प्रेमपत्र ! प्रिय सानु…….

232

प्रिय सानु…..

खै कहाँबाट सुरु गरौं र कहाँबाट बन्द गरौँ आज म आफ्नो प्रेमको कोशेली । आज फेब्रुअरी १४ रहेछ, आज भ्यालेन्टाईन डे मनाईने रहेछ । मलाई थाहा छैन यी अक्षरहरुलाई बटुल्दै लेख्दै जादाँ तिम्रो मुहार अनि मनको मन्द प्रतिक्रिया कस्तो हुन्छ ? सकरात्मक र आत्मबिश्वासलाइ दृढतापुर्वक परिपक्क बनाएर यी अक्षरहरुलाइ सिंगार्दै प्रेमको पत्र पस्कन चाहान्छु !

कुनैदिन यो एकलाप तिमीसम्म पुग्नेछन् भन्ने अर्को पक्ष पनि छ । यदि त्यसो हुनेछ त त्यो अर्थमा यसलाई प्रेमपत्र भन्न पनि मिल्ला । तर, आजको वर्तमानमा उभिएर भन्दा यो खाली मेरो हृदयबाट निस्किरहेको आवाज हो । जुन कहीँ कतै अभिव्यक्त हुने ठाउँ नपाएर यी कागजका पानामा मात्र पोखिन विवश छन् ।

आजको दिन विशेष दिन हो, तिमिलाई नि थाहा पक्कै होला । माया गर्न कुनै दिन पर्खनु पर्दैन मलाई थाहा छ । मभन्दा बढी तिमी जानकार छौ होला ।
मेरो हरेक अध्याय, हरेक खण्ड, हर अनुच्छेदमा तिमी हुनेछौ । जसरी सरगमबिना संगीत अधुरो छ, त्यसैगरी तिमी नभए अपूर्ण कथा बनेर म पनि हराउनेछु । म बाँच्नुको उदेश्य तिम्रो ओठमा मुस्कान हेर्नु र आफू तिम्रो छत्रछायाँ रहिरहोस् भन्ने हो । आज अस्तव्यस्त मेरो जिन्दगीको यदि कसैले चासो राख्छ भने त्यो तिमी नै हौ ।

ती आँखाहरूबाट तिमीभित्रको सम्पूर्ण संसार देख्न नपाए पनि मैले त्यो हृदयको एउटा पाटो तिनै आँखाहरूबाट चिहाएको छु।

हरेक दिन आउने त्यो चौबीस घण्टाको समय तिमीलाई सम्झिनका लागि एक पलजस्तो मात्र लाग्छ । यी सपनाजस्ता दिन तिम्रै झझल्कोमा बित्दै बित्दै जान्छन् । मेरो हृदयको दृष्टि जहाँसम्म पुग्छ, म तिमीलाई त्यहाँसम्म देख्छु ।
गडयाङ गुडुङ आवाज निकाल्दा चिरिएर दुई फयाक भएको आकाशको छातीबाट भएको मुसलधारे वर्षाबाट मुटुहरु लगलगाइरहन्छ ।

प्रेम शाश्वत छ । महान छ, र दूरताले यसलाई अझ गाढा बनाउँछ । केवल तिम्रो यादले मलाई दिउँसो, राति, भोक, तीर्खा, निन्द्रा मलाई छुटयाउन गाह्रो परेको छ ।

पुस–माघको समय बिहानीको चिसो मौसम । त्यसैमा हिउँदे झरी परेको त्यो दिन ! हाम्रो भेट कलेजको क्यान्टिमा हुन्थ्यो । बिहानी समयमा कलेजको क्यान्टिनमा तिम्रो आँखामा डुबिरहँदा तातो चियाको कपमा मेरो ओठ चोपिएर च्वास्स पोलेको आज जस्तै लाग्छ । सुन्दरताको दृष्टिकोणमा औसत भए पनि त्यो सुशील आनीबानी, चञ्चलता अनि तिख्खर हेराइमा मेरो मन तिम्रो मनको बस्तीसम्म अनायासमै सञ्चारित हुन पुगेको थियो।

‘एउटा मान्छेको मायाले कति फरक पर्दछ जिन्दगीमा’ भनेझैं तिम्रो सुमधुर मायाले आजभोलिका दिनमा निकै फरक परेको छ, मेरो जिन्दगीमा । यस्तो लाग्दछ कि प्रत्येक दिन नै फेब्रुवरी १४ हो । तिम्रै कारण म हरेक फूललाई गुलाफ नै देख्छु । फागुन चैतमा फुल्ने लालीगुराँसलाई पनि गुलाफ झैँ देख्छु । ती फूलका पत्रपत्रमा तिम्रो सुगन्ध नै महसुस गर्छु। हिउँदमा पातमा देखिने शितका थोपाहरु जब म देख्छु, तब तिम्रा केशहरुबाट खस्ने पानीका थोपाहरुलाई सम्झन्छु।

त्यो प्रेम, स्कूलमा लुकाएर दिएको प्रेमपत्र, घण्टौं घोरिएर शब्द रोजी रोजी पठाएका एसएमएसहरु, रातिराति लुकेर गरेको च्याट, रिप्लाइ कुर्दै अनिँदो बसेका रातहरु, पहिलो भेट, जुधेका आँखाहरु अनि सँगै भएका बेला निस्किएका थुप्रै निःशब्द प्रेमभाषाका पलहरू यादमै छन ।

प्रेम सम्मान हो, विश्वास हो अनि अहिलेसम्म यो पृथ्वी बाँच्नुको कारण हो । मायाका नाममा कुनै दुर्व्यवहार नगरौं, मायाको सम्मान गरौँ अनि मायाको पहिचान बनाऔं। स्वार्थ प्राप्तिको लालसा माया कदापि हुनै सक्दैन, त्यो अपराध हो, अपमान हो। आकर्षण त फेरि सक्किएला तर अचानक एकले अर्कोप्रति समर्पण गरेको अनुभूति जुगौँजुग अमर भई बाँच्नेछ। प्रेमलाई केवल प्रेमीप्रेमिकासँग मात्र के जोड्नु, संसारै मायामै अड्केको छ।

अन्तमा
प्रीय सानु,
विकृतिलाई हटाएर अपार उल्लास र उत्साहका साथ भ्यालेन्टाइन्स डे मनाऔं र प्रेमको सम्मान गरौं।
ह्याप्पी भ्यालेन्टाइन्स डे।

उही मान्छे…..
घनश्याम पौडेल ‘परिश्रमी’