ जनाले नै पहिलो किस्ताको रकम प्राप्त गरेका छन् । दोस्रो किस्ता प्राप्त गर्ने लाभग्राहीको संख्या ७ सय ६१ रहेको छ भने तेस्रो किस्ता प्राप्त गर्ने लाभग्राही ६ सय ४४ जना रहेका छन् ।

यस्तै जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) का जिल्ला आयोजना प्रमुख बलराम मिश्रले ८० प्रतिशत भौतिक र ७४ प्रतिशत वित्तिय प्रगती भएको विवरण पेश गरेका छन् । उनले चार कोठे, तिन कोठे र दुई कोठे गरी ५० वटा विद्यालयको काम सम्पन्न भईसकेको ६२ वटा विद्यालयको काम चलिरहेको बताए । कोरोना महामारीका बेला विद्यालयहरुलाई क्वारेन्टाईन र आईसोलेशन बनाईएकाले निर्माणकार्य निर्धारित समय भन्दा ढिला हुने उनको भनाई छ ।

कार्यक्रम जिल्ला समन्वय समिती सभापती पिताम्बर शर्मा भुसालको अध्यक्षता र ठाकुर श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको हो ।