कोरोना खोप लगाउँदै गरेको फाईल तस्विर ।

काठमाडौं : सरकारले कोभिड–१९ खोप अभियानअन्तर्गत सञ्चारकर्मीलाई कोरोना भाइरसविरुद्धको कोभिसिल्ड खोप निःशुल्क  उपलब्ध गराउने भएको छ । यो सुविधा कूटनीतिक नियोगमा कार्यरत कर्मचारीले पनि पाउनेछन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले  स्वास्थ्यकर्मीपछि सञ्चारकर्मी र कूटनीतिक नियोगमा कार्यरत कर्मचारीको पालो आएको जानकारी दिए । उनका अनुसार सूचना विभागद्वारा वितरित प्रेस पासका आधारमा सञ्चारकर्मीलाई खोप उपलब्ध गराइनेछ ।

त्यस्तै कूटनीतिक नियोग एवं संयुक्त राष्ट्रसंघको नेपालस्थित कार्यालयका विदेशी कर्मचारीका परिवारलाई पनि खोप लगाइनेछ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्ज, शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र, निजामती अस्पताल र पाटन अस्पतालमा खोप लगाउने व्यवस्था मिलाइएको छ ।

सरकारले भारत सरकारको अनुदानमा माघ ८ गते १० लाख मात्रा खोप नेपाल ल्याएको छ । हालसम्म १ लाख ८० हजारभन्दा बढीले खोप लगाइसकेका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पहिलो चरणमा स्वास्थ्यकर्मी, फोहोरमैला व्यवस्थापनमा खटिने फोहोर संकलक, एम्बुलेन्स तथा शववाहन चालक र सहचालक, खोप केन्द्रमा खटिने सुरक्षाकर्मी तथा स्वयंसेवकले खोप लगाएका छन् । त्यसैगरी शव व्यवस्थापनमा खटिने व्यक्ति, स्वास्थ्य स्वयंसेविका, अन्तर्राष्ट्रिय प्रवेश बिन्दुमा कार्यरत स्वास्थ्यकर्मी, वृद्धाश्रमका व्यक्ति तथा हेरचाहमा खटिने कर्मचारी एवं कारागारका कैदी र सुरक्षाकर्मीलाई खोप दिइएको छ । अन्नपुर्णले समाचार लेखेको छ ।