काठमाडौंमा ओलिको शक्ति प्रदर्शनः ‘लोकतन्त्र कसैले मास्न सक्दैन’

351
FIle photo

काठमाडौं: सबैको चासो थियो– प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार के घोषणा गर्छन् ? राजनीतिक वृत्तमा गाइँगुइँ पनि थियो– ओलीले धर्मनिरपेक्षता र राजसंस्थाबारे केही नयाँ घोषणा गर्नेछन्। तर, प्रधानमन्त्री ओलीले शुक्रबार राजधानीमा आफू नेतृत्वको नेकपाको शक्ति प्रदर्शनमा दुईवटा विषय स्पष्ट पारे। पहिलो, संघीयता र गणतन्त्रप्रतिको प्रतिबद्धता। दोस्रो, प्रतिनिधिसभाको ताजा जनादेश।

ओलीले शुक्रबारको सभामा सरकारले गरेका कामको व्याख्या, आफ्नै पार्टीबाट सरकारलाई काम गर्न नदिँदा प्रतिनिधिसभा विघटन गर्नुपरेको स्पष्टोक्ति र विकास र समृद्धिको अभियानमा सबैको सहकार्य र सहयोगको अपिल गरे।

नारायणहिटी राजदरबार संग्रहालयको दक्षिण गेटमा पहिलो पटक आमसभाको आयोजना गर्नुले पनि ओलीतिर जनताको ध्यान केन्द्रित थियो। सभामा ओलीले संघीयता र गणतन्त्रलाई कार्यान्वयन गर्दै अघि बढ्ने घोषणा गरे। ‘आजै बिहानसम्म पनि लैनचौरतिर हिँड्नेहरूले केपी ओलीले राजतन्त्र फर्काएको घोषणा गर्दै छ भनेको सुनियो’, ओलीले सभामा भने, ‘जसले आधाभन्दा बढी समय लोकतन्त्रका लागि लड्यो, सामाजिक न्याय र समानताका लागि लड्यो, उसले राजतन्त्रको घोषणा गर्ने रे रु’ संघीय लोकतान्त्रिक गणतन्त्रलाई कार्यान्वयन गर्दै लगिने उल्लेख गर्दै उनले भने, ‘लोकतन्त्र कसैले मास्न सक्दैन। कसै, कुनै हिसाबले लोकतन्त्रतिर कर्के नजर नलगाए हुन्छ।’

‘अस्थिरता होइन, चुनाव चाहियो, चाहियो’ भन्दै भाषणको बीचमा कार्यकर्तालाई नारा लगाउन लगाउँदै उनले उद्घोष गरे, ‘अब देश चुनावतिर गयो, गयो।’ उनले अदालत र निर्वाचन आयोगलाई धम्की दिनुको अर्थ नरहेको बताए। अब निर्वाचनले नै सबै कुराको फैसला गर्ने उनको भनाइ थियो। निर्वाचनको माध्यमबाट जनताले फैसला गर्दा देश संकटमा नपर्ने दाबी गर्दै उनले भने, ‘निर्वाचनबाट देश संकटमा पर्छ र ? कसको सरकार बन्नुपर्छ, त्यो चुनावले फैसला गर्छ।’

उनले सरकारले काम गर्न नपाए प्रतिनिधिसभा विघटन गर्ने अधिकार संसदीय प्रणालीमा हुने गरेको तर्क गरे। बेलायतमा मात्र भर्खरै प्रधानमन्त्रीले संसद् विघटन गरेर नयाँ निर्वाचन गरेको उदाहरण उनले दिए। ‘हाम्रै बलमा संसद्मा आएर हामीलाई काम गर्न नदिने अनि सरकारले काम गरेन भन्नेको जवाफ चुनावबाट खोज्नुपर्छ’, उनले भने। भाषणको बीचमा आफ्नो पक्षमा नाराबाजी लागेपछि उनी केही बेर रोकिएका थिए। आजको अन्नपुर्णमा समाचार प्रकाशित छ ।