अर्घाखाँची । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले अदालतले जनताको पक्षमा फैसला गर्छ भनेर सोचेर बस्न नहुने बताएका छन्। अदालत छ भनेर ढुक्क हुन सकिने अवस्था नरहको उनले बताए। यद्यपी संसद पुनर्स्थापनाको विकल्प नभएको उनको भनाइ छ।
अर्घाखाँचीको सन्धिखर्कमा प्रेस नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै डा। भट्टराईले अदालतको भर नभएकाले जनस्तरबाट निरन्तर दबाब दिनुपर्ने बताएका छन्। देश अस्थिरता र प्रतिक्रान्ती तर्फ जाने डर भएकाले यो कदमलाई तत्काल सच्चाइहाल्नु पर्ने उनको भनाइ छ।
प्रधानमन्त्री ओलीको कदमले देश डरलाग्दो अवस्थामा जाने खतरा रहेको भन्दै यो असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगामी कदमको सडक आन्दोलनबाट सच्चाउनुको विकल्प नभएको बताए। ‘संसद पुनर्स्थापना हुन्छ भन्ने मलाई लाग्दैन, बैशाखमा चुनाव पनि हुँदैन, डा। भट्टराईले भने,‘नेपाली जनताका लागि सहज अवस्था आउँदैन।’ प्रधानमन्त्री र राष्ट्रपति मिलेर संकटकाल लगाउन सक्ने पनि उनले बताए।
जनता समाजवादी पार्टी नेपालका संघिय परिषद् अध्यक्ष समेत रहेका डा। भट्टराईले देशलाई गृहयुद्धबाट बचाउन र सरकारको प्रतिगमन कदमका विरुद्धमा अन्य दलसंग सहकार्य गरेर आन्दोलनमा जान आफूहरु तयार रहेको बताए।
गणतन्त्रको रक्षाका लागि सबै दलहरु एक भएर आन्दोलनमा जानुपर्ने उनको धारणा छ। संयुक्त आन्दोलनका लागि नेपाली कांग्रेस र प्रचण्ड–नेपाल समूहसंग कुराकानी भैरहेको उनको भनाइ छ।