पत्रकारका समस्या समाधानका लागि महासंघ सधै साथमा छः सचिव चौलागाई

136

घनश्याम पौडेल
अर्घाखाँची, २९ माघ । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका सचिव शुक्रऋषि चौलागाईले सम्पूर्ण पत्रकारहरुको छाता संगठन महासंघ पत्रकारहरुको मात्र नभई लोकतन्त्र र नागरिकको पहिलो अगुवा संगठन भएको बताउनुभयो ।

उहाँले श्रमजीवी पत्रकारका समस्या समाधानका लागि महासंघ अहोरात्र खटिएको भन्दै पत्रकारहरुको हकहितका लागि जस्तोजुकै परिस्थिति आएपनि पछि नहट्ने दृढता व्यक्त गर्नुभयो ।

नेपाल पत्रकार महासंघ अर्घाखाँची शाखाको १४ औँ वार्षिक साधारण सभाको बिहिवार सन्धिखर्कमा उद्घाटन गर्दै सचिव चौलागाईले अर्घाखाँची जिल्लामा रहेका पत्रकार संगठनहरुबीच विगत देखि चल्दै आएको सहमति र सहकार्यको मुक्तकण्ठले प्रशंसा गर्नुभयो ।

कार्यक्रममा पत्रकार महासंघका संस्थापक सभापती बिष्णु प्रसाद भुसाल, संस्थापक सदस्य बिष्णु प्रसाद खनाल “मुस्कान”, पुर्व अध्यक्ष निम बहादुर रिजाल, निवर्तमान अध्यक्ष तथा लुम्बिनि प्रदेश सदस्य शोभाखर पन्थी, प्रदेश सदस्य प्रेमनारायण आचार्य, प्रदेश सदस्य अशोक खनाल, प्रेस युनियनका जिल्ला अध्यक्ष वीरेन्द्र केसी, प्रेस संगठनका अध्यक्ष हृदयकुमार भुसाल, सविता आचार्य, जनपत्रकार संगठनका जिल्ला अध्यक्ष अनिल नेपाली, प्रेस नेपालका जिल्ला अध्यक्ष दिनेश सुनार, साधारण सदस्य छमकुमारी खनाल, गोपाल पौडेल, शालिकराम आचार्य लगायतले शुभकामना मन्तव्य राख्दै महासंघले जिल्लामा क्रियाशिल पत्रकारहरुको हीतमा काम गर्न सुझाव दिए ।

कार्यक्रममा पत्रकार महासंघ अर्घाखाँचीका अध्यक्ष हिमबहादुर जिसी लेकालीको अध्यक्षता, उपाध्यक्ष गणेश खनालको स्वागत मन्तव्य र सचिव सुर्य प्रसाद भुसालको संचालनमा सम्पन्न भएको हो । उद्घाटन सत्रपछि बन्द सत्रमा महासंघका जिल्ला सचिव सुर्य प्रसाद भुसालले सांगठानिक प्रतिवेदन र कोषाध्यक्ष बिनोद गैरेले आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो ।

साथै साधारण महासंघको बन्द सत्रपनि बिहिबार नै सम्पन्न भएको छ । बन्द शत्रले ७ बुँदे घोषणा पत्र जारी गरेको छ । पत्रकार महासंघका उपाध्यक्ष गणेश खनालले घोषणा गरेको ७ बुदे घोषणापत्रमा पत्रकारको हक र हितका लागी महासंघ सधै प्रतिवद्ध रहेको कुरा समेटिएको थियो ।