राष्ट्रलाई कमजोर बनाएर केपी ओलीले राष्ट्रघाती काम गरेः नेकपा नेता युवराज ज्ञवाली

342

घनश्याम पौडेल
अर्घाखाँची, १७ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेश ईन्चार्ज युवराज ज्ञवालीले अदालतलाई संविधान संशोधन गर्ने नभएर संविधानको व्याख्या गर्ने मात्रै अधिकार रहेको बताउनुभएको छ ।

शनिबार अर्घाखाँचीको सन्धिखर्कमा नेकपा प्रचण्ड–नेपाल समूहद्धारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता ज्ञवालीले अदालत र न्यायाधीसको काम संविधानको व्याख्या गर्ने मात्र भएको र संविधान संशोधन गर्ने नभएको बताउनुभएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन असंवैधानिक भएकोले अदालतले संसद पुनःस्र्थापना गरिदिने विश्वास ज्ञवालीले व्यक्त गर्नुभयो ।
वर्तमान संविधानमा बहुमतप्राप्त प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार नभएको भन्दै ज्ञवालीले संविधानमै नभएको अधिकार प्रयोग गरी संसद विघटन गरेकोले अदालतले संसद पुनस्र्थापित गरिदिने दाबी गर्नुभयो ।
ज्ञवालीले केपी ओलीको नेतृत्वमा अब कहिल्यै पनि कम्युनिष्ट पार्टी बन्न नसक्ने बताउदै केपी ओलीले कम्युनिष्ट पार्टीको खोल ओढेर कम्युनिष्ट पार्टीलाई खत्तम पार्न थालेको आरोप लगाउनुभयो ।

पुर्वमन्त्री समेत रहेका नेता ज्ञवालीले राष्ट्रलाई कमजोर बनाएर केपी ओलीले राष्ट्रघाती काम गरेको बताउंदै ज्ञवालीले राष्ट्रवादको नारा लगाउँदैमा कोही राष्ट्रवादी नभइने स्पष्ट पार्नुभयोे । ‘केपी ओली राष्ट्रघाती हुन्, जनघाती हुन्, कम्युनिष्ट विरोधी हुन् र उनी गणतन्त्र विरोधी हुन्, यो भन्दा ठूलो प्रमाण अरु केहि छैन’ ज्ञवालीले भन्नुभयो ।

ओलीले कम्युनिष्ट पार्टी खत्तम बनाउन खोजेपनि आफुहरुले बचाएको ज्ञवालीले दाबी गर्नुभयोे ।ज्ञवालीले ओलीको गलत प्रवृति विरुद्ध पार्टीमा लामो लडाई गर्दै आएको बताउँदै एककीकरण पछि केपीमा अझै उन्माद बढेकाले दुर्घटना भएको बताउनुभयो ।

केपी ओलीको प्रतिगमनविरुद्ध सडक, सदन र सरकारबाट आन्दोलन गर्नुपर्ने भएकाले प्रदेश सरकारबाट आफूहरु नहटेको बताउनुभयो । ‘हामी तत्काल प्रदेश सरकारहरुबाट बाहिरिन्नौं । किनभने ओलीको प्रतिगमनविरुद्ध सडक, सदन र सरकारबाट लड्नुपर्ने भएको छ ।

त्यस्तै नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिती सदस्य वर्षमान पुनले आफ्नै पार्टीको अध्यक्ष र प्रधानमन्त्रीले गरेको अलोकतान्त्रिक र प्रतिगामी कदम सच्याउन आफूहरु लाग्न बाध्य बनेको बताए ।
नेपाल कम्युनिष्ट पार्टी नेकपा पचण्ड माधव पक्षले अर्घाखाँचीकोे सन्धिखर्कमा गरेको पत्रकार भेटघाटमा नेता पुनले ‘आफ्नै नेतृत्वमा झण्डै दुई तिहाइको सरकार चलाइरहेका ओलीले असंवैधानिकरुपमा संसद विघटन गरेर मुलुकको संविधान र आफ्नै राजनीतिक जीवनसमेत धरापमा पारेको पुनले आरोप लगाए ।
‘इतिहासको दिशालाई उल्ट्याउन खोज्दा उहाँको राजनीतिक जीवन नै धरापमा परेको छ ।’ प्रधानमन्त्री ओलीले सैनिक सत्ता वा संकटकाल लगाएर भएपनि गैरसंवैधानिक सत्ता लम्ब्याउने धम्की दिन थालेको भनाई रहेको छ ।

पत्रकार सम्मेलन प्रेस संगठन अर्घाखाँचीका इन्जार्च प्रेमनारायण गैरेको अध्यक्षता, सहईन्चार्ज राधा नेपालीको सञ्चालनमा सम्पन्न भएको थियो ।

मुलुकको संविधान र आफ्नै राजनीतिक जीवनसमेत ओलीले धरापमा पारेः पुर्वमन्त्री वर्षमान पुन