कोभिड– १९ विरुद्ध खोप: प्रधानमन्त्री नै अलमलमा, तीन दिनमै फेरियो बोली

279

काठमाडौ । भारतले अनुदानमा दिएको खोप अहिले धमाधम लगाइएको छ । चीन र बेलायतले पनि सीमित संख्यामा डोज दिने भनेका छन् । तर, खरिद गर्ने विषयमा भने अहिलेसम्म कुनै ठोस प्रगति भएको छैन ।

१८ वर्ष उमेर नपुगेका तथा विभिन्न स्वास्थ्य अवस्थामा भएका व्यक्तिलाई खोप लगाउन मिल्दैन । त्यसैले ७२ प्रतिशत नागरिकलाई मात्र खोप लगाउने सरकारी तयारी छ । यसरी दुई करोड १६ लाख जनतालाई दुई–दुई डोज लगाउन नेपाललाई चार करोड ३२ लाख डोज खोप आवश्यक पर्छ । तर, यो खोप जुटाउने विषयमा अहिलेसम्म कसैसँग पनि सहमति भएको छैन ।

अहिलेसम्म १० लाख डोज भारतबाट आएको छ, थप १० लाख भारतले र तीन लाख डोज चीनले दिने आश्वासन दिएका छन् । यसरी अनुदानमा २३ लाख डोज खोप आउने आशा भएपछि चार करोड नौ लाख डोज कहाँबाट कसरी जुटाउने भन्नेमा नेपाल सरकार अझै स्पष्ट भइसकेको छैन ।

स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका निर्देशक डा। भीमसिंह तिङ्करीका अनुसार थप खोप खरिद गर्न भारतीय कम्पनी सेरमसँग छलफल भइरहेको छ । ‘भारतले अनुदानमा दिएको १० लाख डोज आएको छ, तर थप खोप खरिदका लागि सम्बन्धित कम्पनीसँग छलफल सुरु भएको छ । अहिले अनुदानमा आएको सिरम इन्स्टिच्युट अफ इन्डियाको कोभिसिल्ड हो । त्यही खोप ल्याउने विषयलाई हामीले उच्च प्राथमिकतामा राखेका छौँ,’ उनले भने ।

सबै जनतालाई तीन महिनामा खोप लगाउन सम्भव नभएको डा। तिङ्करीको भनाइ छ । ‘दुनियाँमा यसै पनि मागअनुसार खोपको उत्पादन भएको छैन । त्यसको खरिद, अयात र वितरणका आफ्नै प्रक्रिया छन् । अब तीनदेखि चार महिनामा सबै नागरिकलाई खोप लगाउन सकिन्छ भन्ने भन्ने अवस्था छैन,’ उनले भने ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले पनि सबै जनताले खोप कहिलेसम्म पाउँछन् भन्ने यकिन गर्न नसकिने बताए । उनले तीन महिनामा सबै नेपालीलाई खोप लगाइसक्न भने सम्भव नहुने स्पष्ट पारे । ‘तीन महिनामा सम्भव छैन । यो विषय खोपको उपलब्धतामा भर पर्छ । खोप उपलब्ध भयो भने लगातार लगाउँदै जान सकिन्छ, सरकारले खरिदको योजना पनि बनाएको छ, तर उपलब्ध नै भएन भने कसरी गर्ने रु’ डा। गौतमले नयाँ पत्रिकासँग भने ।

सरकारले भारतबाट अनुदानमा आएको पहिलो चरणको खोप प्रयोगमा आएपछि मात्र दोस्रो चरणको अभियान सुरु गर्ने तयारी गरेको छ । पहिलो डोज लगाएको २८ दिनपछि मात्रै दोस्रो डोज खोप दिने हो । त्यसपछि मात्र खोप प्रक्रिया पूरा हुन्छ । त्यसैले दोस्रो चरणको खोप अभियान सुरु हुन नै अझै करिब डेढ महिना लाग्ने अवस्था छ ।

