पिआर् भट्टराई । 
सम्झी सम्झी कति दिन यहाँ कल्पनामा बिताएँ।
ढोकाजस्तै ढक ढक गरि ढुक्ढुकी ढक्ढकाएँ।।
धर्ती तिम्रै नयनहरुमा आउँछिन् बस्नलाई ।
राखिद्यौ ए हृदय बिचको कन्दरामा मलाई ।।

पानीजस्तै कल कल बगी जान्छ यो जिन्दगानी।
लामो आशा क्षणिक सुखको छाल हो यो जवानी
प्याला बोकी प्रणय रसले छर्किएला मलाई ।
खोज्दै होला कति विरहमा जूनले घामलाई।।

पैलो झुल्का रवि किरणमा मुस्कुराएर आऊ।
ल्याई नौला हृदयभरका प्रेमका गीत गाउ।।
आँखा आँखहरुसँग जुधे प्राण यो प्राणसँग।
तिम्रो व्याख्या म गरुँ कसरी ? शब्द छैनन् मसँग ।।

मेरो चिठ्ठी पवन अहिल्यै झट्ट बोकेर जाऊ।
मेरी प्यारी हृदय बिचको बस्दछिन् एक ठाउँ।।
खोज्दा खोज्दै सरस कविता आफूभित्रै हराएँ।
माया लाएँ तर पनि सधैं भन्नलाई डराएँ।।

जान्नौ होला अब शिशिरमा पातजस्तै झरेर।
अंगालोमा जुनिभर यही प्रेम राखेँ भरेर।।
माया बोकी अब मिलनको बिन्दुमा पुग्न पाऊँ।
बग्दा बग्दै प्रणय रसको सिन्धुमा पुग्न पाऊँ।। कवि पिआर् भट्टराई नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठबाट आचार्य तह उत्तीर्ण गरि त्रिभुवन विश्वविद्यालयबाट समेत स्नातकोत्तर गर्दै छन् ।