बाबुराम र म एकै पार्टीमा नभए पनि मुद्दाको हिसाबले एउटै मोर्चामा छौं : दाहाल

237

काठमाडौँ । नेकपा अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पूर्वसहकर्मी बाबुराम भट्टराई र आफू एउटै मोर्चामा रहेको बताएका छन् ।

पूर्वप्रधानमन्त्री तथा जसपा संघीय परिषद् अध्यक्ष भट्टराईको पुस्तक विमोचन गर्ने क्रममा दाहालले आफूहरूको विगतको कामले अलग हुन नसक्ने पनि बताए । दाहालले विगतको गम्भीर आत्मसमीक्षा गर्नुपर्ने बेला आएको पनि बताए ।

माओवादी सशस्त्र संघर्षका बेलादेखि नै आफूहरू सँगै रहेको भन्दै आफूहरू अलग हुन नसक्ने पनि दाहालको भनाइ थियो । विगतका कामले गर्दा जति अलग्गै पार्टीमा गए पनि आफूहरू नजिक भइरहने अवस्था रहने उनको भनाइ थियो ।

बाबुराम र आफ्नो एउटै मञ्चमा उपस्थिति सामान्य प्राविधिक घटना नभएको पनि दाहालको भनाइ थियो । दाहालले संविधानको मूल मर्ममाथि प्रहार भएको भन्दै त्यसको रक्षाका लागि सबै लाग्नुपर्ने आह्वान पनि गरेका थिए ।