शिवलाल पौडेल,
असौज १, काठमाडौँ ।
विश्व ज्योतिष महासंघको अन्तर्राष्ट्रिय निकाय अन्तर्राष्ट्रिय वास्तु समितिको आयोजनामा वास्तु दिवस समारोह -२०८० काठमाडौँको डिल्लिबजारमा रहेको होटल पेन्सन बासनामा सम्पन्न भएको छ ।
उक्त समारोहमा बोल्दै प्रमुख अतिथि नेपाल पन्चाङ्ग निर्णय समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले वस्तु बाट वास्तु भन्ने गलत धारणा समाजमा आएकोले यस्तो धारणा नलिन बताउनुभयो । वास्तुशास्त्रको प्रादुर्भाव ब्रह्मबाट भएको बताउदै गर्ग ऋषिबाट सम्पुर्ण ऋषिले ज्ञान लिएको बताउनुभयो । जुनसुकै ज्योतिषका ग्रन्थहरुमा वास्तुको अध्याय रहेको र ती अध्ययाहरुमा वास्तुको व्यापक वर्णन भएको बताउनुभयो । अहिलेको समयमा वास्तुको महत्त्व बढ्दै गएकोले १२ कक्षा सम्म वास्तुको पाठ्यक्रम बनेको र उक्त पाठ्यक्रम छिट्टै लागू हुने बताउनुभयो । त्यसमा आधुनिक वास्तु र वैदिक वास्तु समावेश भएको बताउनुभयो । वास्तु फलित ज्योतिषको विभाग भएको बताउदै सामुद्रीक शास्त्र, जातक शास्त्रको अन्योन्याश्रीत सम्बन्ध रहेको बताउनुभयो । वास्तुको वास्तविक तत्व पन्चतत्वमा लुकेको बताउदै इशान दिशा देवाताको रहेकोले त्यो दिशामा शौचालय वा फोहोर चिज राख्न नहुने उल्लेख गर्नुभयो ।
विशिष्ट अतिथि विश्व ज्योतिष महासंघका अध्यक्ष डा लोकराज पौडेलले पुर्व जन्मको कर्मले अहिलेको जन्मको भाग्य निर्माण हुने बताउनुभयो । ज्योतिष र वास्तुका बिचमा द्वन्द्वात्मक शब्द वास्तुले सबै चिजको निराकरण गर्ने भए जन्मकुण्डलीको आवश्यक किन पर्ने भनेर बताउनुभयो ? उत्तर पुर्वमा शौचालय भएको घरका व्यक्तिहरुको क्यान्सर बाट मृत्युु हुने र ती व्यक्तिहरुको कुण्डलीमा राहु र बृहस्पतिको कम्बिनेशन हुने बताउनुभयो । जो व्यक्तिको कुण्डलीमा राहु र मंगलको युती हुन्छ त्यो व्यक्तिको भोजनालयको नजिकमा शौचालय हुने बताउनुभयो । ज्योतिष र वास्तुलाई अवलम्बन गरेर अघि बढ्दा जीवन सुखी र शान्त हुने बताउनुभयो । विश्व ज्योतिष महासंघ, दक्षिण एसियाली ज्योतिष महासंघ, नेपाल ज्योतिष परिषद् र राष्ट्रिय महिला ज्योतिष संघ एकआपसमा प्रतिष्पर्धी संस्था हुन् भन्ने आमजनमानसमा एउटा भ्रम रहेकोले यी संस्था प्रतिष्पर्धी नरहेको स्पष्ट पार्नुभयो ।
विशिष्ट अतिथि नेपाल पन्चाङ्ग निर्णायक समितिका कार्यकारी निर्देशक ज्यो. पं सुर्यप्रसाद ढुंगेलले जिवनका हरेक कुराहरु वास्तुसँग जोडिएको उल्लेख गर्नुभयो । गाउँको बसोबास, उद्योग सन्चालन लगायत गृह निर्माण, रातो माटो, कालो माटो, सेतो माटोको पहिचान समेत वास्तुबाट हुने बताउनुभयो । शास्त्रले बताएको निर्देशन अनुसार देवालय, गृह निर्माण गरेर बनाउदा जिवनमा कुनै प्रकारको कष्ट नहुने बताउँदै ज्योतिष, वास्तु सहित आफ्नो शरीरमा समेत पन्चतत्वको प्रभाव रहने बताउनुभयो ।
