बैतडी : भागरथी भट्टको हत्या आरोपमा प्रहरीले उनकै भाइ नाता पर्ने १६ वर्षे दिनेश भट्टलाई पक्राउ गरी सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालय बैतडीमा बुधबार पत्रकार सम्मेलन गरी अभियुक्तलाई सार्वजनिक गरिएको हो। सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख डीआईजी उत्तमराज सुवेदीले १४ दिनको अनुसन्धानपछि दिनेशले साविती बयान दिएको जानकारी दिए।

‘साविती बयान नै मुख्य प्रमाण हो’, डीआईजी सुवेदीले भने, ‘अझ त्यसमा तीन जना प्रत्यक्षदर्शी, प्राविधिक टोलीको अनुसन्धान र आरोपीको शरीरमा देखिएको सामान्य चोटपटकजस्ता प्रमाणका आधारमा हामी अभियुक्तको नजिक पुगेका हौं।’

दिनेश प्रहरीलाई प्रारम्भिक बयान दिएर घर फर्किएका थिए। प्रहरीले शनिबारदेखि मंगलबारसम्म चार दिन लगातार गहिरो अनुसन्धानको घेरामा राखेको थियो। शनिबारदेखि उनलाई बिहान प्रहरी चौकी खोचलेकमा बोलाउने र बेलुकी घर पठाउने गर्दै लगातार सोधपुछ गर्दै आएको थियो।

‘उनले मंगलबार साविती बयान दिएका हुन्’, डीआईजी सुवेदीले भने, ‘उनी विद्यालयबाट आएर खोचलेक भन्ने बजारबाट भागरथीको पछि–पछि घरतिर गएका छन्। सिल्ल भन्ने स्थानमा उनी भागरथीलाई उछिनेर अगाडि गएका छन्। घटनास्थलमा पुगेर उनले भागरथीलाई कुरेका छन्। त्यसपछि घटनास्थलमा पुग्नेबित्तिकै धकेलेर खोल्सोमा फालेका छन्। त्यहाँ उनले घाइते अवस्थामा रहेकी भागरथीको घाँटी थिचेर हत्या गरेका छन्।’

तर, दिनेशले हत्यामा संलग्नता स्वीकार गरे पनि बलात्कार भने स्वीकार गरेका छैनन्। ‘उनले भागरथीको हत्या गरी तल्लो वस्त्र खोलेको तर बलात्कार नगरेको बयानमा भनेका छन्’, सुवेदीले भने, ‘त्यसको पनि सरकारी वकिलका सामुन्ने गहिरो अनुसन्धान गर्ने क्रम जारी छ।’

बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीका भागरथी र दिनेश दुवै जनाले स्थानीय भूमिराज विद्यालयबाट एसईई उत्तीर्ण गरेका थिए। त्यसपछि भागरथी वडा नम्बर ३ स्थित सनातन धर्म माविमा कक्षा १२ र दिनेश कक्षा ११ मा पढ्थे। दिनेशलाई सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा डीआईजी सुवेदीसहित संघीय प्रहरी कार्यालय धनगढीका एसएसपी जनकराज पाण्डे, जिल्ला प्रहरी बैतडीका डीएसपी नारायण अधिकारी र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका डीएसपी पञ्चकुमार बाँकु उपस्थित थिए।

भागरथीका दाइ केशव भट्टले दिनेशविरुद्ध जाहेरी दिएका छन्। जिल्ला प्रहरी कार्यालय बैतडीले पीडित परिवारका तर्फबाट जाहेरी परेको जानकारी दिएको छ।

अभियुक्तप्रति चार आशंका
पहिलो : दिनेश टिफिन टाइममा भलिबल खेलेर पाँचौं घण्टी लाग्नेबित्तिकै सनातन धर्म माविबाट घर आए। तर, उनले प्रहरी र आफन्तलाई आफू एक पिरियड छाडेर मात्रै घर आएको बताए। प्रहरी भन्छ, ‘उनले घटनापछि घर पुगेको समय लगभग पूरै पढेर आएको भन्दा झन्डै–झन्डै एक पिरियड अगाडि हुन्छ। समय मिलाउन झुटो बोलेको।’
दोस्रो : १:४५ मा टिफिन टाइम सकिन्छ। १:५० मा दिनेश, भागरथी, भानदेव र लीलाधर खोचलेकमा भेटिन्छन्। भागरथी घर हिँडिहाल्छिन्। लीलाधर र भानदेव कपाल काट्न सैलुनमा छिर्छन्। तर, प्रहरी भन्छ, ‘दिनेश कता गए ? बताउँदैन।’
तेस्रो : खोचलेकबाट झन्डै १:५५ तिर दिनेश भागरथीको पछि–पछि घर जान्छन्। त्यहाँबाट घटनास्थलको दूरी पैदल ४० मिनेट हाराहारी हो। उनले २:३५ बजेसम्म लवलेक बन पार गरिसक्नुपर्छ। तर, उनलाई ३:२५ बजे पासिमबाटाका मानिस घर जाँदै गरेको देख्छन्। प्रहरी भन्छ, ‘त्यो बीचको ५० मिनेटको समयमा दिनेश कहाँ गए ?’
चौथो : दिनेश भागरथीको शव फेला परेको दिन घटनास्थलमा आएर केही बेरपछि घर फर्के। उनी तालिमप्राप्त कुकुर आएको दिन घटनास्थल नै गएनन्। प्रहरी भन्छ, ‘उनलाई कुकुरले समात्ने डर लाग्यो।’
यस्तै कारणले उनीमाथि निगरानी बढाइएको प्रहरीले जनाएको छ। दिनेशले आफूलाई खोचलेकमा देख्ने मानिससँग झगडा गरेकाले पनि उनी झन् शंकाको घेरामा परेको प्रहरीले बतायो। अन्नपुर्णले समाचार लेखेको छ ।