ओलीले घोषणा गरेको चुनावले संविधान र लोकतन्त्रलाई ध्वंस पार्छ : नेता श्रेष्ठ

206

काठमाडौ । नेकपा प्रचण्ड–माधव पक्षका नेता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री ओलीले आगामी बैशाखमा घोषणा गरेको चुनावलाई आफूहरुको आन्दोलनले खारेज गर्ने बताएका छन् ।

प्रतिनिधिसभा विघटनको विरोधमा प्रचण्ड–माधव समूहले बुधबार काठमाडौंमा आयोजना गरेको आमसभामा बोल्दै नेता श्रेष्ठले सरकारले घोषणा गरेको चुनावले संविधान र लोकतन्त्रलाई ध्वंस पार्ने भएकोले यसलाई आन्दोलनबाटै खारेज गरिने बताए ।

नेता श्रेष्ठले भने,’वास्तवमा केपी ओलीले यो चुनाव गर्न घोषणा गरेको पनि होइन । चुनाव नगर्नलाई घोषणा गरिएको चुनाव संविधान र लोकतन्त्रविरोधी भएको हामी धज्जी उडाउँछौं र हामी प्रतिगमनविरोधी आन्दोलनलाई सफल बनाएर त्यसलाई खारेज गर्न तत्पर छौं,’ श्रेष्ठले भने ।

नेता श्रेष्ठले प्रधानमन्त्री ओलीलाई एक मिनेट पनि प्रधानमन्त्रीको कुर्सीमा बस्ने अधिकार नभएको समेत बताए । उनले तीन वटा लक्ष्य र एउटा मुख्य उदेश्यका साथ घोषणा गरिएको भन्दै प्रतिनिधि सभा विघटन, संवैधानिक निकायमा जर्वजस्ती नियुक्ति प्रमुख लक्ष्य रहेको बताए ।

‘पुस ५ गते गरेको प्रतिनिधि सभा विघटन गरेकाले त्यसलाई सुचारु गर्नु र प्रतिगामी कदमलाई असफल पार्न, दोस्रो संवैधानिक परिषदको अवैधानिक बैठबाट नियुक्तिलाई असफल पार्न हामीले संघर्ष गरेका हौ’ श्रेष्ठको भनाई छ । उनले संविधान र संघीय लोकतान्त्रिक व्यवस्थालाई बचाउन पनि आन्दोलन जरुरी भएको बताए ।