दक्षिण एसियाली ज्योतिष महासंघ अन्तर्राष्ट्रिय समितिका सभापति आचार्य लक्ष्मण पन्थीले वास्तु र योगलाई सरकारले अपनत्व नलिएको बताउँदै यसको महत्त्व नेपाल पन्चाङ्ग निर्णायक समितिले बुझेर मात्रै नहुने बताउनुभयो । उहाँले आगामी दिनमा विश्व ज्योतिष महासंघ, दक्षिण एसियाली ज्योतिष महासंघ र नेपाल ज्योतिष परिषद्का विभिन्न शाखा र समितिहरुलाई वास्तु दिवस मनाउन सर्कुलर गर्ने अभियान चाल्नुपर्ने बताउनुभयो । यी कार्यहरू गर्दै जाँदा सरकारको ध्यानाकर्षण समेत हुने बताउँदै हरितालिका तिज विश्वकर्मा पुजा र वास्तु दिवसको शुभकामना व्यक्त गर्नुभयो । वास्तु र ज्योतिषलाई मिलाएर अघि बढ्नु पर्ने बताउँदै जिवनको मार्गदर्शनका लागि ज्योतिष र वास्तुको महत्वपूर्ण भुमिका रहने बताउनुभयो । ज्योतिषीय आचारसंहितालाई कार्यान्वयन गर्न नेपाल पन्चाङ्ग निर्णायक समितिलाई सहजीकरण गर्न अनुरोध गर्नुभयो । टिकटक लगायतका संजालबाट गरिने ज्योतिषीय तथा वास्तु परामर्श कत्तिको प्रभावकारिता हुने भनेर प्रश्न गर्नुभयो ?
कार्यक्रममा नेपाल ज्योतिष परिषद्का महासचिव कमलप्रसाद काफ्ले, राष्ट्रिय महिला ज्योतिष संघका अध्यक्ष रतिदेवी जोशी श्रेष्ठ, विश्व ज्योतिष महासंघका केन्द्रीय उपाध्यक्ष ताराप्रसाद नेपाल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियोे । कार्यक्रममा दक्षिण एसियाली ज्योतिष महासंघका अध्यक्ष डा.सहदेव विष्ट, उपाध्यक्ष डा देवीप्रसाद खनाल, विश्व ज्योतिष महांघका उपाध्यक्षद्वय चिन्तामणी पोख्रेल, नरेश सिंह, सहमहासचिव ज्ञानेशमान जोशी, विश्व ज्योतिष महासंघ अन्तर्राष्ट्रिय युवा समितिका सभापति हरिहर अधिकारी, दक्षिण एसियाली ज्योतिष महासंघ राष्ट्रिय समितिका सभापति खिलनाथ काफ्ले, वरिष्ठ उपसभापति दुर्गामणी गौतम, उपसभापति सुरेशचन्द्र रिजाल, सुरजमुनी बज्राचार्य, अच्युतमणि आचार्य, सन्तोष भारद्वाज, श्रीकेश कौशिक, कृष्णप्रसाद रिमाल, देवराज गौतम, टिकाराम घिमिरे, माधव पौडेल, मधु न्यौपाने लगायत ५० बढी ज्योतिष तथा वास्तुशास्त्रीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रम अन्तर्राष्ट्रिय वास्तु समितिका सभापति डा.माधव मङ्गल जोशिको अध्यक्षता, सदस्य सचीव सरस्वती श्रेष्ठको स्वागत मन्तव्य एवम् सदस्य राजिव आचार्यको सन्चालनमा सम्पन्न भएको हो ।