१० लाख डोज खोप अनुदान दिएको छिमेकी भारतले त्यही मात्राको खोप फेरि अनुदान दिने भनेको छ । भारतबाट कुल २० लाख डोज प्राप्त भएमा त्यसले नौ लाख ६० हजारलाई खोप लगाउन मिल्नेछ । यसरी देशको तीन प्रतिशत जनसंख्याका लागि खोप भारतले अनुदानमा दिनेछ । अक्सफोर्ड र एस्ट्राजेनेकाले विकास गरेको तथा सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको ‘कोभिसिल्ड’ खोपले मात्रै हाल नेपालमा अनुमति पाएको छ ।

प्रधानमन्त्री नै अलमलमा : तीन दिनमै फेरियो बोली

१४ माघ (बालुवाटार) : तीन महिनामा सम्पूर्ण नेपालीलाई खोप

कोही पनि नेपाल नागरिक वा नेपालमा बसोबास गरेका व्यक्तिले निःशुल्क यो खोप प्राप्त गर्नेछन् । चाहे हामी अनुदानका रूपमा प्राप्त गरौँ, जस्तो यसपल्ट प्राप्त गरेका छौँ, अथवा हामीले किन्न परोस् । करिब तीन महिनाभित्र हामीले सम्पूर्ण नेपालीलाई खोप उपलब्ध गराइसक्छौँ । मेरो विचारमा तीन महिना लाग्न सक्छ भन्ने लाग्छ । 

१७ माघ (चितवन)  : सम्पूर्ण नेपालीलाई खोप लगाउन एक वर्ष लाग्छ

अहिले नेपालमा खोप लगाउने क्रम अगाडि बढिरहेको छ । मैले भनेको छु, एकदमै फोरफ्रन्टमा रहेर, कठिनाइ झेलेर काम गर्नेहरूलाई खोप दिलाउने काम आगामी तीन महिनाभित्र हामी सम्पन्न गर्नेछौँ । बाँकी जनतालाई क्रमशः सन् २०२१ भित्र खोप लगाइसकेर कोभिड–१९ लाई हामी नेपालबाट भगाउनेछौँ । बाँकी विश्वले पनि भगाउँछ भन्ने हामीले विश्वास लिएका छौँ । 

……

हालसम्म नौ करोडले लगाए कोभिड– १९ विरुद्ध खोप

हालसम्म विश्वभर नौ करोड आठ लाखजनाले कोभिड– १९ विरुद्धको भ्याक्सिन लगाएका छन् । प्रतिष्ठित सञ्चार संस्था ब्लुमबर्गले संकलन गरेको तथ्यांकअनुसार हालसम्म ६२ देशमा खोप लगाउने काम सुरु भएको छ । पछिल्लो तथ्यांकअनुसार दैनिक औसत ४३ लाख ९० हजार डोज खोप विश्वभर लगाइन्छ । अर्बौँ जनतालाई लगाउनुपर्ने कोरोनाविरुद्धको खोप अभियान विश्व इतिहासमा हालसम्मकै सबैभन्दा ठूलो हुनेछ ।

अमेरिकामा १४ डिसेम्बरमा खोप लगाउन सुरु गरिएकोमा हालसम्म दुई करोड ८९ लाख डोज खोप लगाइसकिएको जनाइएको छ । अमेरिकाले हरेक दिन १३ लाख डोज खोप लगाउने गर्छ । त्यस्तै, चीनमा दुई करोड ३० लाख डोज खोप लगाइसकिएको छ । चीनमा दैनिक ११ लाख ४३ हजार डोज खोप लगाउने गरिन्छ । युरोपेली संघका मुलुकमा एक करोड १६ लाख डोज खोप लगाइएको ब्लुमबर्गले जनाएको छ । भारतमा हालसम्म २९ लाख २८ हजार डोज खोप लगाइएको छ ।

हालसम्म फाइजर–बायोएनटेक खोपले उत्तर अमेरिका, युरोप तथा मध्यपूर्वमा प्रयोगको अनुमति पाइसकेको छ । यो र मोडर्ना खोप ९५ प्रतिशत प्रभावकारी रहेको निष्कर्ष दशौँ हजार स्वयंसेवीमा गरिएको परीक्षणबाट पत्ता लागेको थियो । पिएलसी र अक्सफोर्ड विश्वविद्यालयले बनाएको एस्ट्राजेनेका खोपले बेलायतमा ३० डिसेम्बरमा प्रयोगको अनुमति पाएको थियो । चीन, भारत र रसियाले पनि आ–आफ्नो मुलुकमा उत्पादित खोपलाई प्रयोगको अनुमति दिइसकेका छन् ।
हालसम्म इजरायलले सबैभन्दा तीव्र गतिमा खोप लगाइरहेको छ । उसले एक सयमा ५१ जनालाई खोप लगाइसकेको छ । तर, विश्वका धेरैजसो मुलुकले हालसम्म पनि खोप सुरु गरेका छैनन् ।

