युद्धकालमा पार्टीले कब्जा गरेको जग्गा खरिद विक्री गर्ने दलाल कार्वाहीमा पर्छनः सेक्रेटरी

191

सन्धिखर्क, ३० माघ । नेपाल कम्युनिस्ट पार्टी अर्घाखाँचीले जनयुद्धकालमा पार्टीले कब्जा गरेको जग्गा खरिद विक्री गर्ने दलालहरुलाई पार्टीले कारवाही गर्ने बताएको छ ।

पार्टीका जिल्ला सेक्रेटरी खेमले शनिवार एक वक्तव्य जारी गर्दै शितगंगा नगरपालिका वडा नं. ७ दमारबेसीमा रहेको जीवनारायण बेलबासेको जग्गा पार्टीले २०५९ सालमा कब्जा गरेको र सो जग्गामा सहिद परिवार र कुमाल परिवारले भोगचलन गर्दै आएकोमा अहिले जीवनारायणका छोरा नारायण बेलबासेले विक्री गर्न लागेको भन्दै उक्त जग्गा खरिदविक्री गरेमा कारवाही गर्ने बताएका छन् ।
उनले वक्तव्यमा उक्त जग्गा पार्टीले फुकुवा नगरेको र पार्टी मातहतमा रहेको भन्दै विक्री गर्न वा गराउन खोजिए त्यसपछिको परिस्थितिको जिम्मेवार स्वयं हुने बताएका छन् ।

वक्तव्यमा भनिएको छ,“पार्टीको उक्त जग्गा जोकसैले पनि किनबेच नगर्न र नगराउन सम्बन्धित पक्षलाई सचेत गराउँदछौं । यदि उक्त जग्गा खरिद विक्री गरिए वा गराउन खोजिएमा दुवै पक्षलाई पार्टीले कडा कारवाही गर्ने र त्यसबाट उत्पन्न परिस्थितिको जवाफदेही उनीहरू स्वयं नै हुने स्पष्ट नेकपाले पारेको छ ।