काठमाडौं, ३१ भदौ । एसिया कपको उपाधि भारतले जितेको छ । यो भारतको ८औं एसिया कप उपाधि हो ।

फाइनलमा घरेलु टोली श्रीलंकालाई १० विकेटले हराउँदै भारतले उपाधि जितेको हो । कोलम्बोमा जितका लागि पाएको ५१ रनको झिनो लक्ष्य भारतले बिना क्षति भेट्टायो ।

भारतलाई जिताउन इशान किसनले २३ र शुभमन गिलले २७ रन बनाए । उनीहरु दुवै नट आउट रहे । यसअघि कोलम्बोमा टस जितेर पहिले ब्याटिङ रोजेको श्रीलंका १५।२ ओभरमा जम्मा ५० रन जोड्दा अलआउट भयो । भारतका मोहम्मद सिराज एक्लैले ६ विकेट, हार्दिक पाण्डेले ३ र जसप्रित बुमराहले १ विकेट लिए ।

सिराजले ७ ओभरमा १ मेडन राख्दै २१ रन खर्चेर ६ विकेट लिए । हार्दिकले २।२ ओभरमा ३ रन मात्र खर्चेर ३ विकेट लिए । बुमराहले ५ ओभरमा १ मेडन राख्दै २३ रन खर्चेर १ विकेट लिए । कुदलिप यदवले १ ओभरमा १ रन मात्र दिए ।

श्रीलंकाका लागि कुशल मेन्डिसले सर्वाधिक १७ रन बनाए भने दुशान हेमन्था १३ रनमा अविजित रहे । पहिलो ओभरमै जसप्रित बुमराहले कुसल परेरालाई आउट गर्दै भारतलाई राम्रो सुरुवात दिलाएका थिए । त्यसपछि सिराजले खेलको चौथो ओभरमा शानदार बलिङ गर्दै चार विकेट लिए ।

सिराजले पहिलो बलमा पथुम निसानका, तेस्रो बलमा सदिरा समराविक्रमा, चौथो बलमा चरिथा असलंका र छैटौं बलमा धनन्जय डा शिल्भालाई आउट गरे । उक्त ओभरमा धनन्जयले सिराजलाई एक चौका प्रहार गरेका थिए ।

खेलको छैटौं ओभरमा सिराजले श्रीलंकाका कप्तान दसुन सनाकालाई बोल्ड गर्दै करियरमै ओडीआई खेलमा पहिलो पाँच विकेट लिए । त्यतिबेलासम्म श्रीलंकाले १२ रन बनाउदा नै ६ विकेट गुमाइसकेको थियो । यसअघि सुपर फोर चरणमा भारतले श्रीलंकालाई ४१ रनले पराजित गरेको थियो ।