शनिबारसम्म ६४ हजारले लगाए खोप 

पहिलो चरणमा कुल जनसंख्याको तीन प्रतिशत अर्थात् नौ लाख ११ हजार नागरिकलाई खोप लगाउने सरकारको योजना थियो । तर, खोप १० लाख मात्रै आएकाले चार लाख ३० हजार नागरिकलाई लगाइनेछ ।

शनिबारसम्म देशभर ६४ हजार चार सय २२ जनाले खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । ७७ जिल्लाका एक सय ४३ खोपकेन्द्रबाट खोप वितरण भइरहेको छ ।

मन्त्रालयका अनुसार प्रदेश १ मा एक हजार पाँच सय ४७, प्रदेश २ मा दुई हजार एक सय १०, बागमतीमा पाँच हजार चार सय दुई, गण्डकीमा एक हजार आठ सय ८७, लुम्बिनीमा दुई हजार ६३, कर्णालीमा नौ सय ५५ र सुदूरपश्चिम प्रदेशमा नौ सय ३० जनाले खोप लगाएका छन् । आम रूपमा कुनै पनि स्वास्थ्य समस्या नभएको खोप शाखा प्रमुख डा. झलक शर्मा गौतमले बताए । ‘केहीलाई सामान्य सिकायत छ । तर, अस्पताल जानुपर्ने गरी समस्या कसैलाई पनि देखिएको छैन,’ उनले भने ।

नेपालमै कोभिड परीक्षण सुरु भएको ठीक एक वर्षपछि बुधबारदेखि कोभिड– १९ विरुद्धको खोप अभियान सुरु भएको छ । नेपालमा एक वर्षअघि अर्थात् १४ माघ ०७६ बाटै कोरोना भाइरसको परीक्षण सुरु गरिएको थियो ।

अभियानको पहिलो चरणमा महामारीका वेला फ्रन्टलाइनमा खटिएर काम गर्ने स्वास्थ्यकर्मी, एम्बुलेन्स र शवबाहनका चालक, महिला स्वास्थ्य स्वयंसेविका, जेलमा रहेका व्यक्ति र उनीहरूको सुरक्षामा खटिएका सुरक्षाकर्मी, एयरपोर्ट र नाकामा काम गर्ने कर्मचारी र त्यहाँ खटिएका सुरक्षाकर्मीलाई खोप लगाउन थालिएको हो ।

स्वास्थ्य मन्त्रालयको परिवार कल्याण महाशाखाका अनुसार पहिलो चरणमा तीन प्रतिशत अर्थात् नौ लाख ११ हजार तीन सय ४२ जनालाई खोप लगाइने तय भएको थियो । तर, अनुदानमा १० लाख डोज खोप आएकाले पहिलो चरणमा चार लाख ३० हजारलाई मात्र लगाउने तयारी छ । बाँकी खरिद गरी पूरा गरेपछि मात्रै दोस्रो चरणको अभियान सुरु हुने बताइएको छ ।

दोस्रो चरणमा कुल जनसंख्याको १७ प्रतिशत अर्थात् ५१ लाख ६४ हजार दुई सय ६९ जनामा खोप लगाउने योजना छ । त्यसैगरी तेस्रो चरणका लागि ४० देखि ५४ वर्षका बाँकी सबै ९.५५ प्रतिशत अर्थात् २९ लाख एक हजार एक सय चारजना छन् । तेस्रो चरणमै १५ देखि ३९ वर्ष उमेर समूहका सबै ४२.०७ प्रतिशत अर्थात् एक करोड २७ लाख ८० हजार ४८ जनालाई खोप लगाइनेछ । नयाँ पत्रिकामा समाचार प्रकाशित छ ।