काठमाडौ । आज पूर्व र मध्य क्षेत्रका केही ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
हिजो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी भेगमा हिमपातसँगै वर्षा भएको थियो । दिपायल, डडेल्धुरा, धनगढी, वीरेन्द्रनगर, नेपालगञ्ज, जुम्ला, घोराही, भैरहवा र काठमाण्डौमा पानी परेको मौसमविद् सापकोटाले जानकारी दिनुभयो । हिजो सबैभन्दा धेरै डडेल्धुरामा १२ दशमलव २ मिलीमिटर पानी परेको छ ।
यो वर्षको हिउँदमा पानी ढिला गरी परेको त्यसमा पनि सामान्य किसिमको मात्रै परेको मौसमविद् सापकोटाको भनाइ छ । भोलिदेखि मौसम सुधार हुने पनि उहाँले बताउनुभयो । ढिलै भए पनि हिउँदे वर्षा र हिमपात भएपछि किसान खुसी भएका छन् ।


