‘प्रतिगामी कदम’लाई जनआन्दोलन गरेरै घुँडा टेकाउनुको विकल्प छैनः जनमोर्चा अध्यक्ष केसी

260

घनश्याम पौडेल
अर्घाखाँची, ३० माघ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संविधानमै व्यवस्था नभएको संसद् विघटन गर्ने केपी ओलीले मुलुकमा संकटकाल लगाएर शासन गर्न खोजेको आरोप लगाएका छन् ।

प्रगतिशील पत्रकार संघले अर्घाखाँचीको सन्धिखर्कमा शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै केसीले ‘संविधानमै व्यवस्था नभएको संसद् विघटन गर्ने केपी ओलीले मुलुकमा संकटकाल लगाएर शासन गर्न सक्ने बताए।’

https://fb.watch/3C1JHaHzTd/

ओलीको ‘प्रतिगामी कदम’लाई जनआन्दोलन गरेरै घुँडा टेकाउनुको विकल्प नभएको बताउँदै प्रमुख प्रतिपक्षी काँग्रेस, नेकपा प्रचण्ड–माधव नेपाल पक्ष र मधेसबादी दल एकजुट भएर आन्दोलन गर्नुपर्ने बताए ।

प्रधानमन्त्री ओलीले पार्टी भित्रको आन्तरिक विवाद मिलाउँन नसकेर देशलाई भड्खालोमा हालेको आरोप लगाए । पार्टीभित्रको विरोधको सामना गर्न नसकेर सत्ताको लोभले संसद् विघटन गरेर अलोकतान्त्रिक कदम चाल्नु बेठीक भएको बताउँदै पार्टीभित्रको झगडाकै कारण संसद् विघटन हुनु देशकै लागी दुःखद भएको उल्लेख गरेका छन् ।

पुर्वउपप्रधानमन्त्री समेत रहेका अध्यक्ष केसीले ‘सड्कबाटै आन्दोलन गरेर संसद पुनःस्थापना हुने दाबी गरे।’ संसद पुनःस्थापना गर्नका लागी सबै राजनितिक दलहरु एकठाउँमा आउँन आग्रह गर्दै वार्ता गर्नका लागी जनमोर्चा तयार रहेको बताए।

‘अदालतले के गर्ला भनेर पर्खेर बस्नु हुँदैन, सबैभन्दा सर्वोच्च जनता हो, आन्दोलन गरेरै ओलीको प्रतिगामी कदमलाई असफल पारेर संसद् पुनःस्थापना गर्नुको विकल्प छैन,’ केसीले भने ।

‘आफ्नै दुई तिहाइको कम्युनिस्ट सरकार पार्टीभित्रको अन्तरविरोधलाई सामना गर्न नसकेर ओलीले संसद् विघटन गर्नु गलत हो,’ उनले भने, ‘पाटीभित्र विरोध उठ्छ, असहमती हुन्छ, त्यसको भित्रै समाधान गर्नुपर्छ, बहुमत सदस्यले विरोध गरेपछि ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिनुपर्थ्यो । जनताको सर्वोच्च निकाय संसद् विघटन गर्नु सरासर गलत हो ।’
पदको लडाइँले संसद् विघटन भएपछि अहिले नेकपाका दुई समूहले काठमाडौमा रमिता देखाएको उनले बताए । ओली समूह र दाहाल–नेपाल समूहले को भन्दा को कम भनेर मान्छेलाई उतारेर शक्ति प्रदर्शन गर्ने र धेरै मान्छे देखाउने काम भएको केसीले बताए । ‘कम्युनिस्टका दुई पाइलटले गाईजात्रा देखाएका छन्,’ उनले भने ।

प्रधानमन्त्री ओलीले आफ्नो पार्टीको विरोधको सामना गर्न नसकेर सत्ताको लोभले संसद् विघटन गरेर अलोकतान्त्रिक कदम चाल्नु बेठीक भएको केसीले बताए ।

गणतन्त्र, धर्म निरपेक्षता र राष्ट्रियता बचाउन ओलीले चालेको प्रतिगामी कदमका विरुद्ध नेपाली कांग्रेस, नेकपाको प्रचण्ड–माधब समुह, मधेसवादी दल लगायतका सबै दलहरु ०६२–६३ को जन आन्दोलनमा जस्तै एक भएर आन्दोलनको आँधीबेहरी सिर्जना गर्नु पर्ने अवस्था आएको बताएका छन् ।

देशको राष्ट्रियता, सार्वभौमिकता र अखण्डता बचाउन संसद पुनस्र्थापनाको विकल्प नभएको कारण संसद पुनस्र्थापनाका लागि राष्ट्रियस्तरमा सर्वदलिय आन्दोलन जरुरी रहेको उनको भनाइ छ । राष्ट्रिय जनमोर्चा केन्द्र, प्रदेश र स्थानीय तहमा दलसँग सहकार्य गरेर आन्दोलन गर्न तयार रहेको बताएका छन् ।
अध्यक्ष केसीले भारतको इशारामा प्रधानमन्त्री ओलीले संसद विघटन गरेको समेत आरोप लगाए । उनले दरवारीय र संकृणवादी कम्युनिष्टका कारण नेपाली जनताको लामो संघर्ष र वलिदानीबाट प्राप्त भएको गणतन्त्र खतरामा परेको बताएका छन् ।