काठमाडौं ।
नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयमा स्ववियू निर्वाचन तत्काल घोषणासहित पाँचबुँदे माग राख्दै रिले अनशन सुरु गरेको छ । नेविसंघले उपकुलपतिको कार्यालयअगाडि रिले अनसन सुरु गरेको हो ।
नेविसंघ त्रिवि समितिका अध्यक्ष डा. श्यामचन्द्र अधिकारीको नेतृत्वमा सुरु अनशनमा ऐक्यबद्धता जनाउँदै नेविसंघका पूर्वकेन्द्रीय कोषाध्यक्ष शिव रिमाल, पूर्वकेन्द्रीय सदस्य सुशील तिमल्सेना, प्रेमिका रानामगर रिले अनशनमा बसेका छन् । नेविसंघका नेताहरुलाई संघका महामन्त्री दीपक भट्टराईले खादा र माला लगाएर अनशन सुरु गराएका हुन् ।
त्रिभुवन विश्वविद्यालयमा पटक–पटक नेविसंघ त्रिवि समित र केन्द्रीय समितिले स्ववियू निर्वाचनको सुनिश्चितता गर्न, शैक्षिक विकासमा केन्द्रित हुँदै त्रिविलाई नितान्त प्राज्ञिक क्षेत्र बनाइनुपर्ने, त्रिविमा राजनीतिक भागबन्डा अन्त्य गरिनुपर्ने र शैक्षिक गुणस्तर विकासमा विश्वविद्यालयको पदाधिकारी, उपकुलपति केन्द्रित हुनुपर्ने माग राख्दै आएको थियो । तर, नेविसंघका माग बेवास्ता गरिएपछि रिले अनशन बस्न बाध्य भएको नेवि संघ नेता भुवन भट्टले बताए ।
नेविसंघले स्ववियू चुनाव तत्काल घोषणा गर्न, कोभिड–१९का कारण परीक्षा र नतिजा प्रकाशनमा भएको ढिलाइका कारण शैक्षिकसत्र गुम्ने खतरा भएकोले एक महिनाभित्र नतिजा प्रकाशन गर्ने सुनिश्चितता गर्न, त्रिविको वार्षिक क्यालेन्डरअनुसार भर्ना प्रक्रिया सुचारु गर्न, विगतमा नेविसंघ त्रिवि समिति र त्रिभुवन विश्वविद्यालयबीच भएको २३ बुँदे सहमति कार्यान्वयन गर्न र त्रिविको प्रध्यापक, विद्यार्थी संगठनका नेतृत्वहरुलाई बदनाम गराउने र झुटो मुद्दा लगाउने काम बन्द गर्न पाँचबुँदे माग राखेको नेबिसंघका नेता भुवन भट्टले बताए ।।