काठमाडौं, १ असौज । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय बन्द र आन्दोलनका कार्यक्रम स्थगित गरेर वार्तामा आउन शिक्षकहरूलाई आग्रह गर्दछ ।
मन्त्रालयका सहसचिव भगवान् अर्यालले आज सोमवार विज्ञप्ति निकालेर भोलि मङ्गलवार दिउँसो ३ बजे मन्त्रालयमा हुने वार्तामा आउन शिक्षकहरूलाई आग्रह गरेका छन् ।
विधेयकलाई अन्तिम रूप दिनुअघि नेपाल शिक्षक महासङ्घका पदाधिकारीसँग विभिन्न चरणमा छलफल भएको र महासङ्घले पेस गरेका विद्यालय शिक्षक तथा कर्मचारीको पेसागत हकहितसँग सम्बन्धित सुझावहरूलाई यथाशक्य विधेयकमा समावेश गरिएको विज्ञप्तिमा उल्लेख छ । यही विधेयकलाई लिएर महासङ्घले पर्सि बुधवारदेखि विद्यालय बन्द र आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।