काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले प्रधानमन्त्री ओली हिन्दू राज्य बनाउने प्रयासमा लागेको बताउनुभयो । प्रधानमन्त्री ओली पक्षले पुस २३ गते काठमाडौमा गर्ने भनेको जनसभामा राजावादीहरू पनि सहभागी हुने कुरा सुनेको भन्दै पाण्डेले प्रधानमन्त्री ओलीले २३ गतेको जनसभामा नै हिन्दू राज्य घोषणा गर्ने चर्चा रहेको पनि बताउनुभयो ।
प्रधानमन्त्री ओली संविधान मार्ने कुचेष्टा गर्दै गलत बाटोमा लागेको उहाँको भनाइ छ । नेपाली नागरिकले प्रतिगामी कदम परास्त गर्नेमा उहाँले दाबी गर्नुभयो । नेकपा प्रचण्ड–माधव पक्ष स्थायी कमिटी सदस्य पम्फा भुसालले प्रधानमन्त्री ओलीले संविधानलाई समाप्त गरि हिन्दू राज्य स्थापनाको षड्यन्त्र गरेको बताउनुभयो । प्रधानमन्त्री ओली प्रतिक्रियावादीको मतियार बनेर इतिहासको कुपात्र बनेको भन्दै उहाँले ओलीबाट थप कदम सम्भव नभएको बताउनुभयो । ओली प्रतिगमनको पराजय छिट्टै गर्ने उहाँको भनाइ छ ।
विघटित प्रतिनिधि सभा सदस्य पूर्णकुमारी सुवेदीले संविधान विपरीत जाने कदमका विरुद्ध लागिरहने बताउनुभयो । संविधानको रक्षाका लागि जति दिन पनि आन्दोलन बस्ने भन्दै उहाँले आन्दोलनले ०६२/०६३ सालको जनआन्दोलनको रूप लिने पनि बताउनुभयो ।
गएको पुस १४ गतेदेखि माइतीघर मण्डलामा जारी धर्ना आइतबार समाप्त गरिएको छ । २१ गतेसम्मको पूर्व निर्धारित कार्यक्रम भए पनि आउँदो सङ्घर्षको कार्यक्रमको तयारीमा लाग्नुपर्ने भएकाले आइतबार नै धर्ना कार्यक्रम समाप्त गरिएको प्रचण्ड–माधव समूहले जनाएको छ ।


