सरकार गठनको तीन वर्ष, १० महिनापछि प्रधानमन्त्री ओली आज सिंहदरबार जाने

364
File Photo

काठमाडौं, ३ माघ । प्रधानमन्त्री केपी ओली ८ मंसिरमा ताप्लेजुङको घुन्सामा पुगे, २४ पुसमा उनी धनगढीमा पुगे । यसबीचमा उनी भाषण गर्न सिराहा र चितवन पुगेका छन्, त्यसअघि संखुवासभा पनि पुगेका थिए ।

फागुन १ गते लुम्बिनी प्रदेशस्तरिय आमसभालाई सम्बोधन गर्न बुटवल पनि पुगेका थिए । तर, प्रधानमन्त्री आफ्नै कार्यालय सिंहदरबार भने १० महिनादेखि गएका छैनन । सरकार गठन भएको तीन वर्ष पुरा हुदाँ आज प्रधानमन्त्री केपी शर्मा ओली सिंहदरबार पुग्ने निकट स्रोतले जनाएको छ ।

१० महिनासम्म सिंहदरबार नपुगेका प्रधानमन्त्री ओलीले तीन वर्षमा भएको कामबारे आज सिंहदरबारबाट ब्रिफिङ गर्ने तयारी रहेको छ ।

ओलीको नेतृत्वको सरकार गठनको आज तीन वर्ष पूरा भएको छ । राजनीतिक स्थिरता, समृद्धि र सुशासनको नारासहित २०७४ फागुन ३ गते ओली नेतृत्वको सरकार गठन भएको थियो ।

आफ्नो नेतृत्वको सरकारले स्थिरता, विकास र सुशासनमा चमत्कारपूर्ण काम गरेको प्रधानमन्त्रीको दाबी छ । तर सरकारका काममाथि विभिन्न प्रश्न उठ्न थालेका छन् । पार्टीभित्र उत्पन्न विवादकै कारण प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेपछि उहाँले अघि सार्नुभएको राजनीतिक स्थिरिताको नारामै प्रश्न उठेको छ । यस्तै शक्तिशाली सरकार भए पनि विकास निर्माणका काम सन्तोषजनक नभएको गुनासो छ ।

तत्कालीन वाम गठबन्धनले ल्याएको चुनावी घोषणापत्रमा उल्लेख भएका धेरै काम सुरु समेत हुन सकेको छैन । रेल, पानीजहाज लगायतका महत्वाकांक्षी योजनाहरु घोषणामै सीमित छन् । तै पनि सरकारले यसअघि कहिल्यै हुन नसकेको विकास निर्माण र सुशासनको काम भएको दाबी गरेको छ ।