काठमाडौं । नेपाली कांग्रेसको भ्रातृसंगठन नेपाल तरुण दलले म्यानमारमा भएको सैनिक कूको निन्दा र भत्सर्ना गरेको छ । दलका अध्यक्ष जितजंग बस्नेतले मंगलबार विज्ञप्ति जारी गरी त्यहाँको सैनिक सरकारलाई जनमतको कदर गर्न र नजरबन्दमा राखिएका नेताहरूलाई अविलम्ब रिहा गर्न माग गरेको छ ।

‘आजको सभ्य मानव समाजलाई नै चुनौतीको रुपमा देखिएको बर्माको सैनिक प्रवृतिलाई जनताको जनमतको कदर गर्न र यसो वा त्यसोको बहाना नबनाई प्रजातन्त्रको मूल्यमान्यतालाई आत्मसात गरी नयाँ संसदको आधिकारिक नतिजालाई स्वीकार गर्न, लोकतन्त्रका धरोहर विश्व समाजवादी नेता आङ सान सुकीलगायत अपदस्थ नेताहरुलाई रिहा गर्न र बर्मामा प्रजातन्त्रको प्रक्रियालाई सुचारु गर्न नेपाल तरुण दल केन्द्रिय समिति चेतावनी दिन चाहन्छ,’ विज्ञप्तिमा भनिएको छ ।

तरुण दलले स्वतन्त्रताप्रेमी र प्रजातन्त्रप्रेमीको साथमा आफूहरू सधैं रहेको उल्लेख गरेको छ । ‘तरुणहरुको संगठन भएकाले विश्वका कुनै पनि देशमा हुने प्रजातन्त्र एवं जनताको शासन विरोधी गतिविधिको निन्दा र विरोध गर्दै त्यहाँका स्वतन्त्रताप्रेमी जनसमुदायसँग नैतिक साथ, समर्थन र सहयोग निरन्तर रहने विश्वास दिलाउन चाहन्छौं,’ विज्ञप्तिमा भनिएको छ ।

सोमबार बिहान म्यानमारको सैनिकले देशको शासन सत्ता आफ्नो हातमा लिई एक वर्षका लागि संकटकाल घोषणा गरेको थियो । अहिले म्यानमारमा टेलिफोन, मोबाइल, इन्टरनेट तथा सञ्चारका साधन बन्द छ ।