१० महिनापछि सिंहदरबारमा प्रधानमन्त्री : दोहोर्‍याएर भन्छु– भ्रष्टाचारीको मुख पनि हेर्दिनँ

134
FIle photo

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले भ्रष्टाचार न्यूनीकरणका लागि सरकारले उल्लेख्य सफलता पाएको तथ्यांक प्रस्तुत गर्दै भ्रष्टाचार नगर्ने र कसैलाई गर्न पनि नदिने बताएका छन् ।

सरकारको तीनवर्षे कार्यकालका उपलब्धिहरू सार्वजनिक गर्दै सोमबार सिंहदरबारमा अयोजित पत्रकार सम्मेलनमा आफू पनि भ्रष्टाचार नगर्ने र अरुलाई पनि गर्न नदिने पुरानै भनाइ दोहोर्‍याए ।

‘गत वर्ष आजकै दिन प्रतिनिधिसभामा सम्बोधन गर्दा मैले भनेको थिएँ– ‘म आफू भ्रष्टाचार गर्दिनँ र अरूलाई पनि गर्न दिन्नँ ।’ आज फेरि एकपटक दोहोर्‍याउन चाहन्छु– ‘दूराचारी र दूराचार, भ्रष्ट र भ्रष्टाचारका सन्दर्भमा मुखमा पानी हालेर बोल्ने मेरो बानी छैन । जो–जतिसुकै उच्च ओहोदावाल होस् या कथित पहुँचवाला, तिनको मुख हेरेर सजाय तोकिन्न । कारबाही गर्ने–नगर्ने फैसला लिइन्न’ उनले भने,‘मेरो यो प्रतिबद्धता ‘लोकरिझ्याइँ वा ओठेभक्ति’ होइन, निष्ठा हो ।’ त्यही निष्ठाका कारण भ्रटाचार र अधिकारको दुरुपयोग छानबिन गर्ने विभिन्न सरकारी निकायलाई आफूले प्रधानमन्त्री कार्यालयअन्तर्गत ल्याएको उनको भनाइ थियो ।

ओलीले एउटै पार्टीको सरकार भए पनि पार्टीभित्रैबाट गठबन्धन सरकारको जस्तो नियति, निरन्तरको असहयोग र समानान्तर सत्ता सञ्चालनको अभ्यासको प्रयास निरन्तर भएकाले पनि संसद् विघटन गर्नुपरेको पुष्टि गर्ने प्रयास गरेका छन् ।

‘खासगरी पछिल्लो एक वर्षदेखिझन्डै दुईतिहाइ संसद्को समर्थन प्राप्त यस सरकारले विभिन्न दलको गठबन्धन सरकारले जस्तो नियति व्यहोर्नुपर्‍यो । एकातिर जनताको उच्च आकांक्षा सम्बोधन गर्नुपर्ने, अर्कोतिर आफ्नै खुट्टामा अल्झिएर अलमलिएझैँ सरकारले काम गर्नै नपाउने अवस्था सिर्जना भयो,’ ओलीले भने, ‘झन्डै तीन वर्षदेखि संवैधानिक आयोगहरू पदाधिकारीविहीन थिए । नियुक्ति प्रक्रियामै जान पाउँदैन, अवरोध हुन्छ ।’ नयाँ पत्रिकामा समाचार प्रकाशित छ ।