गुल्मीमा जीप दुर्घटना हुँदा तीन जनाको मृृत्यु

112

गुल्मी । गुल्मीको पराल्मीमा जीप दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ भने छ जना घाइते भएका छन् । बुधबार तम्घासबाट रेसुंगा नगरपालिका १४ पराल्मी जाँदै गरेका लु १ ज १९८८ नम्बरको जीप दुर्घटनामा परेको हो ।

दुर्घटनामा रेसुंगा नगरपालिका १४ का ४८ वर्षीय एक बहादुर पोख्रेलको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक पुरुषोत्तम प्रसाद पाण्डेले जानकारी दिए ।

त्यस्तै पराल्मीकै ४७ वर्षीय गोमा नेपाली र २८ वर्षीय शान्ता नेपालीको उपचारको क्रममा गुल्मी अस्पताल तम्घासमा ज्यान गएको पाण्डेले जानकारी दिए । त्यस्तै रेसुंगा नगरपालिका १४ का जीप चालक २२ वर्षीय भरत पोख्रेल, २७ वर्षीय वीर बहादुर सुर्यवंशी, ३७ वर्षीय गोमा सामत, ६५ वर्षीय देव बहादुर नेपाली, २७ वर्षीय प्रकाश नेपाली र साढे ४ वर्षीया खुसी नेपाली घाइते भएकी छन् । जीप सडकबाट २ सय मिटर तल खसेको छ ।

दुर्घटनामा घाइतेहरुको नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले उद्धार गरेर गुल्मी अस्पताल तम्घास ल्याएका थिए । चालक भरत पोख्रेल र विर बहादुर सुर्यवंशीको गुल्मी अस्पतालमा सामान्य उपचारपछि लुम्बिनी मेडिकल प्रभास पाल्पा रेफर गरिएको प्रहरीले जनाएको छ । बाँकी चार जनाको गुल्मी अस्पतालमा उपचार भइरहेको छ । ओसेपिलो ठाउँमा जिप चिप्लिएर सडकबाट तल खसेको स्थानीयको भनाई छ ।