काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको छ।
पार्टी प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार आज दिउँसो २ बजे बस्ने केन्द्रीय कार्यसमिति बैठकमा मुख्यगरी १४ औं महाधिवेशनबारे छलफल हुनेछ।
कांग्रेसले फागुन ७ देखि महाधिवेशन गर्ने गरी यसअघि कार्यतालिका ल्याएको थियो।
महाधिवेशन यसअघि तोकिएको मितिमा संभव नभएपछि कांग्रेसले महाधिवेशनको नयाँ मिति तय गर्न लागेको हो।
यस्तै सभापति शेरबहादुर देउवाको कार्यकाल पनि सकिन लागेको छ। फागुन १९ गतेसम्म देउवा नेतृत्वको कार्यसमितिको कार्यकाल छ।
अब कांग्रेसले कार्यकाल थप गर्न संविधानको साहरा लिनुपर्छ। जसअनुसार कांग्रेसलाई थप छ महिना कार्यकाल थप गर्ने बाटो खुला हुन्छ।
कांग्रेसले क्रियाशील सदस्यता वितरण र नवीकरणको काम सकेको छैन। अहिलेसम्म अर्घाखाँची जिल्लाले मात्रै क्रियाशील सदस्यता टुंग्याएर विवरण केन्द्रीय कार्यालयमा बुझाएको छ।
क्रियाशील सदस्यता वितरण तथा नवीकरण र समायोजन विवाद देखिएका क्षेत्रमा हल गर्नेबारे पनि आजको केन्द्रीय कार्यसमितिमा छलफल हुने कांग्रेसले जनाएको छ।
देउवाले महाधिवेशन गर्न आलटाल गरेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्ष असन्तुष्ट छन्।