अन्नतः काँग्रेसमा सहमति जुट्यो, महाधिवेशन भदौ ७ देखि १० सम्म गर्ने निर्णय

140

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन आगामी भदौ ७ देखि १० गतेसम्म हुने भएको छ ।

कांग्रेस केन्द्रीय सदस्य गुरु घिमिरेले सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच महाधिवेशनको मितिमा सहमति भइसकेको बताए ।

समयमै महाधिवेशन गर्न नसकेपछि कांग्रेस सभापति शेरबहादुर देउवाले विधान संशोधन गर्दै ६ महिना कार्यकाल लम्ब्याएका छन् । अब देउवाको कार्यकाल आगामी २६ भदौसम्म हुनेछ । विधानको विशेष अवस्था प्रयोग गर्दै देउवाले यसअघि एक वर्ष कार्यकाल लम्ब्याएका थिए ।

बुधबार बसेको केन्द्रीय कार्यसमिति बैठकले केन्द्रीय समिति, ७७ वटै जिल्ला र मातहतका सबै समितिको कार्यकाल ६ महिना थप गरेको हो । तत्कालीन व्यवस्थाअनुसार देउवाको कार्यकाल २६ फागुनमा सकिँदै छ । आगामी महाधिवेशनले पारित गर्ने गरी पार्टीको विधानको धारा–४३ मा संशोधन गर्दै कार्यकाल थपेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

‘केन्द्रीय समितिसँगै ७७ वटै जिल्ला कार्यसमिति, एक सय ६५ वटै संघीय निर्वाचन क्षेत्रीय समिति र सात सय ५३ वटा गाउँ–नगर समिति तथा वडा समितिहरूको कार्यकाल ६ महिनाका लागि थप गरेको छ,’ प्रवक्ता शर्माले भने ।
केन्द्रीय सभापतिले असार ७ गते क्रियाशील सदस्यताको अन्तिम सूची अर्थात् तल्लो तहका मतदाताको सूची केन्द्रीय निर्वाचन समितिलाई बुझाइसक्नुपर्नेछ ।

२० असारदेखि पार्टीका तल्ला तहको अधिवेशन सुरु गर्ने प्रस्ताव छ । जसअनुसार २० असारमा गाउँ–नगरका वडाको अधिवेशन, २२ असारमा गाउँ–नगरपालिकाको अधिवेशन, २५ असारमा प्रदेश सभा क्षेत्रीय अधिवेशन, २८ असारमा प्रतिनिधिसभा क्षेत्र र एक मात्र प्रतिनिधिसभा क्षेत्र भएका जिल्लाको अधिवेशन, ३० असारमा एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाको अधिवेशन र ६ साउनमा प्रदेश अधिवेशन गर्ने महामन्त्री खड्काको प्रस्तावमा छ । त्यसपछि केन्द्रीय महाधिवेशन भदौको ७, ८, ९ र १० गते काठमाडौंमा गर्ने प्रस्ताव छ ।