प्रधानमन्त्री ओलीको ठाडो आदेशमा झाँक्रीलाई पक्राउ गरियो : प्रचण्ड

289
File photo

काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले नेतृ रामकुमारी झाँक्रीलाई प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो आदेशमा पक्राउ गरेको बताएका छन् ।

बिहीबार आदिवासी जनताजाति मगरसंघ नेपालको कार्यक्रममा अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।

‘रामकुमारी झाँक्रीलाई प्रहरीले हिजोदेखि पक्राउ गर्न बल गरेको थियो । तथाकथित राष्ट्रपतिका बारेमा गलत बोल्यो भन्ने नाममा प्रधानमन्त्रीको ठाडो आदेशमा पुलिसलाई जसरी पनि पक्राउ गर्नुपर्छ भन्ने थियो,’ उनले भने, ‘हामीले रोक्न बल गर्‍यौं हिजो बेलुकासम्म पनि । अहिले भर्खर जबरजस्ती पक्राउ गरेर लगेका छन् । कम्युनिस्ट पार्टीप्रति हमला भएको छ ।’

राष्ट्रपति विद्यादेवी भण्डारीको आलोचना गरेको अभियोगमा महानगरीय अपराध महाशाखाको टोली झाँक्रीलाई बिहीबार उनकै घरबाट पक्राउ गरेको हो । गोरखामा आयोजित एक कार्यक्रममा राष्ट्रपतिबारे गरेको टिप्पणीलाई लिएर नेकपा ओली समूहसम्बद्ध अनेमसंघले रामकुमारीलाई कारबाही गर्न माग गरेको थियो ।