File photo

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन विभिन्न कारणले पटकपटक स्थगित हुदैँ आएको छ । काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले महाधिवेशन समयमै गर्नुपर्ने बताएका छन् ।

महाधिवेशन आगामी भदौमा गर्नका लागी आज बसेको केन्द्रीय कार्यसमितीको बैठकमा प्रस्ताव आएको छ । भदौमा महाधिवेशन गर्ने प्रस्ताव केन्द्रीय कमिटीमा पेस हुने भएको काँग्रेसका एक नेताले हिन्दुखबर डटकमलाई बताए ।

पाँच वर्षमा पनि महाधिवेशन गर्न नसकेपछि कोरोना भाईरस, प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन लगाएतका कारणले हुन नसकेको काँग्रेसका नेताहरु बताउँछन् ।

कांग्रेस समयमा महाधिवेशन गर्न नसकेपछि नेपालको संविधानअनुसार ६ महिना म्याद थपका लागि केन्द्रीय कमिटी बैठक बोलाएको काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्ण पौडेलले बताए ।

विपी स्मृति भवन सानेपामा जारी बैठकमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच महाधिवेशनका विषयमा छलफल भएपनि सहमति हुन सकेको छैन ।

छलफलमा सहभागी काँग्रेस देउँवा पक्षका एक नेता भन्छन्, ‘उहाँहरुले भदौ ७–१० सम्म महाधिवेशन गर्ने प्रस्ताव ल्याउनु भएको छ ।

यसमा सहमति भइसकेको छैन । भोलिको बैठकसम्म यसलाई टुंग्याउने सहमति भएको छ ।’ उनका अनुसार प्रस्तावित मिति १०र१५ दिन तलमाथि हुनसक्ने काँग्रेसले जनाएको छ ।